शुद्ध सोच, सार्वजनिक आचरण र सभ्य समाजको पुनर्निर्माण
सभ्यताको वास्तविक आधार मानवको सोच, आचरण र नैतिक चेतनामा हुन्छ। आजको समाज तीव्र परिवर्तन, प्रतिस्पर्धा र उपभोक्तावादको चापमा शारीरिक रूपमा उन्नत देखिए पनि मानसिक र नैतिक रूपमा अन्योलग्रस्त छ। यस्तो समयमा शुद्ध सोच, जिम्मेवार सार्वजनिक आचरण र सभ्य मूल्यहरूको पुनर्निर्माण अपरिहार्य आवश्यकता बनेको छ।
शुद्ध सोच विवेक, सत्यनिष्ठा र करुणाबाट निर्देशित चेतना हो। जब व्यक्तिको सोच स्वार्थ, घृणा र पूर्वाग्रहबाट मुक्त हुन्छ, तब उसले अरूलाई साधन होइन, सहअस्तित्वको साझेदारका रूपमा देख्छ। यस्तो सोचले नै सार्वजनिक जीवनमा निष्पक्ष निर्णय, सहिष्णु व्यवहार र दीर्घकालीन दृष्टि जन्माउँछ। समाजको पतन विचारबाट सुरु हुन्छ; त्यसैले पुनर्निर्माण पनि सोचकै शुद्धताबाट सुरु हुनुपर्छ।
सार्वजनिक आचरण शुद्ध सोचको प्रत्यक्ष अभिव्यक्ति हो। नागरिकको बोलचाल, व्यवहार, नियमपालन र जिम्मेवारीबोधले सभ्य समाजको स्तर निर्धारण गर्छ। जब सार्वजनिक स्थलमा अनुशासन कमजोर हुन्छ, संस्थागत नियमलाई हल्का लिइन्छ र व्यक्तिगत स्वार्थलाई सार्वजनिक हितभन्दा माथि राखिन्छ, तब समाज असभ्य बन्छ। यसको विपरीत, समयपालन, पारदर्शिता, उत्तरदायित्व र सम्मानजन्य संवादले सार्वजनिक जीवनलाई विश्वसनीय र मर्यादित बनाउँछ।
सभ्य समाजको पुनर्निर्माण व्यक्तिगत प्रयासमा सीमित रहँदैन; यसका लागि सामूहिक संकल्प आवश्यक हुन्छ। परिवारले मूल्य सिकाउँछ, विद्यालयले चरित्र, मिडियाले चेतना निर्माण गर्छ र राज्यले नीति तथा उदाहरण प्रस्तुत गर्छ। यी सबै तहमा शुद्ध सोच र जिम्मेवार आचरणलाई प्राथमिकता दिइएन भने कानुन र प्रविधिले मात्र सभ्यता जोगाउन सक्दैन।
आज प्रविधिले मानिसलाई जोडेको छ, तर संवेदना घटाएको छ। यस्तो अवस्थामा सार्वजनिक विमर्शमा मर्यादा, असहमतिको सम्मान र सत्यप्रतिको प्रतिबद्धता झनै आवश्यक छ। सभ्य समाज त्यही हो जहाँ शक्ति प्रदर्शनभन्दा तर्क बलियो हुन्छ, र विजयभन्दा न्याय महत्वपूर्ण मानिन्छ।
सभ्य समाजको पुनर्निर्माण निरन्तर अभ्यास हो। शुद्ध सोचले दिशा दिन्छ, सार्वजनिक आचरणले त्यस दिशालाई जीवन्त बनाउँछ। यी दुवैको समन्वयबाट मात्र आजको समाजले विश्वास, शान्ति र सहअस्तित्वमा आधारित सभ्यताको नयाँ अध्याय लेख्न सक्छ।
आजको समाज तीव्र प्रविधिक विकास, आर्थिक प्रतिस्पर्धा र सामाजिक विविधताबीच संघर्षरत अवस्थामा छ। यस्तो संक्रमणकालीन समयमा समाजलाई स्थायित्व, नैतिकता र दिगोपनतर्फ उन्मुख गराउन शुद्ध विचार, सत्कर्म र सभ्यता अनिवार्य आवश्यकता बनिसकेको छ।
विचार नै व्यवहारको स्रोत हो र विचारमा यदि लोभ, अहंकार, हिंसा वा स्वार्थ हुन्छ भने त्यो व्यक्ति वा समाजले असन्तुलन, अन्याय र विघटनतर्फ लैजान्छ।उदाहरणस्वरूप, भ्रष्टाचार, लाचार नेतृत्व, सामाजिक विभाजनजस्ता समस्याहरू विचारको पतन र कर्मको विकृत स्वरूपकै उपज हुन्।
