हर दिन नयाँ दिन, हर साल नयाँ साल

कपिल लोहनी
१९ पुष २०८२ ७:५४
76
Shares

सन् २०१९ को डिसेम्बरमा म अष्ट्रेलियाको भ्रमणमा निस्किेको थिएँ। क्रिसमस र नयाँ वर्ष नजिकिँदै गरेकोले हवाईजहाजको टिकटको मूल्य अति नै उच्च विन्दूमा पुगेको अवस्था। तर पनि घुम्न निस्कने भनेर तातिसकेकोले पछि हट्न मनै लागेन।

त्यसमाथि आफ्नो पहिलो पुस्तक ‘विचार र अनुभूति’ को अष्ट्रेलिया र न्यूजिल्याण्डमा सार्वजनिकीकरण गर्ने समेत कार्यक्रम बनिसकेको। उता भएका साथीहरू पनि उत्साहित भएर बसेका।

आखिर जाने नै निर्णय भयो। राति ११ बजेको सिंगापुरको उडान। सिंगापुरसम्म सिल्क एयरको जहाजमा यात्रा गरियो। सिंगापुर पुग्ने बेलामा मौसमको खरावीले गर्दा जहाज निकै हल्लाएको थियो। तर राम्ररी नै पुगियो बिहानीपख।

सिंगापुरबाट अष्ट्रेलियाको मेलबोर्न जाने उडान पनि बिहानको ८ बजे भएकोले नित्यकर्म पश्चात् कफी पिएर तयारी अवस्थामा रहेँ। पहिले पहिलेका यात्रामा बचेका चानचुन पैसा यस्तो बेलामा ट्रान्जिटमा काम लाग्दछन्। मसँग सिंगापुरका सिक्का र नोट अलिकति भएकोले काम आयो।

सिंगापुर एयरलाइन्सको मेलबोर्न जाने जहाजमा एकजना स्कटल्याण्डको मानिस पनि सँगै परेको र उसँग गफ पनि मिलेकोले निकै मज्जा आयो। श्रीलंकाको कुनै निजी व्यापारिक कम्पनीका कर्मचारीलाई अष्ट्रेलियामा लगेर मानव संशाधन व्यवस्थापन बारेको तालीम दिन ऊ स्कटल्याण्डबाट मेलबोर्न जान लागेको रहेछ।

यसरी ठूला कम्पनीहरूले आफ्ना उच्च तप्काका महत्वपूर्ण कर्मचारीहरूलाई संस्थाप्रति वफादार भएर रहिरहन यस्ता समुद्रपारका तालीमहरूको आयोजना गर्दा रहेछन्। नेपाल पनि त्यस्ता तालीम दिने स्थल हुन सक्दछ। तर यसको निम्ति हामीले आवश्यक पूर्वाधार र शान्त तथा रमणीय गन्तव्यहरूको विकास गर्न सक्नु पर्दछ।

तालीमे व्यवसायमा मेरो आफ्नो दक्षता पनि मानव संशाधन व्यवस्थापन सम्बन्धी विषयमा नै रहेकोले उसले बनाएको तालीम सम्बन्धी स्लाइड उसको कम्प्युटरमा हेरेँ र आवश्यक सुझाव पनि दिएँ। ७-८ घण्टाको उडानको दौरान हामी दुवै जना एक अर्काको अनुभवबाट दीक्षित हुन पायौँ।

ऊ क्रिश्चियन भएकोले नजिक आउँदै गरेको क्रिसमस र नयाँ वर्ष यसपाली अष्ट्रेलियामा मनाउने कुराले निकै प्रफुल्लित थियो भने मेरो मनमा पनि यसपाली क्रिश्चियन धर्मावलम्वीको वाहुल्य भएकै मुलुकमा यी महान् चाड मनाएको हेरेर आनन्द लिन पाउने आशाले निकै खुशी महसुस भइरहेको थियो।

आफू सानै छँदा सन् १९७० तिर मेरा पिताजी नयाँ वर्षको रमाइलो पार्टीमा अबेलासम्म खानपिन गरेर घर आउनु हुन्थ्यो र भोलिपल्ट हामीलाई पार्टीका कुराहरू सुनाउने गर्नु भएको सम्झना आयो। हामी पनि ठूला हुँदै गए पछि क्रिसमस, दशैं-तिहार, नेपाली र अंग्रेजी (ग्रेगोरियन) नयाँ वर्ष आदि मनाउने बहानामा रात रात भर बेपत्ता भएका कुराहरूको पनि सम्झना आयो।

