विभाजनको बाटोतर्फ कांग्रेस

डिसी नेपाल
१८ पुष २०८२ ६:५७
1.0k
Shares

काठमाडौं। महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको हो। गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी २६–२८ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो। विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए। तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन्। तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा–शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ। महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन्।

कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षधर नेतासँग ‘औपचारिक छलफल नै नगरी एकलौटी स्थगन गरेको’ भन्दै संस्थापन पक्षका नेता विशेष महाधिवेशन ‘सकेसम्म रोक्ने, रोक्न नसके कार्यकर्ता छेक्ने’ रणनीतिमा जुटेका छन्।

थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि काठमाडौं भृकुटीमण्डपको हल, बगैंचा ‘बुक’ गरेका छन्। २७ र २८ पुसका लागि ‘हल बुक’ गरिए पनि विशेष महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले कुनै निर्णय नै गरेको छैन । नियमित महाधिवेशन गर्ने निर्णय गरिए पनि तोकिएकै मितिमा नहुने निश्चित भएको छ । हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा गाउँ, नगरको वडा अधिवेशन, १७ पुसमा पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो।

तर कांग्रेस वडा र पालिका अधिवेशन तोकिएकै मितिमा गर्न असफल भयो। १९ पुस (शनिबार)मा प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, २२ पुसमा र प्रदेश अधिवेशन २३ र २४ पुसमा अधिवेशन गरेर १५औं केन्द्रीय अधिवेशन २६-२८ पुस काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो।

तर सो कार्यतालिकाअनुसार नभएपछि महाधिवेशन पनि अनिश्चित बनेको छ। महाधिवेशन अनिश्चित भएपछि थापा-शर्मा समूहले विशेष महाधिवेशनका लागि हल नै ‘बुक’ गरेर अगाडि बढेको छ। महाधिवेशनका विषयमा थापा र शर्माले सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गर्न खोजेका थिए। तर, कार्यव्यस्तताका कारण देखाउँदै देउवाले भेट गर्न अस्वीकार गरेका छन्। ‘महाधिवेशन चुनावअघि कि पछि गर्ने ?’ विषयमा कांग्रेसभित्र चर्को विवाद छ।

नियमित महाधिवेशन तोकिएकै समय हुन नसक्दा विशेष महाधिवेशन गर्नुपर्र्ने आवाज चर्किंदै गएको छ । तर कांग्रेसभित्र क्रियाशील सदस्यता टगो नै लाग्न सकेको छैन । क्रियाशील सदस्यतासम्बन्धी समिति संयोजक महामन्त्री गगन थापा आफैं छन् । तर थापाले ‘क्रियाशील सदस्यता कहिले टुंगो लगाउने ?’ भन्ने प्रश्न कांग्रेसभित्र उठेको छ । यता, महामन्त्री थापाले भने ‘५४ प्रतिशत प्रतिनिधिको सर्मथन’ भन्दै विशेष महाधिवेशन अडानमा छन् ।

महाधिवेशन स्थगनले थप अन्योल

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । १५औं नियमित महाधिवेशन स्थगित गर्दै थापा र शर्माले ‘अब विशेष महाधिवेशनमात्रै विकल्प भएको’ जनाएका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.