राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।
उनले आज फेरि विश्व राजनीति महाशक्तिहरूको स्वार्थ र दबाबतर्फ उन्मुख भइरहेको भन्दै यस्तो अवस्थामा बीपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
‘राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको प्रष्ट छ । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ,’ उनले लेखेका छन् ।
कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको पहिलो खुड्किलो भएको उल्लेख गर्दै उनले आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर भावी राष्ट्रिय निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए। जनताको विश्वास गुमे कांग्रेसको सान्दर्भिकता नै संकटमा पर्ने चेतावनी पनि उनले दिएका छन्।







डिसी नेपाल








Facebook Comment