रामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै
रामेछाप । पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ ।
जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए।
‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका समस्या भेटिएका छन्,’ कार्कीले भने, ‘तर जाँच गरेपछि रोग देखिन्छ भन्ने डरले जाँच नै नगर्ने प्रवृत्ति अझै पनि ठूलो चुनौती बनेको छ ।’
उनका अनुसार खानपान र जीवनशैलीमा आएको परिवर्तन नसर्ने रोग बढ्नुको मुख्य कारण हो । स्वास्थ्यकर खानाभन्दा स्वादिला र प्रशोधित खानेकुरामा बढ्दो आकर्षण, चामल र चिनीको अत्यधिक प्रयोग, बहुराष्ट्रिय कम्पनीका पेयपदार्थ, मदिरा सेवन तथा शारीरिक व्यायामको अभावले ग्रामीण क्षेत्रमा समेत नसर्ने रोग तीव्र गतिमा बढ्दै गएको छ ।
चिकित्सालयले बस्ती-बस्तीमा पुगेर सुगर र प्रेसर परीक्षण गर्नुका साथै समस्या देखिएका बिरामीलाई उपचारका लागि चिकित्सालयमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ। घरदैलो अभियानमा स्वास्थ्य जाँचसँगै जीवनशैली सुधार र खानपानसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको कार्कीले जानकारी दिए।
स्वास्थ्यकर्मीहरूका अनुसार नियमित परीक्षण र जीवनशैली सुधारलाई प्राथमिकता नदिने हो भने ग्रामीण क्षेत्रमा नसर्ने रोग आगामी दिनमा अझ गम्भीर चुनौती बन्न सक्ने देखिएको छ। चिकित्सालयले यस्ता अभियानले नसर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको छ ।







डिसी नेपाल








Facebook Comment