बालबालिका सामाजिक सञ्जालजन्य घटनाको सिकार भइरहेको प्रति सरोकारवाला चिन्तित

डिसी नेपाल
१६ पुष २०८२ २०:४९
24
Shares

काठमाडौं । इन्टरनेट प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बालबालिकाहरू साइबर अपराधका घटनाका सिकार भइरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौंमा बुधबार सिविन नेपालले सरोकारवालाहरूको उपस्थितिमा एक कार्यशाला गोष्ठी गर्दै इन्टरनेटको प्रयोगले बालबालिकामाथि भइरहेको हिंसाप्रति चिन्ता प्रकट गरिएको हो।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले साइबर अपराधका घटनाहरू बढ्दै जान थालेकाले अभिभावकले सामाजिक सञ्जाल चलाउँदा विशेष सावधान रहनुपर्ने बताए।

आफूहरूले ७ सय ५३ वटै पालिकामा बाल संरक्षण संयन्त्र विस्तार गर्ने उद्देश्य लिएको र हालसम्म ६५ प्रतिशत स्थानीय तहमा विस्तार गरिसकिएको उनले जानकारी दिए।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुवास खड्काले एक कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय बालबालिकामाथि अनलाइन माध्यमबाट यौन दुर्व्यवहार भइरहेकाले त्यसको न्यूनीकरणका लागि समाजको जागरुकता र प्रहरीको साथ अपरिहार्य रहेको बताए।

उनले कसैले अनलाइनबाट यौन दुर्व्यवहार गरेमा लज्जा र हिनताबोध नगरिकन प्रहरीलाई जानकारी दिनुपर्ने विषय औंल्याएका थिए। उनले तथ्यांकले फेसबुक, इन्स्टाग्रामजस्ता माध्यमबाट बालबालिकामाथि बढी जस्तो यौनजन्य हिंसाका घटना भइरहेका बताए। त्यसैले आफ्ना बालबालिकाले प्रयोग गरिरहेका सामाजिक सञ्जालको निगरानी गर्न पनि उनले अभिभावकहरूलाई आग्रह गरेका छन्।

उनले जनचेतनाको अभाव रहेको र आफ्नै नजिकका मानिसहरूले पनि सामाजिक सञ्जालको प्रयोग गरेर बालबालिकामाथि यौनजन्य अपराध गरिरहेको बताए। उनले प्रहरीसँग हातेमालो गरेर अगाडि बढेको खण्डमा भने यस्ता घटनामा केही न्यूनीकरण ल्याउन सकिने बताए।

यस्तै नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक प्रद्युम्न ताम्राकारले नेपालमा बालबालिकामाथि र अन्य रूपमा पनि साइबर अपराधका घटना बढ्दो क्रममा रहेको बताए। उनले नेपालबाट मात्र नभएर देश बाहिरबाट पनि बालबालिकामाथि अनलाइन माध्यमबाट यौन दुर्व्यवहार भइरहेको तथ्यांक प्रस्तुत गरेका थिए।

‘प्रहरीले घटना न्यूनीकरणका लागि काम गरिरहेको छ। हामी थोरै जनशक्ति छौँ। अपराधको दर उच्च छ। त्यसले अपराध न्यूनीकरणका लागि हामीलाई समुदायसँगै सरोकारवाला सबैको साथको खाँचो छ,’ उनले भने। कार्यक्रम सहजीकरण सिविन नेपालका कार्यक्रम निर्देशक माधव लोहनीले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.