कतार सवार हात्तीहरुलाई पत्र
प्रिय रुद्रकली र खगेन्द्र
असिम माया
राष्ट्रिय उपहारको रुपमा नेपाललाई न्यानो र अधिक माया गर्ने मित्रराष्ट्रमा विश्वकै सर्बाधिक प्रिय हवाई साधन कतार विमानबाट सकुशल अवतरण गरेर अलखोर पार्क जु मा भव्य स्वागतका साथ प्रवेश पायका छौं। एउटा प्रसिद्ध पार्कको भिमकाय जीव भएर शोभा बढाउने शौभाग्य पाएका छौं।
तिम्रो जन्म स्थल मुलघरले तिम्रो सु-स्वास्थ्य सुख, सुविधा, बन्दोबस्ती, यातायात, कल्याण्कारीको काममा सम्पूर्ण सहजीकरण ज्यादै संवेदनशील र जवाफदेही भएर पूरा गरेको छ। मुलघरमा जस्तै मित्रराष्ट्रको पार्कमा तिम्रो आहार-विहार खुसी र सुखको वातावरण सुनिश्चित गरेको छ। आफ्ना सुसारेहरु आफ्नै साथमा लिएर गएपछि चिन्ता गरिरहनै परेन।
तिम्रो बिदाई कम पीडादायी थिएन। हाम्रो अश्रुधारा बग्दा हात्तीसारका तिम्रा सन्तान र साथीहरुलाई कति पीडा बोध भयो होला। हामी मानवता र करुणा हराएर लोभ पापको सुरुङमा कैद मान्छेले सामुहिकता, एकता, सदभाव, प्रेम, सहयोग, सम्वेदना र उच्चचेत भएको हात्तीसँग सिक्नुपर्ने भएको छ। हात्ती हाम्रो साथी हैन, हात्ती हाम्रो विश्वविद्यालय भन्ने नारा लगाउनु पर्ने समय आएको छ।
हामीलाई गर्व छ, मित्र राष्ट्रले हाम्रो उपहार सहश्र सगर्व स्वीकारेकोमा कुटनीतिक कोसेली हुन पाउनु तिमीहरुकोपनि ठूलो भाग्य हो। के थाहा समृद्धिको ढोका खोल्ने साँचो तिमीहरु हौं कि! तिमीहरु यस्तो देशमा गएका छौ, जसले नेपाललाई स्वर्ग मान्दछ।

हिमाललाई न्यानो अंगालो हालेर हिमाल जस्तै मुस्कुराउँछ। आहा! हिमाल, आहा! हिमताल, हिमनदी, झरना, कोशी भनेर राजपरिवार हर्सबिभोर भएको हिजो जस्तो लाग्छ। यो ढुंगा पाए कतार स्वर्ग हुने थियो भन्ने देशलाई भीमकाय पत्थरहरुमा कलाकृति कुँदेर पठाउने हो भने सुनको भाउमा ढुंगा बिक्री हुने दिन आउन के बेर? हामी सफा हिमाल नेपालको मात्र निर्मल कञ्चन पानी पिउने संकल्प र माग आयो भने पैसा कहाँ राख्ने? नेपालको अर्गानिक अन्न, साग सब्जी, फलफूल, जडीबुटी, दुग्ध पदार्थ, गार्मेन्टहरुको माग आयो भने समृद्धिको ढोका खुलिहाल्यो। तिम्रो आहार तिम्रै मुलघरबाट लैजाने प्रावधान हुन के बेर। असम्भव के छ र?
प्रिय गजराज,
तिमी अब केबल एक जोडी हात्ती मात्र होइनौं। तिमी सम्पूर्ण नेपाल हौ। नेपालको प्रतिक हौ। नेपालको सिंगाे प्रकृति हौ। प्राकृतिक समृद्धि हो। अब्बल प्रकृति संरक्षणको सजिब प्रमाण हौ।नेपाललाई समग्र खाडी क्षेत्रमा प्रतिनिधित्व गर्ने प्राकृतिक सांस्कृतिक शोभा र गौरव हो। सांस्कृतिक दूत हौ। किन भने सांस्कृतिक पूजा अर्चना विधि र साइत गरेर सांस्कृतिक श्रृंगार र तामझामका साथ तिमी बिदावारी भई प्रस्थान गरेका छौ।
त्यहाँ पनि हरेक प्रकृति पुजकले तिम्रो सम्मान गर्ने छन्। हात्ती दिवसमा हात्ती पूजा हुने छ। अरब मुलुकहरुलाई तिमीहरु प्राकृतिक विश्वविद्यालय हुने छौ। नेपाल पर्यटनको भोक जगाउने छौ। हात्ती अध्ययन, अनुसन्धान, ब्यवस्थापन र संरक्षणको प्रेरणा दिने छौ।
तिम्रो अनुशासन, धैर्यता, सहनशिलता, महानता हेरेर अरब धनाढ्यहरु हात्ती मानव द्वन्द्व व्यवस्थापनमा जागरुक र उत्प्रेरित हुने छन्। वन्यजन्तु उद्धार केन्द्र, वन्यजन्तु अस्पताल, प्राणी उधान स्थापना, व्यवस्थापन, सञ्चालनमा सहभागी हुन अग्रसर हुने छन्। किनभने प्रकृति संरक्षण साझा दायित्व हो। प्राकृतिक सम्पदा पृथ्वीका साझा निधि हुन्। प्रकृतिको साँध सिमाना हुँदैन सम्पूर्ण पृथ्वी वन्य जीव जन्तुको साझा घर हो।
मान्छेलाई आकाशिन मिल्ने। आकाश पताल आक्रमण गर्न मिल्ने। मंगल ग्रह कब्जा गर्न मिल्ने बिलाशी जाहाज चढेर कतारमा अनुकुल अग्नि परीक्षा लिन जान किन नमिल्ने? मस्ती गर कतारमा। पौडी खेल, लडीबुडी मिठो भोजन गर र रमाएर बस, नयाँ बासस्थानमा।
विश्व ढुक्क छ, हाम्रा प्राविधिक र हेरालुहरुले सुनिश्चित गरेका छन् तिम्रो सुविधा, सुस्वास्थ्य सुख र खुसी।रोनाल्डोको सन्तती हौं भने धुर्वेका सन्तान आउने छन् अनुवाधिक समस्याको संवाेधन गर्न। तिमीहरुको स्थानान्तरण समयमा सामाजिक संजाल भरिएका थिए, तिमीहरुप्रतिको माया, चिन्ता र समवेदनाले।
जुन ज्यादै सकारात्मक कुरा हो। पहिले तिमीहरु धेरै थियौ मान्छे थोरै। अहिले कथा उल्टो छ। त्यसैले हात्ती, प्रकति, संरक्षण अधिकारकर्मीको चासो र संरक्षण चिन्ता चुलिँदो छ।खवरदारी व्यापक छ। तिम्रो बिदाईमा सुभेच्छुकहरुको हृदय रुनु भावनात्मक हुनु स्वभाविक हो।
तर उपहार प्रथा परापूर्वक कालदेखि चलि आएको समृद्ध हो। प्राकृतिक र सांस्कृतिक समृद्धिमा नेपाल विश्व प्रसिद्ध छ। विश्वलाई लोभ्याएको छ। नेपाली पर्यटनको मेरुदण्ड नै त्यही प्राकृतिक र सांस्कृतिक समृद्धि हो। आर्थिक समृद्धिमा पुग्न नसक्नुमा नेतृत्व अक्षमता र व्यवस्थापकिय दुर्रबलता हो। भ्रष्टचारजन्य कुशासन हो।

यस अर्थमा राजनीतिक उपहार भनेर राजनीतिप्रति आक्रोश, आक्रमक हुनु अन्यथा होइन। हात्ती उपहार दिएर छोराछोरीलाई छात्रवृत्ति माग्ने, राजनीति क्षेत्रमा धारा, बत्ती, खेलमैदान र पार्टी प्यालेस बनाई माग्ने नेताहरुको आत्मकेन्द्रित दरिद्र चरित्रसँग जनता वाक्कदिक्क भएका छन्। त्यो दरिद्रताको समुल अन्त्य अपरिहार्य छ। त्यसैको लागि सुशासन शुभारम्भ भएको छ। तिमीहरु अति भाग्यमानी कुशासनबाट छलिएका छौ। सुशासनका दूत भएर गएका छौ।
११० सरकारी हात्ती, ७० वटा निजी हात्ती, ३०० बढी जंगली हात्ती १५० ओहोर दोहोर यात्रा गरिरहने पाहुना हात्तीको समृद्धिले नेपाल अझ केही थान हात्ती उपहार दिन सक्ने हैसियतमा छ। पाटे बाघ र एक सिंगे गैंडा अरु उपहार प्रजाती हुनसक्छन्।
प्राकृतिक वासस्थानको माग नेपाल मिनी जु अथवा नेपाल वन्यजन्तु स्यान्चुरी स्थापना हुन्छ र नेपालको प्राकृतिक ऐना, संरक्षण गौरवको ऐना सारा विश्वले अवलोकन गर्न पाउँछन् भने त्यो नेपालकोलागी गौरवको बिषय हुन सक्छ।
प्रिय गजराज,
तिमीहरु तातो खरानीबाट उठेर शरीरबाट खरानी टक्टकाउँदै समृद्धि अरवमा प्रस्थान गरेका छाै। कुटनीतिक शून्यतामा राष्ट्रिय कुटनीति जीवन्त छन् है भन्ने सन्देश दिएका छौ।राजनीतिक शून्यतामा सुशासनको संकल्प सफल उन्मुख छ भन्ने भरोसा दिएका छौ। तिम्रो प्रार्थना र आशीर्वादले मित्रराष्ट्र अझ धेरै शान्त र समृद्ध होस्। तिम्रो मुलघर नेपालको पनि सुशासन शान्ति र समृद्धिको सपना साकार होस्। तिमीलाई सेतु बनाएर दुई देशबीचकाे दौत्य सम्वन्ध अझ विशिष्ट प्रगाढ होस्।
प्रिय गजराज,
