एनआरएनएमा विवाद समाधान गरेर मात्रै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन डा. पौडेलको आग्रह
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष डा. केशव पौडेलले एनआरएनएमा विवाद समाधान गरेर मात्रै महाधिवेशनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन्।
हालै संघमा भएको एकताबारे जानकारी दिन आइतबार संघद्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलले मेम्बरसिप पोर्टल र यसको पहुँचबारे तयारी नगरी सदस्यता वितरणको घोषणा गर्दा यसले उल्टो बाटो लिन सक्नेबारे सजग गराए।
उनले पहिला तयारी गरेर मात्र मिति घोषणा गर्न सुझाव दिएका हुन्। ‘हामीले पहिले नै भनेका थियौं, विवाद सुल्झाउन एउटै सेन्ट्रलाइज्ड पोर्टल आवश्यक छ। जो साथीहरू पहिले समेटिनुभएन, उहाँहरूलाई पनि समेट्ने वातावरण बनाइनुपर्छ। सदस्यता प्रक्रियामा कुनै पनि किसिमको आशंका रहनु हुँदैन, नत्र एकता प्रक्रिया फेरि ‘डिरेल’ हुन सक्छ,‘ उनले भने।
आउँदो वर्ष फेब्रुअरी २३-२५ का लागि तोकिएको महाधिवेशन भन्दा अगावै विवादका मुख्य कारणहरू (सदस्यता, डेलिगेट्स र निर्वाचन प्रणाली)लाई पूर्ण रूपमा समाधान गर्न पनि उनले सुझाव दिए। ‘विगतमा कुमार पन्तजीको पालादेखि नै डेलिगेट्सको समस्याले हामी यहाँ आइपुगेका हौँ। त्यसैले, अब पुरानै गल्ती दोहोरिनु हुँदैन,‘ एनसीसी अमेरिकाका पूर्वअध्यक्ष समेत रहेका उनले भने, ‘हामी सबै मिलेर एनआरएनलाई यस्तो गौरवमय संस्था बनाऔँ, जहाँ साधारण सदस्यले पनि ‘म एनआरएनको सदस्य हुँ’ भन्दा गर्व महसुस गर्न सकून्।‘
‘अर्को कुरा, अध्यक्ष महेश श्रेष्ठजीले कुनै कुरामा असहमति भएमा परराष्ट्र मन्त्रालयको रोहबरमा सहमति गर्ने कुरा उठाउनुभयो। मेरो स्पष्ट धारणा छ, एनआरएन अरूले मिलाइदिने संस्था होइन। यो तपाईं-हामी सदस्यहरूको संस्था हो। यसलाई न अदालतले मिलाउन सक्छ, न सरकारले। हामी आफैँले सहमतिको वातावरण बनाउनुपर्छ,‘ पौडेलले भने।
एउटा स्पष्ट ‘क्यालेन्डर अफ अपरेसन’ (कार्यतालिका) बनाएर महाधिवेशनको तयारी गर्न उनले आग्रह गरे। कुन दिन कुन काम सम्पन्न गर्ने भन्ने टाइमलाइन पारदर्शी हुनुपर्ने बताए। ‘नेतृत्वले आफूलाई जवाफदेही बनाउनुपर्छ। यदि केन्द्रमा नेतृत्वको इगो समाधान भयो भने एनसीसीका विवादहरू स्वतः समाधान हुनेछन्,‘ उनले भने।
संघमा एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका डा पौडेलले १०औं महाधिवेशनपछि एनआरएन अभियान केही विचलित र विभाजित अवस्थामा पुगेको र यसलाई कसरी सुधार्ने भन्नेबारे पटक-पटक छलफल र मिटिङहरू गरिएको स्मरण गरे।
‘११औं महाधिवेशनसम्म आइपुग्दा थुप्रै कमिटीहरू बने, जसका कारण नेपालको नागरिक समाजमा हाम्रो छविमा केही प्रश्नहरू उठे। हाम्रा मुद्दाहरू सम्बोधन गर्न र एनआरएनको मूल उद्देश्य प्राप्ति गर्न एकता अपरिहार्य छ। त्यसैले महेशजीको नेतृत्व आउनासाथ मैले उहाँलाई “एकताबद्ध एनआरएन” निर्माणको एकसुत्रीय अभियानमा लाग्न आग्रह गरेको थिएँ। बद्रीजी र महेशजीले नेतृत्व गरेको कमिटीबीच एकता गर्ने सहमति भयो जुन स्वागतयोग्य छ, तर एकता कुन बिन्दुमा गर्ने भन्ने प्रश्न अझै छ। मुख्य कुरा कार्यान्वयन नै हो,‘ उनले भने ।
डा पौडेलले संघभित्र एकअर्काको अस्तित्व स्वीकार गरेर अघि बढेमा मात्र ‘आइसब्रेक’ हुन सक्ने बताए । ‘हामीले १० बुँदे सहमति गर्यौँ, जुन एउटा महत्वपूर्ण कोशेढुङ्गा हो, तर यो मात्रै पर्याप्त छैन। हामीले गरेको यो एकता फेरि अर्को ‘महाएकता’ गर्नुपर्ने अवस्थामा पुग्नु हुँदैन। हामीले यस्तो वातावरण बनाउनुपर्छ जहाँ इगो होइन, संस्था बलियो होस्,’ उनले भने।
उनले संघका दुई जना अध्यक्षले अहिलेसम्मको एकता अभियानबारे धारणा राखेकाले सबैलाई दिशानिर्देश भएको पनि जनाए । ‘अब यसलाई विश्वसनीय तरिकाले कार्यान्वयन गरेर जानु पर्छ,‘ उनले भने।
कार्यक्रममा बोल्दै एनआरएन अभियन्ताहरूले संघमा प्राविधिक मात्रै नभएर भावनात्मक एकता गर्नका लागि सबै पक्ष इमान्दार हुनु पर्नेमा जोड दिएका थिए।







डिसी नेपाल








Facebook Comment