नेपालमा क्रिसमस र ग्रेगोरियन सम्बत्को नयाँ वर्ष मनाउने प्रथा सन् १८१६ को सुगौली सन्धि पछि काठमाडौंमा बेलायतको रेजिडेन्सी कार्यालयको स्थापना भए पश्चात् भएको हो।

बेलायती रेजिडेन्टले नेपालका राजा, प्रधानमन्त्री र उच्च अधिकारीहरूलाई क्रिसमस र नयाँ वर्षको रमाइलो मनाउन लैनचौरस्थित आफ्नो निवासमा बोलाउन थाले पछि राजदरवार र पछि राणा प्राइममिनिस्टरहरूको दरवारमा अंग्रेजी नयाँ वर्ष चुपचाप मनाउन थालिएको हो। राणाशासनको अन्त्य भएर नेपाल वाह्य जगतसँग खुला हुँदै गए पछि भने क्रिसमस र नयाँ वर्ष मनाउने चलन व्यापक हुँदै गयो।

एयरबस ए–३५० मा ज्यादै आरामदायी उडान गर्ने मौका मिल्यो। सिंगापुर एयरलाइन्सको स्लोगन, नारा वा थेगो जे भने पनि ‘स्मुद एज सिल्क’ भनेर बचपनदेखि नै सुनिरहेकामा यसको उडानसेवा अझ सम्म पनि सिल्क जस्तै नरम र मुलायम भएकोमा निकै खुशी लाग्यो।

मेलबोर्न विमानस्थलमा साँझपख पुग्यौं। मनमा खुशी, कौतुहल र अध्यागमनले नचाहिँदा झमेला गर्ला कि भन्ने चिन्ता पनि। हामी तेस्रो विश्वका यात्रुलाई विश्वका खासगरी विकसित मुलुकका अध्यागमन कर्मचारीहरूले विशेष प्रकारले केरकार र खानतलासी गर्ने र फिर्ता समेत पठाइदिने गर्छन् भन्ने कुरा धेरै सुनेकोले मनमा एक प्रकारको चिन्ताले पनि सताइरहेको थियो।

विमानबाट उत्रेर लामो हिँडाई पश्चात् आगमन कक्षमा पुगेपछि त्यहाँको अध्यागमनले विकसित मुलुकका यात्रुलाई इज्जत साथ एकातिर पठायो भने पूर्वी युरोपेली, अफ्रिकी, दक्षिण एशियाली, सुदुरपुर्वी, चिनियाँ आदि मुलुकका यात्रुलाई अर्कोतिर भेला गरायो।

विकसित मुलुकमा धनी र गरिव राष्ट्रका जनतालाई हुने यस्ता कैयन् प्रकारका भेदभावपूर्ण व्यवहार देख्दा निकै दुख लाग्यो। हुन त गरिव मुलुकका धेरै मानिसहरूले विकसित मुलुकमा कानुन विपरित बसोवास गर्ने तथा लागुऔषध र अन्य अवैध सामानको तस्करी गर्ने गरेकोले हामी जस्ता सबै यात्रुले दुःख सहनु परेको पनि हुन सक्दछ।

एक एक गरी कडा प्रश्नहरू सोध्दै, सामानको भौतिक जाँच गर्दै र कुकुरलाई सुँघ्न समेत लगाएर जाँच पडताल भइरहेको थियो। मेरा ब्यागहरूमा मेरा पुस्तकहरू निकै भएकाले केरकार गर्ला कि भन्ने डर थियो। नभन्दै यत्तिका पुस्तक किन ल्याएको र यी पुस्तकमा के लेखिएको छ भनेर सोधपुछ भयो।

मैले त्यो नेपाली पुस्तक आफैंले लेखेको र त्यसमा आर्थिक–सामाजिक र सांस्कृतिक विषयका लेखहरू छन् तथा क्रिसमस र नयाँ वर्षको समय पारेर नेपाली साथीहरूलाई उपहार दिन ल्याएको भनेँ। म एउटा पुस्तकको लेखक भन्ने थाहा पाएर ती अध्यागमन अधिकृत ज्यादै खुशी भए।

