शीतलहरको बीचमा पेडाको स्वाद
लुम्बिनीको त्यो सिरेटोलाई चटक्कै बिसाइदिने तौलिहवाको स्वादिलो पेँडाको संस्मरणलाई एउटा कलात्मक नियात्राको स्वरूपमा आजको बसाइ प्रारम्भ गर्दैछु।
तौलिहवाको सिरेटो आफैँमा हिमाली हावा जत्तिकै चिसो थियो। त्यसमाथि शीतलहरको प्रकोपले बाटोका छेउछाउँमा घुर तापेर न्यानो हुन खोज्नेहरू निकै भेटिन्थे।
यद्यपि यिनलाई पैतालाले किल्चिँदै कामधाममा हिँड्ने हिँडिरहेकै थिए। कोही इनारतिर पानी लिन, कोही गाडामा पराल राख्दै, कोही परालका माचबाट पराल झारिरहेका थिए। टाट्नामा बाँधिएका बाख्रा सुकेका घाँस चपाइरहेका थिए। तिनका पाठापाठी यताउता बुरुक्क-बुरुक्क उफ्रिदै नाचिरहेका थिए।
थरुनीहरू जाडो मानिरहेका, रोइरहेका आफ्ना बालबच्चालाई ‘तिमेरुका जाडो यी बाख्राले खाइरहेका छन्’ भन्दै फकाउँदै आफू मेलापाततिर हतारिएर हिँडिरहेका भेटिन्थे। थारुहरू भने चियापसलमा चिया पिउँदै गफमा मस्त। घुर तापेर आनन्दले अलमस्त थिए।
टायलका छानाबाट तप्तप शीतका थोपा झरिरहेका थिए। भुईमा सेताम्मे शीतलहरको छाप हिमपात जस्तै देखिन्थ्यो। बिरलै बयलगाडाले पराल, बालबच्चा र अन्य सामान बोकेर गन्तव्यतिर गइरहेको हुन्थ्यो। मानिसको चहलपहल लगभग शून्य जस्तै नै चलायमान थिएन।
तर केही परको तौलिहवा बजारमा घुर ताप्ने, चिया पिउने र तीन पुस्ते पेँडाको मिठासमा अघाउँजी भइरहेका जमात निकै देखिन्थे। एकाबिहानैदेखिको यस्तो चहलपहल देख्दा मैले सोचेँ- ‘यहाँका मान्छे नसुतिकनै यसरी घुर ताप्दै, गफिँदै, पेँडा खाँदै दिन बिताउँछन् कि क्या हो ?’
मलाई लागिरह्यो- तराईको बिहानी केवल बिहानी थिएन, त्यो त एउटा सेतो पर्दाभित्र लुकेको रहस्यमयी संसारजस्तो थियो। ठिही यसरी चुलिएको थियो कि लाग्थ्यो, मुटुको धड्कन पनि कतै जम्न खोज्दैछ। म र ओछ्यानको तातोबीच ठूलै युद्ध चलिरहेको थियो। त्यही बेला अर्जुन बन्जराले मेरो तन्द्रा भङ्ग गर्दै भन्नुभयो- ‘सर, विक्रममणिजीले भन्नुभएको त्यो पेँडा सम्झनुभयो नि ? चिसोलाई तौलिहवाको पेँडाले मात्रै जित्न सक्छ !’
यहाँका स्थानीय विक्रममणि त्रिपाठी- अवधी कला र संस्कृतिका जिउँदा इतिहास। उहाँले अघिल्लो साँझ नै हाम्रो कानमा मिठास भरिदिनुभएको थियो, ‘तौलिहवाको पेँडा नचाखी त यहाँको यात्रा अपुरो हुन्छ है सर !’