यदि शिक्षाले नैतिकता सँगै विचार शुद्ध गर्न सकेन भने ज्ञान स्वयं विनाशकारी बन्न सक्छ। त्यसैले शिक्षाले मानवमा विवेक र उत्तरदायित्व जागृत गराउनुपर्छ। त्यस्तै, केवल उपदेश वा योजना बनाउनु पर्याप्त छैन; ती योजनाहरूलाई सत्यनिष्ठा र समर्पणसाथ कार्यान्वयन गर्नु आवश्यक छ – जुन सत्कर्म हो।
सभ्यता अनुशासन, सम्मान र सहिष्णुताको व्यवहारिक रूप हो। आज जब सामाजिक संजाल, भौतिकवाद र व्यक्तिगत महत्वाकांक्षाले सम्बन्धहरू बिगारिरहेका छन्, सभ्य व्यवहारले नै समाजलाई सन्तुलनमा ल्याउन सक्छ। अतः शुद्ध विचार, सत्कर्म र सभ्य व्यवहारका त्रिकोणीय आधारहरूमा टेकेर मात्र हामी न्यायपूर्ण, समावेशी र दिगो समाज निर्माण गर्न सक्छौं। यही आजको समयको वास्तविक खाँचो हो।
समाजको समुन्नतिको मूल आधार व्यक्तिको कर्म र विचार हुनुपर्दछ। तर विडम्बनापूर्ण रूपमा आज पनि हाम्रो समाजमा जात, थर र जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ। यस्तो सोचले प्रतिभाहरूलाई दबाउँछ सामाजिक अन्याय र विभाजनलाई बढावा दिन्छ।
कसैको जन्म कुन जात, वर्ग वा थरमा भयो भन्ने कुरा उसको नियन्त्रणबाहिरको हो, तर उसले गर्ने सोच, कर्म र योगदान भने उसको पूर्ण जिम्मेवारी हो। समाजमा सम्मान योग्य व्यक्ति त्यो हो, जसले सत्य, न्याय र सेवाभावको पक्ष लिन्छ। यदि हामीले मूल्यांकनका मापदण्डरूपमा कर्मशीलता, नैतिकता र विवेकलाई राख्न सकेँ भने मात्र समावेशी र न्यायपूर्ण समाज सम्भव हुन्छ।
आज पनि हाम्रो समाजमा मानिसको मूल्यांकन जात वा थरको आधारमा हुने चलन कायम छ। यस्तो सोचले गरीबी, विभाजन, र सामाजिक अन्यायलाई अझ गहिरो बनाउँछ। जबकि योगदान, सोच र कर्ममा आधारित मूल्यांकनले नै समाजलाई अघि बढाउन सक्छ।
इतिहासले मदर टेरेसा, बुद्ध वा आम्बेडकरलाई सम्झिएको छ, जातका कारण होइन, मानवता र योगदानका कारण।जातपातमा आधारित समाजले न त प्रतिभालाई चिन्छ, न त नविन सोचलाई ठाउँ दिन्छ।
यस्तो व्यवस्था अमानवीय मात्रै होइन, राष्ट्रको समुन्नतिको पनि बाधक हो। समता मूलक समाजमा सबै नागरिकले शिक्षा, स्वास्थ्य र न्यायमा समान पहुँच पाउँछन् र आफ्नो क्षमता अनुसार योगदान गर्न स्वतन्त्र हुन्छन्।
विचारशून्यता र निष्क्रियता समाजको प्रगतिको मुख्य बाधक हुन्। जब नागरिकहरू विचारहीन बन्छन्, तब उनीहरू सही र गलत छुट्याउने विवेक गुमाउँछन्, र निष्क्रियता उनीहरूलाई सामाजिक परिवर्तनको सट्टा स्थिति स्वीकार गर्न बाध्य बनाउँछ।
