युवालाई नहार्न सन्देशसहित उल्टो साइकल चलाउँदै महोत्तरीका जेबी पोखरेल
जनकपुर । ‘युगले हार्न सक्छ युवाहरू नहार, सबल बनाउ थेग्न काँध मातृ भूमीको भार’यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साइकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन्।
ह्यान्डल विनाको दुई पाँङ्ग्रे साइकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाइल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन्। महोत्तरीको बर्दिवास वडा नं. १ घर भएका जेबी पोखरेल नामले चर्चित उल्टो साइकल यात्री पेसाले स्वास्थ्यकर्मी हुन्। पोखरेल महोत्तरीको वर्दिवास नगरपालिका अन्तर्गत जनस्वास्थ्य निर्देशक हुन्। विदाका दिनमा उल्टो साइकल चलाएर वातावरण संरक्षण गर्ने सन्देश फैलाउने काम गर्छन् उनी।
२०६३ सालमा उल्टो साइकल चलाएर मेची महाकाली यात्रा गरेर उनले निकै चर्चा बटुलेका थिए। सो बेला उनले प्रयोग गर्ने साइकलमा ह्यान्डल थियो भने अहिले उनले बिना ह्यान्डल भएको साइकल प्रयोग गरी उल्टो चलाउने गर्छन्।
करिब २० वर्षदेखि उनले उल्टो साइकल चलाइरहेको उनले बताए। पोखरेलले अहिले प्रकृति संरक्षण र युवाहरूलाई स्वदेशमै बसेर केही सृजनात्मक र उत्पादनमूलक काम गर्न उत्प्रेरणा दिने उद्येश्यका साथ ठाउँ ठाउँमा उल्टो साइकल चलाउने गरेको बताए। उनले केही दिनअघि मात्र काठमाडौंमा उल्टो साइकल चलाएका थिए भने अब पोखरेल पोखरा जान लागेको बताए।
पोखरेलले एक पटकमा लगातार १०० किलोमिटर उल्टो साइकल चलाउन सक्ने दाबी गरेका छन्। उनले आगामी दिनमा उल्टो साइकल चलाएर गिनिज बुकमा नाम लेखाउन प्रयास गर्ने बताए।
उनले साइकल प्रयोग गर्न सबैलाई आग्रह गर्दै प्रकृतिको संरक्षणमा सबैजना लाग्नु पर्ने बताए। पोखरेलले विदेश जाने युवाहरूलाई नेपालमै प्रशस्त सम्भावनाहरु रहेकाले केही फरक काम गरेर स्वदेशमै रोजगार बन्न सल्लाह दिए।







डिसी नेपाल








Facebook Comment