बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा सांसद पदका लागि उम्मेदवार बन्नेछन् ।
संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचित जनप्रतिनिधि आफ्नो पदबाट राजीनामा नदिइ अर्को निर्वाचनमा उम्मेदवार हुन पाइँदैन । कानुनअनुसार स्थानीय तहको कुनै पनि निर्वाचित जनप्रतिनिधि अर्को निर्वाचनमा उम्मेदवार हुन चाहेमा मनोनयन गर्ने दिन नै पदमुक्त भइसकेको हुनुपर्छ ।
बालेनले राजीनामा दिएसँगै काठमाडौं महानगरको प्रमुख पद रिक्त हुनेछ । संविधानअनुसार महानगर, उपमहानगर वा नगर कार्यपालिकाको प्रमुख वा उपप्रमुख पद रिक्त भएको अवस्थामा उक्त पदको कार्यकाल एक वर्ष वा सोभन्दा बढी बाँकी भएमा सो पदको पूर्ति उपनिर्वाचनबाट हुन्छ ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ । जसको अर्थ बालेनले त्योभन्दा पहिल्यै अर्थात सो निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्नुभन्दा अगावै काठमाडौंको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । काठमाडौंको मेयरको निर्वाचन २०७९ बैशाखको अन्तिममा भएकोले आगामी बैशाखभित्र यो पद रिक्त भएमा कम्तीमा एक वर्ष कार्यकाल बाँकी हुने भएकोले उपनिर्वाचन गर्नुपर्छ ।

बालेनको राजीनामापछि काठमाडौंको मेयर को बन्ला भन्ने चासोका बीच रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले सामाजिक संजालमार्फत आफू काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको बताएका छन् । उनको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बालेन र रविबीच भएको सहमतिमा बालेनपछि काठमाडौंको मेयर पदमा आफ्नो पक्षको कसैलाई उम्मेदवार बनाउने वा नबनाउने भन्ने स्पष्ट खुलासा गरिएको छैन । उनीहरुका सहयोगी र निकट व्यक्तिहरुले यसबारे केही बोलेका छैनन् । तर, दाजु हरिशरणको यो भनाइले उनीहरुबीच हरिशरणलाई समर्थन गर्ने अलिखित सहमति भएको हुन सक्ने संकेत गर्छ ।
उपमेयरमा पनि उपनिर्वाचन
बालेन राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्न गएको अवस्थामा उपमेयर पद पनि रिक्त हुने सम्भावना उच्च छ । मेयर पद रिक्त भएर निर्वाचन हुने भएमा उक्त पदमा एमालेले हालकी उपमेयर सुनिता डंगोललाई नै मेयर पदको उम्मेदवार बनाउने सम्भावना छ । मेयरका लागि उम्मेदवार बन्न सुनिताले पनि उपमेयर पदबाट राजीनामा दिनुपर्छ ।
एमालेनिकट स्रोतका अनुसार मेयरको कार्यकाल ५ वर्ष पूरा भएर अर्को निर्वाचन हुने अवस्थामा पनि मेयरमा सुनितालाई नै उठाउने गरी एमालेमा पहिलेदेखि नै गृहकार्य भइरहेको थियो । मेयर पद आकस्मिक रुपमा एक वर्षअगाडि नै रिक्त भएमा पनि उनी नै निर्विकल्प रहने एमाले निकट स्रोत बताउँछ ।
एमालेभित्र सुनितालाई मेयरको निर्वाचन जित्न सक्ने बलियो दावेदारको रुपमा हेरिएको छ । यसअघि २०७९ मा भएको निर्वाचनमा उनले उपमेयरमा जित्दा मेयर बालेनले भन्दा धेरै मत ल्याएकी थिइन् । मेयरमा बालेनले ६१ हजारभन्दा बढी मत ल्याउँदा सुनिताले ६८ हजारभन्दा धेरै मत ल्याएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment