झलनाथ खनाल दम्पत्ती भन्छन् : सरकारमा मानवता छैन, विवेकहीन छ

डिसी नेपाल
१६ पुष २०८२ १५:२३
44
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ।

गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो। निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन्। अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन्।

उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भएको बताइन्। जेनजी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याई छ।

‘जेनजी आन्दोलन त निउ मात्रै हो। जेनजीहरुले घटना घटाएकै होइन, जेनजीहरु प्रयोग भएका हुन् । रियल जेनजी यस्ता अमानवीय हुँदैनन् । उनीहरुको नामबाट अरुले खेल खेले। राजनीतिबाट टाढा भएकाले होस या राजनीतिमै संलग्न भएकाले होस त्यस्तो आक्रमण गर्ने यो जंगली नियम लागू गर्न हुँदैन। एकदम दुःखद घटना हो। मलाई मात्रै होइन, देशकै दुःखद घटना हो। काठमाडौं भित्र वा बाहिर, देशभरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो । जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जेजे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो।’

घट्नालाई स्मरण गर्दै भनिन्,‘जुन दिन घटना घटाइयो त्यसबेला खाना खाएकै थिइन् । किचनको वरपर थिए । एक्कासी बाहिरबाट ढुंगा हानियो, चारै तिरबाट ढुंगा हान्ने बित्तिकै हामी छलेर बसिराखेको थियौँ । ढुंगा सँगसँगै एकैछिनमा धुँवाको मुस्लो आयो, मुस्लो यति तातो थियो कि तत्कालै मेरो हातमा पीडा दियो, अनि सास फेर्न धेरै गाह्रो भयो।  झ्याल खोज्दै दौडिदा त्यहाँ नपुग्दै ढलेछु । त्यसपछि अरु के भयो थाहा भएन्, अचेत भएछु ।’

त्यस्तै उनले विभिन्न ठाउँमा आगलागी भएको र आफ्नो घरमा पनि आक्रमण हुन सक्ने पूर्व जानकारी कतैबाट नपाएको बताइन्।

‘आक्रमण हुँदैछ भन्ने थाहा भएन, त्यसको जानकारी केही भएन। त्यही कारणले पनि होला, यसरी आक्रमण भयो अनि यस्तो परिणाम भोग्नुपर्यो,’ उनले भनिन्।

त्यस्तै पूर्वमन्त्री खनालले वर्तमान सरकारले चित्रकारको उपचार गर्ने त के उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी नलिएको भन्दै गुनासो व्यक्त गरे। वर्तमान सरकारमा सामान्य विवेक र मानवीयता नदेखिएको उनले बताए।

‘चित्रकार भदौ २४ गतेका घटनाक्रमबाट घाइते भएकी मान्छे हो कि होइन, यो देशको सरकारलाई थाहा छ? सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई थाहा छ ? घाइते हुन् कि होइनन् उनी घाइतेहरूलाई या निरीक्षण गर्न भनेर विभिन्न ठाउँमा गइन् तर चित्रकार घाइते हुन् कि होइनन् चासो गरिएन्। उनले उपचार पाउनुपर्छ कि पर्दैन यो गम्भीर प्रश्न हो। पूर्वप्रधानमन्त्रीले चाहीं आफैँ उपचार गर्नुपर्छ र सरकारको केही जिम्मेवारी छैन ?’उनले भने,‘ यो राज्य जेनजीका नायकहरूको मात्रै हो र ?’

‘सरकारमा सामान्य विवेक, सामान्य मानवता, मानवीयता त्यो कुरा पनि मैले देखिरहेको छैन। कुनै सोधपुछ वा खोजीनीति छैन। आश्चर्य लागिरहेको छ । कस्तो सरकार भएको देशमा बसिरहेका छौं हामी ?’ उनले प्रतिप्रश्न गरे।

त्यस्तै उनले आफूहरुमाथि हमला गर्नेहरु देशकै शत्रु र अपराधी रहेको भन्दै कारबाहीको माग गरे । ‘ती ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न सारा तीन करोड जनताको प्रश्न हो,’ उनले भने।

‘ती अपराधी हुन्, जल्लादहरू हुन्, देशका शत्रुहरू हुन्, जसले निर्दोष मानिसहरूमाथि निर्मम ढंगले हमला गरेका छन्, अपराध गरेका छन् । हाम्रो ज्यान लिन खोजिएको थियो। मेरो श्रीमतीलाई अहिले बचाएर ल्याएको छु तर उनीहरूले ज्यान लिन खोजेका थिए। ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन ?’ खनालले प्रश्न गरे।

उनले श्रीमती चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी समेत दिएका छन्।

‘साँढे तीन महिनासम्म उपचार गरेर ल्याएको छु, अहिले अलिक रिकभरी हुँदैछ, अवस्था ठीकै छ तर हात नै गुमाउनुपर्यो । एउटा हात आफैँ समस्यामा थियो, दाहिने अझै चल्न सकेको छैन । केही समाउनै सक्दैन। कति समयपछि ठीक हुन्छ अहिले भन्न सकिँदैन । फेरि थेरापी गर्दै ठीक ठाउँमा ल्याउन सकिन्छ कि भनेर प्रयत्न भइरहेको छ। हरेक दिन ज्वरो आउँछ र जलनका बिमारीहरूलाई ज्वरोले पनि सताउने रहेछ । फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ । दुईवटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.