सलमान खानको फिल्मको टिजरले भारत-चीन तनाव चर्कियो, चीन आक्रोशित

डिसी नेपाल
१५ पुष २०८२ १४:०५
2.6k
Shares

काठमाडौं । अभिनेता सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को टिजरले भारत-चीन तनावलाई चर्काएको छ । गलवानमा ज्यान गुमाएका भारतीय सेनाका कर्नेल सन्तोष बाबुको चरित्रलाई चित्रण गरिएको यो फिल्म अप्रिल १७, २०२६ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। टिजरबाट चीन आक्रोशित भएको छ।

चीनको आधिकारिक मुखपत्र द ग्लोबल टाइम्सले चलचित्रको टिजरबारे लामो रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा भनिएको छ – कुनै पनि फिल्मी रचनात्मकता वा अतिरंजित कथाले इतिहास पुनर्लेखन गर्न वा चीनको सार्वभौम क्षेत्रको रक्षा गर्ने पीएलएको संकल्पलाई हल्लाउन सक्दैन।

ग्लोबल टाइम्सले लेखेको छ – ‘सलमान खान चिनियाँ दर्शकहरूमाझ बजरंगी भाईजानका मुख्य अभिनेताको रूपमा परिचित छन् । उनलाई चिनियाँ नेटिजेनहरूले प्रायः अतिरंजित लाग्ने भूमिकाहरूका लागि जिस्क्याउँछन् ।’ ग्लोबल टाइम्सले केही नेटिजनहरूले फिल्मको टिजरलाई गेम अफ थ्रोन्सको दृश्यसँग तुलना गरेको र फिल्मले त्यो दृश्यको नक्कल गरेको हो कि भनेर प्रश्न गरेको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै उक्त पत्रिकाले दाबी गरेको छ – गलवान उपत्यका चीन-भारत सीमाको पश्चिमी भागमा वास्तविक नियन्त्रण रेखाको चिनियाँ पक्षमा अवस्थित छ। चिनियाँ सीमा सेनाले धेरै वर्षदेखि यस क्षेत्रमा गस्ती र ड्युटी गर्दै आएका छन्।

चिनियाँ सैन्य विज्ञ सोङ झोङपिङले सोमबार ग्लोबल टाइम्सलाई बताएअनुसार भारतले राष्ट्रवादी भावना जगाउन चलचित्रहरू, विशेष गरी बलिउड चलचित्रहरूको प्रयोग गर्नु अचम्मको कुरा होइन । यसले गहिरो सांस्कृतिक र राजनीतिक परम्परालाई प्रतिबिम्बित गर्दछ। तर, घटनाहरू जतिसुकै नाटकीय वा अतिरंजित भए पनि चलचित्रहरूले गलवान उपत्यका घटनाको आधारभूत तथ्यहरूलाई परिवर्तन गर्न सक्दैनन्।

सोङका अनुसार २०२० को घटनामा भारतीय सेनाले पहिले सीमा पार गरेको थियो र पीएलएले कानून अनुसार चिनियाँ क्षेत्रको रक्षा गरेको थियो । फिल्ममा चीनको पीएलएले पहिले सीमा पार गरेको देखाएर घटनालाई अतिरञ्जित गरिएको उनको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.