निर्वाचन अघि संविधान संशोधन

पूर्ण ओली
१४ पुष २०८२ १०:४३
32
Shares

जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारको ध्यान मात्र तोकिएको मितिमा निर्वाचन गराउनेमा केन्द्रित देखिएको छ। त्यसले निर्वाचनपछि आउने सरकारलेपनि देश हितमा काम गर्न कठिन हुनेछ।

त्यसैले अहिले सर्वपक्षीय भेला गरेर देश र जनताको दीर्घकाल हितमा संविधानमा आवश्यक संशोधन गर्न उचित हुनेछ। २३ र २४ गतेको घटनामा स्कुल पढ्ने बालबालिकासहित करिब ७९ जनाले सहादत प्राप्त गरेपछि देशको भ्याकुम अबस्थामा बनेको सुशीला कार्की सरकारले प्रतिनिधिसभा बिघटन गराएपनि संविधान बिघटन गर्ने हिम्मत गराइएन।

त्यसपछि विदेशी सेना भित्रिने डर देखाएर यही अलोकप्रिय संविधानलाई कायम गर्न जेनजीलाई पनि आश्वस्त पारेर सुशासन दिने बचन दिइयो। मन्त्रीमण्डलमा केही राम्रा र क्षमतावान व्यक्ति भएरपनि हालको संविधानमा केही संशोधन गर्न सकिँदैन र त्यसलाई राष्ट्रपति र न्यायलयबाट पनि कुनै सहयोग प्राप्त हुँदैन भने अहिलेको सरकार पूरा निकम्मा जस्तो हुनेछ।

त्यसकारण पनि संविधानमा आमुल परिबर्तन गर्न कि त संविधान निलम्बन गरिनु पर्छ या संशोधन गर्न सबै दलको समर्थन लिन आबश्यक छ। त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले त्यसतर्फ पहल लिनैपर्छ। अन्यथा आफूले केही गर्न नसक्ने भए भनेर लाचारीमात्र ब्यक्त गरी सबै युवालाई निरास पार्नुको कुनै अर्थ छैन।

जेनजीको प्रमुख माग प्रत्यक्ष सरकार प्रमुख र भ्रष्टहरुलाई कारवाही गर्न सुशीला कार्की सरकारले कुनै पहल गरेन। साथै प्रमुख दलहरुलाई यसतर्फ फर्काउन सुशीला कार्की सरकारले पहल गरेको देखिएन। साथै राष्ट्रपति रामचन्द्र पौडेलले पनि जसरी हुन्छ यही गणतन्त्र संघीयतासहितको संविधान जुक्तिले बचाए भन्ने उद्घोष गरे।

अब यही संबिधानबाट संविधानमा कुनैपनि संशोधन गर्न सकिँदैन। त्यसैले नयाँ आउने जनप्रतिनिधिले मात्र जेनजीको इच्छाअनुसारको संविधान बनाउने छ भनेर ती भरखरका युवाहरुलाई आश्वास्त पार्ने कोशिस गरिन् प्रधानमन्त्री सुशीला कार्कीले।

तर जब जेनजीले आफ्ना कुनैपनि माग पूरा नहुने देखेपछि उनीहरुपनि यो सरकारको बिरुद्धमा उठेका छन्। अर्कोतर्फ एमालेको लहैलहैमा लागेर कांग्रेसपनि संसद पुनस्र्थापना गराउने प्रयासमा लागेर सर्वोच्चलाई दवाव दिँदैछ। यदि अहिलेको सर्वोच्च अदालतमा भएका दलीय भागबण्डामा परेका न्यायाधीशले देश र जेनजीको हितभन्दा दलको हितमा संसद पुनःस्थापना गरिदिएमा यसबाट अर्को बिग्रह अवश्य उठ्नेछ।

सुरुमा एमालेले आफ्ना भातृ संगठनको दुरुपयोग गर्दै देशभरमा खुसियाली मनाउने छ। त्यसको प्रतिकारमा केही दिनपछि संगठित बन्दै जेनजीसहितका अन्य जनमानसको बिरोध जुलुस निस्कनेछ। जसलाई नियन्त्रण गर्न सरकारको बसमा हुनेछैन।

त्यसपछि अन्तिम बिकल्पमा रहेको सेनाले शासन सत्ता आफ्नो हातमा लिन बाध्य हुनेछ। परिणामस्वरुप बांगलादेशको जस्तो स्थिति नेपालमा नआउला भन्न सकिँदैन। बदलाको राजनीति अघि बढदै हत्या हिंसा बढन् सक्छ। सेनाले केही समय शासन हातमा लिएपनि उसले देशका प्रतिष्ठित, निष्पक्ष क्षमतावान ब्यक्तिहरुको छनौट गरी अन्तरिम सरकार बनाएर पहिला संविधानमा आवश्यक संशोधन गरी निर्बाचनको तयारी गर्न सक्छ।

यसमा धेरै जनताको चाहना र देशको सार्बभौम सुरक्षा र राष्ट्रिय एकतालाई ध्यानमा राख्दै नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको लेगासी बोकेको शाहबंशीय राजसंस्थालाई राख्तै पत्यक्ष सरकार प्रमुख प्रधानमन्त्रीसहित हुनेगरी संविधान निर्माणमा सहयोग पु¥याउनु पर्नेछ।

