रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।

यहाँका विभिन्न स्थानीय तहमा रहेका मुसहर, चमार र डोम समूदायका दलित बस्तीहरूमा चिसोले सबैभन्दा बढी असर गरेको छ । फुसको झुपडी, न्यानो लुगाको अभाव र पर्याप्त खाद्यान्न नहुँदा ती बस्तीका वृद्धवृद्धा, बालबालिका र सुत्केरी महिलाहरूको अवस्था दयनीय बनेको हो ।
धेरैजसो परिवारसँग ओढ्ने–ओछ्याउने तातो कपडा नभएकाले पराल ओछ्याएर र रातभर घुर (आगो) तापेर रात काट्न बाध्य छन् । अहिलेसम्म यो जाडोमा राहत लिएर कोहि पनि गाउँमा नआएको स्थानीय चन्द्र माझीले बताए ।

जाडोबाट बच्नका लागि अहिले घुर तापेर दिन बिताउने गरेको उनको भनाइ छ । चिसो अझै बढ्ने सम्भावना रहेकाले विपन्न वर्गका लागि तत्कालै कम्बल, दाउरा र पौष्टिक आहारको व्यवस्था गर्न जरुरी रहेको चन्द्रपुरका स्थानीय अगुवाहरुले माग गरेका छन । स्थानीय प्रशासन र नगरपालिकाहरूले केही स्थानमा दाउरा वितरण गरे पनि त्यो पर्याप्त देखिएको छैन ।

चिसोका कारण बजारमा चहलपहल घटेको छ भने ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू काममा जान सकेका छैनन् । जिल्लाका कतिपय स्थानीय तहहरूले अत्यधिक जाडो बढेपछि विद्यालयहरूमा सार्वजनिक बिदा समेत दिन थालेका छन् ।
गौर, राजपुर, राजदेवी, बृन्दावन, देवाही गोनाही, फतुवा बिजयपुर नगरपालिका लगायतले अत्यधिक चिसो बढेपछी सूचना निकालेर विद्यालयमा सार्वजनिक बिदा दिएका छन् ।

बढ्दो चिसोका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालहरूमा निमोनिया, दम, रुघाखोकी र झाडापखालाका बिरामीहरू, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरू बढी देखिएका छन् । अर्कोतर्फ, लामो समयदेखि घाम नलाग्दा तोरी, आलु र दलहन बालीमा शीतलहरले क्षति पु¥याउन थालेपछि किसानहरू चिन्तित बनेका छन् ।