‘हुन त हो, तर यो शीतलहर…!’ मैले आधा अनुहार सिरकभित्रै लुकाएर अर्जुनजीको प्रतिवाद गर्ने प्रयास गरेँ।
‘अरे सर ! त्यो पेँडाको मिठासले त मन नै तताइदिन्छ।’ अर्जुनजीको उत्साहले मलाई ओछ्यानबाट बाहिर निकालिदियो।
मैले ओछ्यानभित्र गुटुमुटु अवस्थामै बरमझियाको मीठो पेँडाको स्वाद सम्झिएँ। त्यो पेँडा कति दिनदेखिको बासी त धेरै स्वादिष्ट थियो भने यहाँको ताजा र तातो पेँडा झन् कति मीठो होला भनी सोच्दै घुटुक्क थुक निलेँ।
कुहिरोभित्रको तौलिहवा कतै चिसोको घट्दो तामक्रममा चिसिएर हुस्सुभित्रै लुकिरहेको थियो।
हामी बाहिर निस्कियौँ। लुम्बिनी र कपिलवस्तुलाई शीतलहरले आफ्नो काखमा बेरेको थियो। हातका मुट्ठीहरू कसेर खल्तीमा घुसाउनुको विकल्प थिएन। तर बजारको दृश्य अर्कै थियो। मानिसहरूका अनुहारमा चिसोको त्रास होइन, एउटा आत्मीय सक्रियता देखिन्थ्यो। गफगाफ, हाँसो, ठट्टा !
बाटोको छेउमा एउटा सानो ‘घुर’ (भूस र परालको आगो) बलिरहेको थियो। वरिपरि झुम्मिएका केही स्थानीयहरू गफिँदै थिए। एक वृद्धले आफ्नो टोपी कानसम्म तान्दै भन्नुभयो- ‘का हो भाइ ! यतने जाड़मा कहाँ निकलल हौ ?’ (के हो भाइ ! यस्तो जाडोमा कहाँ निस्किएको ?)
मैले मुस्कुराउँदै सोधेँ- ‘पेडा पसल कता पर्छ बुवा ?’
उहाँको अनुहारमा एउटा गर्विलो चमक देखियो। भन्नुभयो- ‘सिधै जाउ, जहाँ मान्छेको भीड छ, सम्झनुस् त्यहीँ अमृत पाकिरहेको छ।’
नभन्दै अर्जुनजी र म तीन पुस्ते स्वादको आँगनमा टुप्लुक्क पुगिसकेका रहेछौँ। हामी त्यो पुरानो पसलको दैलोमै पुग्यौँ। पसलको हुलिया हेर्दा लाग्थ्यो, यसले धेरै वटा पुस्ता र धेरै वटा शीतलहरहरू झेलिसकेको छ। कराहीमा दूध भक्भकी उम्लिरहेको त्यो मन्द आवाज र हावामा तैरिएको खुवाको सुगन्धले नै मेरो भोक ब्युँझाइदियो।
पसले दाजुले चिसोले रातो भएका आफ्ना हातहरूलाई कप्टेरोले चलाउँदै भन्नुभयो- ‘सर, यो पेँडा मात्र होइन, तौलिहवाको पहिचान हो। हजुरबाले सुरु गर्नुभएको, आज म सम्हाल्दैछु।’
तातो-तातो पेँडाको एउटा चक्की मुखमा राख्ने बित्तिकै एउटा आस्वादनको अद्भुत अनुभूति मेरो मनभरि रक्तप्रवाहसँगै सञ्चारित भयो। यो स्वाद चिनी र खुवाको मिश्रण थिएन, त्यसमा त कपिलवस्तुको माटोको सुगन्ध र अवधी प्रेमको चास्नी पनि घोलिएको थियो। जुन मुखमा राख्नासाथ अमृत समान स्वाद र सन्तुष्टिको शुभारम्भ थियो।
हाम्रो संवादको एउटा अंश यसरी शीतलहरको मुटु कमाउने जाडोलाई बिर्सिएर अगाडि बढ्योः
मः ‘यो स्वाद त साँच्चै बेजोड रहेछ ! यस्तो मिठास कसरी आउँछ ?’
पसलेः ‘सर, यहाँ मेसिन चल्दैन। यहाँ त मन र मेहेनत चल्छ। यो दूधको शुद्धता र हाम्रो पुर्खाको आशीर्वाद हो।’
अर्जुनजीः ‘हेर्नुस् त सर, अघि चिसोले कामेका हातहरू अहिले कस्ता स्थिर भएका ! यो पेँडाको शक्ति हो कि तौलिहवाको माया ?’