‘सो यु आर द अथर अफ दिस बुक? वेलकम टु अष्ट्रेलिया सर!’ भनेर निकै उनले आदरका साथ स्वागत गरे। म पनि दंग परेर अध्यागमनबाट आफ्नो सामान लिँदै बाहिरिएँ। अब दुई महिना मज्जाले घुम्न र पुस्तकको प्रवद्र्धन गर्न पाउने कुराले मन ज्यादै प्रसन्न भयो।

मेलबोर्नमा दुई जना अति घनिष्ट साथीहरूको पाहुना भएर दुई हप्ताभन्दा बढी बसेँ। विभिन्न प्रजाति र रङका लालिगुराँसका बोट रहेको पार्कदेखि अन्य धेरै पार्क, ताल, ऐतिहासिक स्थल, पुरानो सुन खानी, गाउँ, शहर, अङ्गुरका वगान र वाइनरी, विश्वविद्यालय तथा ठूला ठूला मलहरू घुमेँ। जताततै क्रिसमसको चहलपहल।

यतिबेला अष्ट्रेलियामा गर्मीको मौसम हुन्छ भने क्रिसमस मनाउने अधिकांश युरोपमा जाडो। शहरका पार्कदेखि सिनेमा हल, मल जताततै क्रिसमस ट्रीहरू सजाएर राखिएका। सान्ता क्लज बनेर रातो लुगामा सजिएका मानिसहरूले स्वागत गरिरहेका, क्रिसमससँग सम्बन्धित धुनहरू बजिरहेका, गोराहरू मात्र होइन, त्यहाँ बसोवास गर्ने काला तथा गहुँगोरा वर्णका जातजाति पनि सबै प्रसन्न मुद्रामा रहेका।

विशेष गरी बालबालिकाहरू निकै खुशी। हामी गैर क्रिश्चियनहरूलाई पनि एक प्रकारको निकै रमाइलो अनुभव। मलहरूमा क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा भारी छुटमा सामान र सेवा खरिद गर्न पाइने।

क्रिसमसदेखि नयाँ वर्षसम्म लामो बिदा हुने भएकोले डिसेम्बरको पहिलो हप्तादेखि नै मानिसहरूमा उत्साह र उमंग छाएको प्रष्टै देखिने। किनमेल गर्नेहरूको भीडभाड। क्रिसमसको दिनभन्दा अगावै पुस्तकको विमोचन गर्ने विचार आएकोले हामी सो काममा पनि व्यस्त भयौँ र एउटा बिदाको दिन एक सामुदायिक भवनको हलमा पुस्तक विमोचनको काम गर्‍यौं।

साथीभाइहरूको मद्दतले धेरै नेपाली डायस्पोरा र विद्यार्थीहरूलाई भेला गर्न सक्यौँ हामीहरूले। पुस्तकबारे छलफल, विचार, प्रश्नोत्तर र सक्नेलाई बेच्ने तथा विद्यार्थीहरूलाई सित्तैमा बाँड्ने काम पनि गर्‍यौं। निकै रमाइलो वातावरण। परदेशमा बसेर नेपालीहरूले देखाएको सदाशयता र सद्भावले मन गद्गद् भयो।

क्रिसमस आउनुभन्दा केही दिन पहिलेदेखि सबैजसा घरहरू बत्ती, बेलुन र ध्वजापताका तथा क्रिस्चियन संस्कार र कलाकृतिले सजिन थाले। नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकन, चिनियाँ र अन्य मुलुकका विभिन्न धर्मावलम्वीले पनि आआफ्ना घरका भित्रबाहिर सजाएको देखियो।

बजारमा यस्ता सजावटका सामानको छेलोखेलो थियो। एक किसिमको महामेलाको आभाष भयो। झनै क्रिसमसको अघिल्लो दिनको साँझ (इभ)को दिनमा त त्यसै उज्यालो मेलबोर्न शहर झकिझकाउ देखियो र प्रत्येकको घरमा विशेष प्रकारका बत्ती बलेका। घरघरबाट अरुको घरका झिलिमिली हेर्न मानिसहरू निस्केका, एकअर्कालाई अभिवादन गरेर वधाई दिएका।

कस्तो सहिष्णुताको वातावरण। हामीले पनि साथीको घरमा विभिन्न परिकार बनाएर खायौँ र त्यसले नपुगेर राति अबेलासम्म शहरका विभिन्न भाग र त्यहाँ भएका पवमा घुम्न गएर त्यहाँका विशेष परिकार, केक, आइसक्रिम, चकलेट र अन्य खानपानका सामानको आनन्द लियौँ।

