बंगलादेशमा विद्यार्थी नेतापछि शेख हसिनाका अर्का विरोधी नेतालाई घरमै घुसेर गोली हानियो

डिसी नेपाल
७ पुष २०८२ १६:२३
820
Shares

काठमाडौं । बंगलादेशमा अर्का शेख हसिना विरोधी नेतामाथि आक्रमण भएको छ। बंगलादेशी मिडिया रिपोर्टका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दरलाई सोमबार दिउँसो १२ बजे खुलनामा रहेको उनको घर भित्रै घुसेर गोली हानिएको छ।

रिपोर्टका अनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हाने। उनी गम्भीर चोट लागेर लडे। नजिकै रहेकाहरूले उनलाई तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पुर्‍याए, जहाँ उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार सुरुमा उनको अवस्था गम्भीर थियो। डाक्टरहरूले रिपोर्ट गरेअनुसार गोली उनको कानको एक छेउमा पसेको थियो र त्यसपछि छाला छेडेर अर्को छेउबाट बाहिर निस्किएको थियो।

प्रहरी अधिकृत अनिमेश मण्डलले गोली मस्तिष्कमा नपुग्नु भाग्यवश भएको बताए जसका कारण उनको ज्यान बच्यो।

मोतालेब सिकदर आफ्नो पार्टीको खुलना डिभिजन प्रमुख र पार्टी सम्बद्ध श्रमिक संगठन, एनसीपी श्रमिक शक्तिका संयोजक हुन्। उनीमाथि भएको आक्रमणले क्षेत्रमा त्रास फैलिएको छ।

एनसीपीले खुलनामा श्रमिक र्‍याली आयोजना गर्ने योजना बनाइरहेको थियो। शिक्दर त्यसमा काम गरिरहेका थिए। आक्रमणकारीहरूलाई पक्रन प्रहरीले धेरै क्षेत्रमा अभियान सुरु गरेको छ र आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

एनसीपी गत वर्ष बंगलादेशमा एउटा ठूलो आन्दोलन सुरु गर्ने विद्यार्थीहरूद्वारा गठित पार्टी हो, जसले शेख हसिनालाई अपदस्थ गर्‍यो।

केही दिनअघि ढाकामा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानी हत्यापछि बंगलादेशभर तनाव बढेको बेला यो आक्रमण भएको हो।

डिसेम्बर १२ मा ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा नकाबधारी आक्रमणकारीहरूले उनलाई गोली हानेका थिए। उनलाई उपचारको लागि हेलिकप्टरबाट सिंगापुरको अस्पताल लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भयो।

हादी ढाका विश्वविद्यालयसँग सम्बद्ध विद्यार्थी संगठन इन्किलाब मञ्चका संस्थापक थिए। उनको मृत्युपछि राजधानी लगायत धेरै क्षेत्रमा विरोध प्रदर्शन र हिंसा भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.