युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘आज राष्ट्रपति ट्रम्पका दूतहरूसँग छलफल गरेका विषयहरूलाई व्यवस्थित गर्न सफल भयौँ भने यो निकै महत्वपूर्ण हुनेछ । मेरो बुझाइमा केही कागजातहरू लगभग तयार छन् र केही त पूर्ण रूपमा तयार भइसकेका छन् । यद्यपि, संवेदनशील विषयहरूमा अझै काम बाँकी छ । तर अमेरिकी टोलीसँग मिलेर हामी यसलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट छौँ । आउँदा हप्ताहरू गहन हुन सक्छन् ।’
उनले शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, अमेरिका,’ भनेका छन् । यसअघि बिहीबार नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलसहित अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका थिए ।
भेटपछि उनले दिगो शान्तिका लागि ‘राम्रा विचारहरू’ अघि आएको बताएका छन् । एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिए ।
‘हामी युक्रेनविरुद्धको यो क्रूर रुसी युद्धको अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन । ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’
उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण विवरणहरूमा समेत कुराकानी भएको थियो । ‘वास्तविक सुरक्षा, पुनर्निर्माण र शान्ति हामी सबैका आवश्यकता हुन—युक्रेन, अमेरिका, युरोप र सहयोग गर्ने सबै साझेदारहरूको,’ उनले उल्लेख गरे ।
यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरेका छन् । तर उनले पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै आलोचना पनि गरे । ‘हामी क्रिसमसको संगीत सुन्दा खुशी हुन्छौँ,’ उनले भने, ‘तर आकाशमा ड्रोन र मिसाइलको आवाज नसुन्दा झनै खुशी हुन्छौँ ।’ एएनआई







डिसी नेपाल








Facebook Comment