रवि र बालेनको सहमतिको दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू

डिसी नेपाल
११ पुष २०८२ ११:१४
6.3k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच सहमति विकास हुँदै गएको उनीहरुका निकटस्थ व्यक्तिहरुले बताएका छन् । उनीहरुबीचको छलफल सहमति उन्मुख रहेको र सहमतिलाई दस्तावेजीकरण गर्नका लागि सहमति पत्रको खाका तयार पार्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

दुई युवा राजनीतिज्ञबीच छलफलको पृष्ठभूमि तयार पार्न महत्वपूर्ण भूमिका खेलेका असिम शाह, कुमार बेन लगायतका सहयोगीहरुले सहमतिको खाका तयार पार्दैछन् । दुई नेताबीच सोमबार पहिलो छलफल भएको थियो । त्यसपछि बिहीबार अन्य वैकल्पिक शक्तिका नेतृत्वकर्ताहरुलाई समेत बोलाएर छलफल गरेका नेताहरुले शुक्रबार पनि वार्ता गर्ने र सकेसम्म आज शुक्रबार नै निर्णायक सहमति गर्ने तयारी गरेको स्रोतले बतायो ।

सहमतिले अन्तिम रुप पाउन बाँकी रहेकोले सहमतिका बुँदाहरु स्पष्ट छैनन् । यद्यपि सहमतिको प्रमुख बुँदा पार्टीको एकतासम्मको हुन सक्नेछ । दुवै नेता पार्टी एकता गर्नेसम्म लचिलो नभएमा पनि चुनाबी सहकार्यको विषयमा भने सहमति हुने दुवै पक्षले अपेक्षा गरेका छन् ।

पार्टीको एकता नै हुनेगरी सहमति भएमा एकीकृत पार्टीले आगामी चुनाबमा बालेनलाई प्रभानमन्त्रीको दाबेदारको रुपमा अगाडि सार्नेछ । पार्टीमा भने रविको बरियता उच्च हुनेछ । पार्टीका रविपछि बालेन दोस्रो बरियतामा हुनेछन् । सहमति भइसकेको छैन तर सहयोगीहरु भने पार्टी एकताकै सहमति हुनेमा विश्वस्त देखिन्छन् ।

एकतापछि पार्टीको नाम के राख्ने ? चुनाब चिन्ह के हुने ? उम्मेदवारको बाँडफाँड कसरी गर्ने ? भन्ने जस्ता विषयमा छलफल केन्द्रित छ । समानुपातिक उम्मेदवारको हकमा भने बालेनले ठूलो संख्या दाबी नगरेकोले रविले यसअघि प्रस्तान गरेको ७०–३० को अनुपातमै सहमति हुन सक्ने सहयोगीहरु बताउँछन् ।

बिहीबार छलफलपछि संचारकर्मीले पनि पार्टीको चुनाब चिन्ह के हुने भन्ने बारेमा रविसँग जिज्ञासा राखेका थिए । जवाफमा रविले समयले बताउने भनेका थिए । बालेनले मेयरको चुनाब लड्दा पाएको लौरो चुनाब चिन्ह निकै चर्चित भइसकेको छ । अर्कोतर्फ रास्वपाको चुनाब चिन्ह घण्टी पनि लोकप्रिय भइसकेको छ । यद्यपि बालेन घण्टी चुनाब चिन्ह स्वीकार गर्न लचिलो भएको सहयोगीहरु बताउँछन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ लगायत अन्य शक्तिहरुलाई कसरी मिलाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ । कुलमानलाई बालेन बराबरकै दोस्रो बरियता दिने कुरामा सबै पक्ष लचिलो भएको बताइएको छ । यसअघि रवि र कुलमानबीच सहज संवाद हुन नसकेपछि उनलाई विश्वासमा लिने काम बालेनले जिम्मा लिएको स्रोत बताउँछ । स्रोतका अनुसार रविसँग सहज छलफलमा नरहेका वैकल्पिक शक्तिलाई विश्वासमा लिने जिम्मा बालेनले सोमबारको छलफलका क्रममै लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.