वियर, वाइन र ह्विस्की पनि प्रसस्त पिइयो। नाइट क्लबमा गएर नाच्ने काम पनि भयो। राति अबेलासम्म बसेर घर आउने बेलामा सबैलाई मेरी क्रिस्मसको अभिवादन गरेर घर पुगियो।

बिहान उठ्दा शरीर थाकेको र टाउको दुखेको। तर दिउँसोदेखि रातिसम्मको रमाइलोले गर्दा मन ज्यादै प्रसन्न। क्रिसमसको दिनमा त हामी चर्चमा पनि गयौँ। त्यहाँको भीडमा पास्टरले क्राइस्टको बारेमा भनेका कुरा, अन्य धर्ममा जस्तै कतिपय अन्धविश्वासी कुराहरू र क्रिस्मस क्यारोलहरू निकै बेर बसेर सुन्यौँ। आफू गैर क्रिश्चियन भए पनि अरुको धर्मको राम्रो पक्ष र महामेलाले निकै आनन्दित तुल्यायो। सो दिन शहरका धेरै चर्चहरू घुम्ने मौका पाइयो। चर्चहरूको पनि आआफ्नै इतिहास हुने।

वास्तुकलामा पनि निकै धनी, हाम्रा मन्दिरहरू जस्तै। शान्त र मन्त्रमुग्ध बनाउने वातावरण। सबै धर्मका दर्शन र साहित्य तथा संस्कार उस्तै उस्तै भए पनि यी सब भिन्दा भिन्दै तवरले मानिने र पुजिने भएकाले सबैलाई आआफ्ना धर्म प्रति माया र अरुको धर्म प्रति घृणा। विश्वको इतिहासमा घटेका अधिकांश युद्धहरू धर्म कै नाममा रचिएका छन्। तर भित्री मनबाट सोच्ने हो भने सबै धर्मका शास्त्र, शैली र सार निकै गहिरा र मार्मिक तथा मूल्यवान छन्।

केही दिनको ब्रिस्बेन र एडिलेडको हवाई यात्रा पछि पुनः मेलबोर्न फर्केर साथिहरूसँग केही दिन बिताए पछि म सिड्नीको लागि उडेँ। टोकियो, साङ्घाई, सिड्नी, जकार्ता, मुम्बई, कायरो, रियो, न्यूयोर्क आदि निकै ठूला, केही अव्यवस्थित र कोलाहलपूर्ण शहरहरू हुन्।

नेपालबाट अध्ययन गर्न अष्ट्रेलिया जाने अधिकांश विद्यार्थीहरू सिड्नीमा नै जाने गर्दछन्। त्यहाँको डाउनटाउन यानी हाम्रो नयाँसडक-दरवारमार्ग-ठमेल जस्ता शहरका मुख्य भागमा जताततै नेपाली भाषा बोलिरहेका नेपाली युवाहरूको भीड र मःमः पसल पनि देख्दा आफू अलिक समृद्ध नेपालमा नै छु कि जस्तो भान हुने।

अष्ट्रेलिया भर निकै बाक्लो डढेलो लागेकोले त्यो बेला अष्ट्रेलियनहरू निकै सकसमा थिए। सिड्नीका घरहरूमा डढेलोबाट उत्पन्न खरानीले राम्रैसँग देखिने गरी लेप लगाएको हुन्थ्यो। बाटोमा मास्क बिना र बिना काम नहिँड्नु भन्ने सरकारी उर्दी नै थियो। त्यसैले नजिक आइसकेको नयाँ वर्षलाई उल्लासपूर्वक मनाउन पनि मानिसहरू हिच्किचाइरहेका थिए।

अष्ट्रेलियाको अधिकांश भागमा सक्रिय रहेको बाक्लो डढेलोका कारण हजारौँ उँट, कङ्गारु तथा धेरै किसिमका जनावर, चरा, किराका प्रजाती र बोट-बिरुवा र रुखपात डढेर खरानी भएका थिए। हावामा डढेका वस्तुहरूको गन्ध निकै थियो। यस्तो बेलामा हामीले ठूलो आँट गरेर जङ्गलको बाटोबाट राजधानी क्यानबेरा घुम्न जाने निधो गर्‍यौं र डढेलोको खतरा छिचोल्दै पुग्यौँ पनि र सोही दिन फर्कियौँ पनि।