स-सम्मान पाल्न सक्ने सुयोग्य देशलाई जीवजन्तु दान/उपहार दिनु लिनु हाम्रो परम्परागत सनातन मान्यता र चलन हो। तिमीले पाइला हालेपछि तिमी सवार देशको इतिहास, वर्तमान र भविष्य सुन्ने जान्ने जिज्ञासा बढ्ने नै भयो। ६ दशक अघि बेलायती अधिनमा रहेको सानो अधिराज्यले छोटो समयमा गरेको उन्नति प्रगतिप्रति कुशासनले अनदेखा गरेपनि सुशासनको अवश्य पाठ सिक्नेछ।
११५८६ वर्ग कि.मि. क्षेत्रफल र २६ लाख जनसंख्या भएको सानो मुलुकले सन् २०२२ नोभेम्वर २० देखि डिसेम्वर १८ सम्म फिफा विश्वकप फुटवलको सभ्य भव्य सफल आयोजना गरेर आफनो भौगोलिक र जनसांख्यिकीय आकारले ठूलो जिम्मेवारी निर्वाह गर्नबाट कसैले केहीले नरोक्ने चामत्कारिक क्षमता प्रदर्शन गरिसकेको छ।
कतारको यसै वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ४ सय मिलियन युएस डलरको विलासी जेट विमान उपहार दिएर आफ्नो विशाल छाती र दिल्दार मनको पहिचान दिएको छ। यस अघि सन् २०१८ मा तुर्किस प्रेसिडेन्टलाई पाँच सय मिलियन डलरको जेट विमान उपहार दिएर आफ्नो दानी पहिचान बनाएको कतारले भविष्यमा नेपाललाई के मात्र नगर्ला त्यो सुशासन र देश भक्त पारदर्शी त्यागी सत्ताको विश्वसनियता र कुटनीतिक ल्यकतमा भर पर्ने कुरा भयो।
सन् २०१७ देखि २०२१ को नाकाबन्दीमा किञ्चित नझुकेको नगलेको कतारले जर्मनी र अस्ट्रेलिया बाट कार्गो विमानबाटै चार हजार गाई ल्याएर अत्याधुनिक डेरL उधोग सञ्चालनमा ल्याई आत्मनिर्भर्ताको बाटो समातेको पाठ आहा कति मननयोग्य छ हामीलाई र बाँकी विश्वलाई प्रतिकुल वातावरणलाई अनुकुल बनाउन कतार सक्षम माहिर छ भन्ने गाईपालनको असल पाठले गजराजहरुको सुन्दर र सुखद् भविष्यलाई सुनिश्चित गर्छ नै।
प्रिय गजराज,
उल्लेख्य संख्यामा नेपालीहरु भएको कतारमा तिमीहरुलाई एक्लोपन महशुस हुने छैन।तिम्रो उपस्थिति ती नेपालीहरुको हौसला र सम्मान पनि हो। नेपाली प्रकृतिको उपस्थिति र महिमाले नेपालीहरुलाई साथी पाएको, नेपाल पाएको गौरवानुभूत हुनेछ।
जेट विमान होस् वा हिराको हार वा सुनको मूर्ती उपहार दिन सजिलो छ, तर भीमकाय हात्ती उपहार दिन स्वर्णीम समृद्धि, प्राकृतिक- सांस्कृतिक समृद्धि चाहिन्छ। तिम्रो टेकोले कतार र विश्वभरीको नेपालीहरुको शिर ठाडो भएको छ। प्राकृतिक-सांस्कृतिक र संरक्षण सफल्ताको उपहार दिने समृद्ध हैसियत नेपाल आमालाई युग-युग सम्म प्राप्त भइरहोस्।
प्रिय गजराज,
अन्त्यमा तिम्रो सुख, खुसी र उज्ज्वल भविष्यप्रति म तिम्रो गोठालो ढुक्क छु। हात्ती गोठालोको टाइटल चोरीगर्दा शंकर लुइँटेल देवेन खरेललगायतका धेरै मित्रहरुको गाली खाने डर छ। तथापि, वर्तमान र भविष्यमासमेत म तिम्रो कलमे गोठालो हुँ।
तिम्रो संरक्षणका खातिर जीवन आहुती दिने ११८ जना सैनिक संरक्षणकर्मी, उल्लेख्य संख्याका गैरसैनिक संरक्षणकर्मी र सवैभन्दा ठूला स्थानीय समुदायका संरक्षणकर्मीहरुप्रति हार्दिक श्रद्धासुमन टक्र्याउँछु। घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
पूर्वाग्रह/प्रतिशोध/चोरी सिकार र ज्ञान-अज्ञानवस मानवीय कृयाकलापबाट भएको गजराजहरुको उनीप्रति भावपुर्ण श्रद्धा सुमन चढाउँदछु। हात्ती-मानव असमझदारी भविष्यमा कम हुदै शून्य होस् प्राथना गर्दछु। प्रकृति र हात्ती अधिकारकर्मीप्रति नतमस्तक छु।खबरदारी जारी राखौं, संरक्षण ऐकवद्धताको प्रण गर्दछु।
तिम्रो अनन्य सेवक
बाबुकृष्ण कार्की
















Facebook Comment