कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।
ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।
पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचना समेत भएको छ ।
कोलम्बिया लामो समयदेखि लागूऔषध नियन्त्रण, क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यका क्षेत्रमा अमेरिकाको नजिकको साझेदार रहँदै आएको छ । यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले देखाएको ‘आक्रामकता’ विरुद्ध ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन्। पेट्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै दक्षिण अमेरिकी राजधानीमाथि बमबारी गर्ने विश्वको पहिलो देश अमेरिका भएको दाबी गरे।
‘यो घाउ लामो समयसम्म रहनेछ । बदला होइन, एकता नै आवश्यक छ,’ उनले उल्लेख गरेका छन् । साथै उनले ल्याटिन अमेरिका एकताबद्ध नभए दासझैँ व्यवहार गरिने चेतावनी दिँदै क्षेत्रीय सहकार्य मजबुत बनाउन आग्रह गरेका छन्।
यसैबीच, ट्रम्पले अर्को ल्याटिन अमेरिकी देश क्यूबालाई पनि निशाना बनाएका छन् । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले क्यूबा आर्थिक रूपमा पतनको संघारमा रहेको र भेनेजुएलाबाट प्राप्त तेलमा निर्भर रहेकाले त्यहाँ कुनै सैन्य कारबाही आवश्यक नपर्ने दाबी गरे ।
ट्रम्पको लगातारको कडा अभिव्यक्तिले ल्याटिन अमेरिकासँग अमेरिकाको सम्बन्धको भावी दिशा र कूटनीतिक भाषाशैलीबारे गम्भीर प्रश्न उठाएको छ। एएनआई







डिसी नेपाल








Facebook Comment