एक अविस्मरणीय अनुभूति मैले मनमा सँगालेर राखेँ। मैले त यहाँ एकाबिहानैको सन्नाटामा चिसोले चिल्नुबाहेक अर्थोक के नै होला र भन्ठानेको थिएँ। तर ओछ्यानबाट जुरुक्क उठेर बजार निस्किँदा त साँच्चै अचम्मकै अनुभूति बटुल्न पाइयो मेरो मन खुसीले रमायो।
त्यो शीतलहरमा पनि मानिसहरूको भीडामभीड कम थिएन। कसैले स्टिलको गिलासमा तातो चिया पिउँदै पेँडा चपाउँदै थिए भने कसैले छिमेकीसँग खेतीपातीको कुरा गर्दै थिए। बाहिर कुहिरो अझै बाक्लो हुँदै थियो, तर तौलिहवाको त्यो चोकमा मान्छेका अनुहारहरूमा एउटा न्यानो सन्तुष्टि थियो। आत्मीयताको आभास छताछुल्ल देखिन्थ्यो। शीतलहरमाथि मित्र-मिजासको लहर लहरिँदै तैरिरहेको थियो।
वास्तवमा शीतलहरलाई ‘लात’ हानेर हामी निस्किएका थियौँ। र, फर्किँदा हाम्रो खल्तीमा मात्र होइन, मनमा पनि तौलिहवाको त्यो तीनपुस्ते पेँडाको न्यानो मिठास भरिएको थियो। यसरी विक्रममणिजीको त्यो सल्लाह र अर्जुनजीको ताकेताले एउटा चिसो बिहानीलाई जीवनकै सबैभन्दा स्वादिलो यात्रामा बदलिदियो।
शीतलहरको बिचमा पेँडाको स्वाद आफैँमा अविस्मरणीय पल भयो। लुम्बिनीको शीतलहरले मुटु नै कम्पायमान बनाएको थियो। चिसोले हड्डी नै जमेजस्तो लागिरहेको थियो। यस्तो बेला घरभित्र बसेर चिया पिउँदै किताब पढ्नुको विकल्प हुँदैन।
विक्रममणि त्रिपाठीले तौलीहवाको पेँडा चाख्न बजार डुल्नुपर्छ भन्ने सुझाव नदिएका भए हामीले यस्तो स्वाद र यस्तो दृश्यलाई फेरि यहाँ कहिले आएर चाख्न र देख्न पाउने थियौँ र ? अर्जुन बन्जराले पनि यही कुरा दोहोर्याएपछि मेरो मनमा पेँडाको मिठो स्वादको झझल्को आउनुसँगै ती सबै क्षण बिहानको चिसोमै अनुभूति ग्रहण पायौँ।
शीतलहरलाई बेवास्ता गर्दै हामी दुई जना बजारतिर लागेका थियौँ। बाटोमा हिँड्दा चिसोले हात खुट्टा नै कामेको थियो। शीतलहरलाई लात हानेर स्थानीय मानिसहरू घुर ताप्दै, चिया पिउँदै र पसलमा भिडभाड गरिरहेका थिए।
अन्ततः हामी सोध्दै-खोज्दै, ठाउँ-ठाउँमा घुर ताप्दै, हात तताउँदै तौलीहवाको पेडा पसलमा पुगेका थियौँ। पसलमा पेँडाका थुप्रै प्रकार थिए। हामीले विभिन्न स्वादका पेँडा किनेर चाख्यौँ। पेँडाको मिठासले चिसोले कामेको मेरो मनमा न्यानोपन ल्याइदियो। पेँडा चाख्दै हामीले स्थानीयबासीसँग कुराकानी गर्यौँ। उनीहरूले पेडा बनाउने तरिका र यसको इतिहासबारे बताए।
तौलीहवाको पेँडाको स्वादसँगै यहाँको संस्कृति र रहनसहनको पनि अनुभव गर्न पाउँदा मलाई निकै खुसी लाग्यो। शीतलहरको चिसोलाई बिर्सिएर म पेँडाको मिठासमा रमाउन थालेँ। यो यात्राबाट मैले सिकेको कुरा के हो भने, कहिलेकाहीँ सानोतिनो कुरामा पनि ठूलो खुसी पाउन सकिँदोरहेछ।
















Facebook Comment