राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल
पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुने बताएका छन्।
येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिए।
‘देशको समृद्धि भएमात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीतिक अवस्थाले हाम्रा सन्ततिहरू विदेश जानुपर्ने अवस्था आएको हो, त्यो अवस्थालाई रोक्न पनि इतिहास र जेनजीहरूको बलिदानले राम्रो नेता र नेतृत्व छान्ने अवसर दिएको छ, त्यसको उपयोग गरौं‘, मन्त्री खरेलले भने।
उनले भ्रष्टाचार, बेथिति, अन्याय, कुशासन, अनियमितता र असमानताको खाडल पुर्न पुराना दल असफल भएको आरोप लगाए। ‘समृद्धिको अभियानमा पुराना दल अगाडि बढ्न सकेनन्, । हरेक क्षेत्रमा चरम दलीयकरण भयो र सपना मात्रै देखाएर बीसौँ वर्ष बित्यो‘, मन्त्री खरेलले भने, ‘अब परिणाम चाहिएको छ । भोट दिने बेलामा सचेत बनौँ, पाँच वर्षसम्म राजनीतिक दललाई गाली गर्ने अवस्था आउन नदिऔं।‘
नेपाल विविध जात, धर्म, संस्कृति र परम्परालाई अङ्गालेर मिलेर बसिरहेको देश हो भन्दै उनले त्यसलाई जोगाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘हामीसँग मानवतासहित समग्रमा नेपाली हौँ भन्ने भावना छ, हिन्दू, बौद्ध, मुस्लिम, ख्रिष्टियनलगायत सबै धर्मले हिंसा गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन भनेको छ । हरेक धर्मले मानवताको कुरा गरेको हुन्छ, मेरो लागि पनि सबैभन्दा ठूलो धर्म भनेकै मानवता हो, म मानवताको सम्मान गर्छु । सबैले धर्मको मर्मअनुसार काम गर्न सक्नुपर्छ‘, उनले भने।
कार्यक्रममा ख्रिष्टियन धर्मका अगुवाहरूले ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै बाइबलमा भएका सकारात्मक भनाइबारे चर्चा गरेका थिए।







डिसी नेपाल








Facebook Comment