यस्तो समाजमा अन्याय, भ्रष्टाचार र विभेद मौलाउँछ, किनकि प्रतिवाद गर्ने चेत र शक्ति हराउँछ।तर, यसको विकल्प हो-कर्मप्रधान समाज, जहाँ प्रत्येक व्यक्ति आफ्नो उत्तरदायित्व बुझेको, विवेकशील र क्रियाशील हुन्छ। कर्मप्रधान समाजमा सोच-विचारले दिशा दिन्छ र कर्मले त्यसलाई व्यवहारमा उतार्छ।
यस्तो समाजमा न त अन्याय मौलाउँछ, न त असमानता। प्रत्येक नागरिकले आफ्नो सानो योगदानबाट पनि ठूलो परिवर्तन सम्भव बनाउँछ।जस्तै, जब शिक्षित युवाहरू समाजको समस्यामा संलग्न हुन्छन्, वा कुनै आम नागरिकले सत्यका पक्षमा उभिएर असत्यको विरोध गर्छ, तब त्यस्ता कर्महरूले ठूलो सामाजिक प्रभाव पार्न सक्छ।
विचारशील कर्महरू नै समाजमा न्याय, समानता र समृद्धिको आधार बनाउँछन्।त्यसैले, अब समय आएको छ-हामी निष्क्रियता त्यागेर विचारसाथ कर्म गर्ने संस्कार अपनाऔँ। समाजलाई रूपान्तरण गर्न नाराभन्दा पनि चेतनायुक्त कर्म आवश्यक छ। यही हो सशक्त, प्रगतिशील र न्यायपूर्ण समाज निर्माणको मूल बाटो।
कर्मशील नागरिकहरू समाजको मेरुदण्ड हुन्। उनीहरूले आफ्नो श्रम, समय र चेतनाबाट समाजमा अनुशासन, सहयोग र समृद्धि ल्याउँछन्। जब समाजले यिनै व्यक्तिलाई जात होइन, योगदानका आधारमा मूल्यांकन गर्छ, तब मात्र समावेशी समाजको जग बस्छ।समाजमा परिवर्तन ल्याउन शिक्षा, प्रशासन, नीति र सामाजिक व्यवहारमा समावेशी मूल्यहरू आत्मसात् गर्नुपर्छ। अब समय आएको छ-जन्मको होइन, कर्म, सोच र योगदानको आधारमा मूल्यांकन गर्ने प्रणालीलाई आत्मसात् गर्ने।
नेपालजस्तो विकासोन्मुख देशका लागि अब नाराबाट कामतिर उन्मुख हुने समय आएको छ। केवल बोलेर परिवर्तन सम्भव हुँदैन-त्यसका लागि गहिरो चिन्तन र ठोस कर्म आवश्यक छ। आज समाजमा भाषण, घोषणा, योजना र आश्वासन प्रशस्त छन्, तर तिनको कार्यान्वयन न्यून छ। यस्तो प्रवृत्तिले जनताको विश्वास खस्कन्छ, संस्थाप्रति निराशा बढ्छ, र समाज निष्क्रिय बन्छ।
“बोल्ने” समाज भावना मात्र उमार्छ, तर “गर्ने” समाजले परिवर्तनको जग बसाल्छ। जब विचारशील नागरिकहरूले आफ्नो कर्तव्य बुझेका हुन्छन् र आ-आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान दिन्छन्, तब राष्ट्र मजबुत बन्छ। शिक्षक शिक्षालाई सेवा ठान्छन्, कर्मचारी जनताको सेवामा समर्पित हुन्छन्, राजनीतिज्ञ देशका लागि सोच्दछन्त्यो- नै कर्मप्रधान समाज हो।
प्रविधि, विज्ञान, न्याय, शिक्षा, कृषि वा स्वास्थ्य-कुनै पनि क्षेत्रको उन्नति निष्कपट कर्मबाट सम्भव हुन्छ। चिन्तनले दिशा दिन्छ, र कर्मले त्यो यात्रालाई गति दिन्छ। त्यसैले अब नारा होइन, निष्क्रियता होइन-चिन्तनयुक्त कर्म आवश्यक छ।जब जनतामा कर्मको संस्कार बस्छ, नेतृत्वमा उत्तरदायित्व हुन्छ, र समाजमा योगदानको सम्मान हुन्छ। यही हो समृद्ध राष्ट्रको मूल बाटो-बोल्ने होइन, गर्ने समाज।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।)
















Facebook Comment