सिंहदरबार धाइरहेका सहिदका बुबा भन्छन् : छोराको बलिदान खेर नजाओस्
काठमाडौं। गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए। अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे। जवाफमा सौरनले भनेका थिए, ‘बहिनी यहाँ भएको भए तँ पनि जान्थिस, चिन्ता लिनुपर्दैन केही हुँदैन।‘
त्यो बिहान आन्दोलनमा जाने सौरनको हठले जित्यो। अघिल्लो रात बचेको खाना तताएर खाए। दारी काटे र नुहाए। घरबाट निस्किँदै गर्दा साथमा चाउचाउ, चिप्स, पानी र रुमाल राखेको झोला भिरे।
‘मुलुकमा देखिएको भ्रष्टाचार र राजनीतिक विसङ्गतिविरुद्ध आह्वान हो, हामी बोल्नुपर्छ बुबा‘, घरबाट निस्कन अघि सौरनले बुवालाई सम्झाउँदै भनेका थिए।
अन्तरमुखी स्वभावका सौरन पहिलो पटक आन्दोलनमा सहभागी हुँदै थिए। यता, परिवारको चिन्ता चुलिँदै थियो। सामाजिक सञ्जालमा जेनजीले उठाएको मुद्दाले उनलाई छोएको थियो। राजनीतिप्रति कम चासो लिने उनले त्यो आन्दोलनलाई भने चासोका साथ लिएका थिए। उनी यसपटक दबाबमूलक प्रदर्शनमा सहभागी हुने अठोट गरेका थिए ।
काठमाडौं नगरपालिका–१६ वनस्थलीमा बस्ने सौरन किशोर श्रेष्ठले माइतीघरस्थित जेनजी प्रदर्शनमा सहभागी भएको केही समयसम्म पनि श्रीमती रोजिता श्रेष्ठसँग फोन सम्पर्कमा थिए।
केही समयलगत्तै सम्पर्क टुट्यो। यता प्रदर्शनकारीमाथि सरकारको दमन र मृत्युको समाचारमा मृतकको सङ्ख्या बढ्न थाल्यो। तत्कालीन समयमा अमेरिकामा रहेका बुबा किशोरले समाचारबाट थाहा पाए, छोराले सहादत प्राप्त गरेछ।
‘सरकारको दमनबाट प्रदर्शनकारीको मृत्यु भएको समाचारबाटै थाहा पाए, त्यो घटनामा हाम्रो छोरा परेछ। तर श्रीमतीलाई भनिन्, कसरी भन्न सकू‘, छोरोबारे कुरा गर्दै गर्दा काखमा छ वर्षे नाति, सौरनको छोरा श्रेयनलाई च्यापिरहेका छन्, ‘संसद् भवन अगाडिको एक नम्बरको गेटमै हुनुपर्छ। सुरुआत दमनमै छोरोमाथि गोली प्रहार भएको रहेछ। छातीको दायाँपट्टी दुई वटा गोली, हात र घाँटीमा छर्रा लागेको रहेछ।‘
नेपालमै रहेकी सौरनकी श्रीमती रोजिताले त्यसअघि नै खबर पाइसकेकी थिएन। घाइते सौरनलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल(सिभिल) हुँदै केएमसी अस्पताल पुर्याइएको थियो। प्रदर्शनकारीहरुले नै उनलाई सिभिलसम्म पुर्याएको थियो। सौरनले अचेत हुनुअघि श्रीमतीको नम्बरसम्म भन्न भ्याए।
श्रीमान्को खबरले विक्षिप्त उनी आफ्नो छ वर्षे छोरो च्यापेर अस्पताल पुगिन्। पुगेको केही समयमै अस्पतालले मृत घोषणा गर्यो। वृद्ध आमाबुबाले छोरो गुमाए, छ वर्षे नाबालकले बुवा र रोजिताले जीवनसाथी। ३८ वर्षीय सौरन श्रेष्ठ पाँच वर्षको कोरिया बसाइपछि स्वदेशमा केही गर्न सकिन्छ भन्ने अपेक्षाले देश फिर्ता आएका थिए। तर केही समयसम्मको नेपाल बसाइँपछि उनले पुनःविदेशिने निर्णय गरेका थिए। यसपटक उनको रोजाइ क्यानडा थियो।
अमेरिका भ्रमणमा रहेका बुवा र आमा फर्किएपछि दसँैलगत्तै परिवारको पुनःमिलनको प्रतिक्षामा थियो, श्रेष्ठ परिवार। सौरनको मृत्युको खबरलगत्तै आमाबुवा नेपाल फर्किए। दसैँपछि परिवार पुनःमिलन कुरिरहेको छोराको गोली र छर्रासहितको शव बुझ्दै गर्दाको दृश्यले श्रेष्ठ दम्पती विगत तीन महिनादेखि निदाउन दिएको छैन।
‘हामीलाई नै कुरेर बसिरहेको थियो। दसँैपछि हामी नेपाल फर्किन्छौँ भन्ने तयारीमा थियौँ। तर ऊ आफँैले दसैँ पनि मनाउन पाएन। हामीलाई धेरै पीडा भइरहेको छ‘, आमा, निरु श्रष्ठले हरेक पटक सौरनको कुरा निस्किँदा आँसु थाम्न सक्दैनन्, ‘परिवारलाई माया गर्ने। मेरो बाबु सोझो थियो, ज्ञानी थियो। के गर्नु।‘
पहिलो पटक आन्दोलनमा भएको थियो, पहिलो लटमै पर्यो
सौरन बिबिएस पढ्दापढ्दै कोरिया गएका थिए। क्रिकेटमा रुचि राख्ने उनी अधिकांश समय परिवारसँग बिताउन मनपराउथे। उनी घरको जेठो छोरा हुन्। श्रेष्ठ दम्पतीको पहिलो सन्तान उनको बहिनी अमेरिकामा बस्दै आएकी छिन्। बागलुङ स्थायी ठेगाना भएका उनी र सपरिवार वनस्थली बस्दै आएका थिए।
उनले बागलुङ नगरपालिकामा विद्यालय तह र कक्षा १२ काठमाडौंको भिएस निकेतनमा अध्ययन गरेका थिए। उनका धेरै साथीहरु भएको परिवार सदस्यहरु जानकार छैनन्। ‘आखाँमा नबिझाउने केटो थियो, मेरो छोरा‘, ६० वर्षीया निरुले भनिन्, ‘उसलाई परिवारभन्दा अरु चासो थिएन। हतपत बाहिर नहिँड्ने, सहभागी नहुने केटो आन्दोलनमा गयो। उसको राजनीतिज्ञसँग सहमत नै हैन, त्यस्तो साथीहरु थिएनन्।‘
सिंहदरबार धाइरहेको सहिद परिवार
सौरनका बुबा किशोर अहिले हरेक दिनजसो सिंहदरबार धाउनु हुन्छ। सौरन र ऊ जस्तैले दिएको बलिदान खेर नजाओस् भन्नेमा उहाँ दृढ हुनुहुन्छ। यस्तै विषयमा सरकारका मन्त्री प्रधानमन्त्रीलाई बेलाबेलामा झक्झकाइरहेका छन्।
पेसाले व्यवसाय गर्दै आएका उनी आफूसँगै अन्य सहिद परिवारको आवाज बोकेर सिंहदरबारभित्र मन्त्री र सचिवको कार्यकक्ष धाइरहेको बताउँछन्। सहिद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनको नै उनीहरुको मुख्य माग हो।
‘मेरो घरमा प्रधानमन्त्री, सञ्चारमन्त्रीलगायत तत्कालीन मन्त्रीहरु आउनुभयो। तीन चार समूहका जेनजी नानीबाबु पनि आउनुभयो। सरकारले गर्छु भनेको छ। प्रधानमन्त्री सुशीला कार्कीले रुँदै छोराको शवमा फूल चढाउनुभयो‘, ६३ वर्षीया किशोर श्रेष्ठ भन्छन्, ‘तर सरकारका मन्त्रीहरुको आश्वासनको बाबजुत कर्मचारीतन्त्र अझै अलमलमा देखिन्छन। मन्त्रीहरु हुन्छ, हुन्छ भन्नुहुन्छ, कर्मचारीहरु भएन, भएन भन्छन्।‘
जेनजी प्रदर्शनमा सहिद भएका परिवारहरुले विभिन्न मागसहित कार्यान्वयनका लागि पहल गरिरहेका छन्। सरकारसँगको विश्वास र अपेक्षामा सिंहदरबार धाइरहनुभएका उहाँलाई कर्मचारीतन्त्रबाट हतोसाहित हुने गरेको गुनासो सुनाउँछन्।
‘सहिदको बालबच्चालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था, परिवारलाई योग्यताअनुसारको रोजगारी, बुवा आमालाई जीवननिर्वाह भत्ता, स्वास्थ्य बिमा र यातायात, बैंकलगायतमा सुविधा पाउनुपर्छ भन्ने माग राखेका छौँ‘, उनले भने, ‘संसद् भवन अगाडि सहिदहरुको शालिक बनाउनुपर्छ।‘
गृहमन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा बनेको संयन्त्रबाट पास भएर गएका विषय मन्त्रिपरिषद्मा जाने र सचिवले गर्ने प्रायः धेरै काम रोकिएको छ। मन्त्रीहरुले हुन्छ भनेको काम सचिवबाट रोकिएको छ। कहिले के भएन भन्ने कहिले के, टिप्पणी उठदैन। संयन्त्रमा सहमति भयो तर कार्यान्वयन भएको छैन। पास गर्न सकिएको छैन। त्यही कारण हामी सिंहदरबार धाएको धाए छौँ, कहिले मन्त्री स्वयंले समय दिनुहुन्छ, कहिले के हुन्छ यसैगरी चलिरहेको छ। रासस
















Facebook Comment