उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई फिर्ता गरिन् गाडी
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेपछि उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी र चाबी बुझाएकी हुन्।
राना रास्वपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क)मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।
स्रोतका अनुसार समानुपातिक सांसद भएकाले नैतिकताका आधारमा पनि आज समानुपातिकको बन्द सूची पेश गर्ने दिन भएकाले उनी बिदा भएको बताइएको छ।
संघीय संसद् सचिवालयले विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने जनाएको छ ।
यस अगाडि पनि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदा लिएका थिए।







डिसी नेपाल








Facebook Comment