बिगतको भाद्र २३ गते जेनजी युवाहरुलाई सुरुमा दुरुपयोग गरेको देखिन्छ। उनीहरुलाई तात्कालीन सत्ताधारीलाई हटाउनमा मात्र प्रयोग गरेको बुझिन्छ। तर त्यसका लागि राष्ट्रको ठूलो क्षति पु¥याइयो। अझैपनि निर्बाचन पछिपनि आउने उनै काँगेस र कम्युनिष्ट हुन् जसले जनता र देशको शोषण गरिरहन्छन्।

त्यसकारण पनि निर्बाचन अघि नै संबैधानिक वा सांस्कृतिक राजसंस्था र हिन्दुराष्ट्र कायम राखेर निर्वाचनको मोडलमा परिबर्तन गरेर मात्र निर्वाचनमा जानुपर्छ। सेतो हात्तीको रुपमा रहेको प्रदेश सरकारलाई हटाउन जरुरी छ।

जसको मुल उद्देश्य दलका दोश्रो तहका नेतालाई जागिर खुवाउनु र पैसा कमाउने अवसरमात्र दिनु रहेको देखिन्छ। समानुपातिकमा बौद्धिक बुद्धिजिवी, बिज्ञ तथा जनजाति र समाजका पिछडिएका ब्यक्तिबाट छनौट गरी राष्ट्रियसभामा लाने नीति बनाइनु पर्छ।

यो संबिधान संशोधन गर्ने कार्य जतिसक्तो छिटो गरि निर्वाचन केही महिना सारेर भएपनि निर्बाचन गराउनै पर्छ। त्यसका लागि सबै दललाई सहमत गराउने दायित्व अन्तरिम सरकार कै हो। यो सबै कार्यमा राष्ट्रपतिको सहयोग चाहिन्छ। अन्यथा राष्ट्रपतिलाई हटाउनु परे हटाएपनि केही फरक पर्दैन।

हामीसँग समय धेरै छैन। किनकि बिदेशीहरुको नजर हामी माथि नै छ। जतिसक्दो छिटो देशमा स्थिरता ल्याएर देशको बिकासमा लाग्नैपर्छ। शिक्षा क्षेत्र राजनीतिबाट बाहिर राखी आमुल परिबर्तन गरी प्राबिधिक शिक्षामा जोड दिनुपर्छ।

कमसेकम एसइई पास गर्ने बिद्यार्थीले कमसेकम २–३ बिषयका दैनिक उपयोग हुने शिप सिक्नै पर्ने सिलेबस अनिबार्य बनाइयोस्। बिकसित देशमा त्यही भएर युवाहरु छिटै रोजगार बन्छन्। युवाहरुलाई स्वदेशमा रोजगार बन्न सबै कृषि योग्य क्षेत्रमा पानीको सुब्यबस्था गरी बाँझा खेतबारीमा पानी पु¥याउन सके गाउँघरमा युवाहरु फर्कने छन्।

अहिले अफ्रिकाको मरुभूमिमा सौर्य उर्जाबाट चल्ने डेजर्ट स्मार्ट फार्म मा हरियो तरकारी, अन्न फलाउन थालेपछि हजारौ युवाहरुले रोजगार पाएका छन्। त्यस क्षेत्रमा अहिले खाद्यान्न आयात गर्नु पर्दैन। हाम्रो देशमा पर्याप्त जल र उर्बरा भूमि हुँदा पनि खाद्यान्न बिदेशबाट आयत गर्न बाध्य हुनु परेको छ।

जमिनमा सिचाईँ नहुँदा खेतबारी बाँझा भएका छन्। यसतर्फ सरकारको ध्यान जानुपर्छ। सरकारले स्वास्थ्यमा केही सुधार गर्दै डक्टर नर्स तथा प्राविधिकहरुको तलब भत्तामा बृद्धि नगरी निजहरुलाई स्वदेशमा रोकेर राख्न कठिनाइ हुनेछ। मेडिकल कलेजमा कोटा थप गर्दै छात्रबृत्तिको संख्यापनि बढाइयोस्।

सरकारी अस्पतालहरुको संख्या र प्राबिधिक तथा डक्टरको दरबन्दी अनिबार्य बढाउनु पर्छ। कृषिमा जैविक मललगायत आबश्यक बिउ मल देशमा नै आत्मनिर्भर हुनेगरि बिदेशी आयतीत मलको सट्टामा स्वदेशी अग्र्यानिक मललाई प्रोत्साहन दिनेतर्फ सरकार लागोस्।

यस्ता कार्यहरु अहिलेको सुरकारले तुरुन्त सुरु गर्नुपर्छ। सबै कुरा निर्बाचित सरकारको जिम्मामा छोड्दा जनता फेरि निरास हुँदैछन्। असल कार्यको सुरुवात यो सरकारले गरेमा आउने निर्वाचित सरकारले पनि लगातार जारी राख्न बाध्य हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.