बाटोमा डढेलो बढेको बेलामा सुरक्षाकर्मीले त्यो क्षेत्रका सबै मोटरगाडी र यात्रुलाई एक ठाउँमा भेला गरेर राख्दा रहेछन् र खतरा कम भए पछि मात्र जान दिँदा रहेछन्। हेलिकप्टरहरू उद्धारको निम्ति तयारी अवस्थामा राखिँदा रहेछन् भने डढेलो निभाउन ठूलो टोली र मेसिनरी तथा हवाई उपकरण खटाइएको हुँदोरहेछ। कैयन् उद्धारकर्मीको ज्यान समेत गएको अवस्था।

मुलुकमा यस्तो विषम अवस्था भइरहेको बेलामा नेपालबाट भिजिट नेपाल वर्ष अभियानको बहानामा सिड्नी पुगेका घुमन्तेहरू मन्त्री योगेश भट्टराईको नेतृत्वमा सिड्नीको मुख्य बजार क्षेत्रमा प्रचार अभियान थाल्ने कोशिशमा थिए।

यत्तिकैमा स्थानीय मानिसहरूले ‘तिमीहरू फर्की हाल, हामी अहिले कतै घुम्न जाने अवस्थामा छैनौँ, यस्तो कुरा तिमीहरूले बुझ्नु पर्ने हो’ भनेर विरोध गरे पछि त्यो अभियानको अन्त्य गरेर सो टोली अन्यत्र मुलुकतर्फ सोझिएको थियो। तर पनि उनिहरूको मूल उद्देश्य घुम्ने र भत्ता खाने भएकोले उनलाई रत्तिभर लाज नलागेको कुरा पछि काठमाडौंमा फर्केर दिएका अभिव्यक्तिबाट थाहा लागिरहेको थियो।

क्रिसमसदेखि नयाँ वर्ष पछिका केही दिनसम्म सार्वजनिक बिदा भएपनि यी चाडको तयारीमा जुट्ने मानिसहरू भने व्यस्त नै थिए। मेरा कैयन् साथिहरू जो बेकरीमा काम गर्दथे, उनीहरूलाई केक, बेकरी र अंग्रेजी मिठाई बनाउन हम्मे हम्मे परिरहेको थियो। त्यस्तै रेष्टुरेन्ट र दोकानहरूमा काम गर्ने नेपालीहरू पनि निकै व्यस्त देखिन्थे।

केही दिनको तयारी पछि सिड्नीमा पनि मेरो पुस्तकको सार्वजनिकीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। त्यहाँका नेपाली डायस्पोरा र विद्यार्थीहरूको उपस्थितिमा सो कार्यक्रमको आयोजना भयो।

त्यो दिन नयाँ वर्षको अघिल्लो दिन भएकोले न्यूयर्स इभ मनाउन नेपाली र सबै सिड्नीवासी आतुर थिए। रेष्टुरेन्टहरूमा सो दिन र भोलिपल्ट आउने ग्राहकलाई आकर्षण गर्न विभिन्न प्रकारका तयारी भएका थिए भने मदिराका भव्य दोकान र सबैजसा ग्रोसरी डिपार्टमेन्ट स्टोर र मलहरू खचाखच थिए।

सिड्नीमा नयाँ वर्षको थालनी हुने रात आयोजना हुने आतिसवाजी हेर्न ठूलो भीड लाग्दो रहेछ। त्यहाँका स्थानीय बासिन्दाहरू मात्र नभइ विश्वभरबाट त्यहाँ पर्यटकहरू त्यतिबेला आउँदा रहेछन्। तर त्यो वर्ष ठूलो डढेलोले गर्दा निकै धनजनको क्षति भएको र अझै पनि डढेलो लागी नै रहेकोले त्यो पल्ट आतिसबाजी नगर्ने कि भन्ने वहस पनि भएको रहेछ। तर आखिर हरेक वर्ष चलिरहेको चलन नरोक्ने पक्षमा पुगेछन् सम्बन्धित अधिकारीहरू।

त्यहाँको प्रख्यात सिड्नी हार्बर ब्रिज र ओपेरा हल भएको ठाउँमा हुने विशाल आतिसवाजी हेर्न आउने भीडले खचाखच हुने भएकोले मानिसहरू टाढा टाढाका ससाना पहाड र अग्ला ठाउँबाट पनि हेर्दा रहेछन्।

हामी पनि केही बेर शहरको मुख्य क्षेत्रबाट आतिसबाजीको आनन्द लिएर पछि निकै टाढाको एक अग्लो ठाउँमा अवस्थित बस्तीबाट हेर्न थाल्यौँ। त्यो रात पनि निकै अबेलासम्म ठूलो परिमाणमा मद्यपान गरियो र नाचगान पनि गरियो। ज्यादै रमाइलो भयो। तर भोलिपल्ट बिहान सबेरै सिड्नी विमानस्थल पुगेर ८ बजेको अकल्याण्डको विमानमा यात्रा गर्नु पर्ने कुरा पनि त्यतिकै महत्वपूर्ण थियो। त्यसैले रमाइलो हुँदा हुँदै पनि सुत्न जानु परेको थियो।

भेलिपल्ट बिहान सबेरै उठेर सामान प्याक गरे पछि साथिले हल्का नास्ता र कफी खुवायो। अनि हामी हिजोको नशाले दिमाग घुमाइ रहे पनि विमानस्थल पुग्यौँ। साथीसँग बिदा मागेर भित्र पसेँ। नयाँ वर्षको थालनी भएकोले त्यहाँका सबै कर्मचारी पनि निकै खुशी र उल्लासमा थिए। सबैले निकै हँसिलो पाराले नयाँ वर्षको शुभकामना साँटासाँट गरिरहेका।

क्वान्टास विमानसेवाको न्यूजिल्याण्डको ठूलो शहर जाने विमानमा प्रवेश गर्दा पनि परिचारिकाहरूले नयाँ वर्षको शुभकामना दिए सबै यात्रुहरूलाई। त्यसैगरी मुख्य चालकले पनि शुभकामना दिँदै यो वर्षको उनको र हाम्रो यो पहिलो यात्रा सफल होस् र वर्ष भरी यसरी नै यात्रा गरिरहने योग मिलोस् भनेर शुभकामना दिए।

चार घण्टाको सो यात्रामा नयाँ वर्षको दिन भएकैले नियमित खाना वाहेक निकै पटक ससाना केक, चकलेट र ससाना उपहारहरू बाँडिरहे। अकल्याण्ड पुगेपछि मेरा दाज्यै, जसको सो दिन जन्मदिन परेको थियो, मलाई लिन भाउजुको साथमा विमानस्थलमा आएका रहेछन्।

उनलाई जन्मदिनको शुभकामना दिँदै गला मिले पछि हामी घर जानुभन्दा पहिले घर नजिकको बजारमा पसेर जन्मदिनको केक, विभिन्न थरीका मिष्ठान्न आदि किन्यौँ र शहरको उज्यालो र मलहरूको चहलपहल हे¥यौँ। जन्मदिनको बहानामा बुत्याउने निकै महँगो मदिरा त मैले बाहिर निस्कनु भन्दा पहिले अकल्याण्ड विमानस्थलमा नै किनेको थिएँ।

अकल्याण्ड विमानस्थल र अकल्याण्डको बजार सिड्नीको दाँजोमा सानै भएको भए पनि त्यहाँ नयाँ वर्षको निकै चहल पहल थियो। आखिर नयाँ वर्षको थालनी न्यूजिल्याण्डमा भएर अष्ट्रेलिया हुँदै जापान, चीन, भारत, मध्यपूर्व, युरोप र अन्तमा अमेरिकी मुलुकमा पुगेर टुङ्गिन्छ।

सकारात्मक सोच राख्ने मानिसहरूले हर दिनको शुरुवातलाई नयाँ र ताजा दिनको रूपमा स्वागत गर्दछन् भने प्रत्येक वर्षको शुरुको दिनमा गत वर्षको समीक्षाका साथै नयाँ साल सफल रहोस् भन्ने कामनाका साथ नयाँ वर्षको संकल्प (रिजोल्युसन) पनि बनाउँछन्। तर निकै कम संकल्प मात्र लागू हुने गर्दछन्।

प्रत्येक हप्ता विभिन्न विषयमा लेख लेख्ने, स्वास्थ्यको विशेष ख्याल राख्ने, नरिसाउने, चिन्ता नगर्ने, सकारात्मक सोचको विकास गर्ने, गीत-संगीतको साधनामा लाग्ने, घुमफिर गर्ने आदि जस्ता केही संकल्प मैले पनि तयार गरेँ। कतिपय आजसम्म पनि लागु भइरहेका छन् भने कतिलाई पुनः संकल्प गरेर व्यवहारमा उतार्नु पर्नेछ।

लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.