टी-२० विश्वकपमा एउटा पनि खेल नखेल्दै नेपाललाई २ अंक !
काठमाडौं । आगामी पुरुष टी–२० विश्वकपमा भाग लिन भारत यात्रा नगर्ने बंगलादेश क्रिकेट बोर्डको निर्णयले नेपालले एक खेल नखेल्दै २ अंक प्राप्त गर्न सक्ने देखिएको छ । आफ्नो खेल भारतबाहिर श्रीलंकामा सार्न बंगलादेश क्रिकेट बोर्डले आइसीसीलाई आग्रह गरेको भए पनि आइसीसीले बीसीबीको आग्रह अस्वीकार गरेको छ ।
आइसीसीले बंगलादेशको आग्रह अस्वीकार गरेसँगै अब बंगलादेशका खेलहरू श्रीलंकामा सारिने छैनन् । बंगलादेशले भारतमा नखेल्ने निर्णय गरिसकेको छ । यस्तोमा अब बंगलादेश भारतको अगाडि झुक्ने र भारतमै आएर खेल्ने वा खेल्दै नखेल्ने २ विकल्प बाँकी छन् । बंगलादेश झुकेमा नेपालले बंगलादेशसँग मुम्बइको वानखेडे स्टेडियममा खेल्नेछ ।
तर, बंगलादेशले आफ्नो देशको आत्मसम्मानसँग सम्झौता नगर्ने अडान लिएर भारतमा खेल्न अस्वीकार गरेमा नेपाल र बंगलादेशको खेल हुने छैन । आइसीसीले बंगलादेशले आफ्नो खेल नखेलेमा अंक गुमाउने स्पष्ट पारिसकेको छ । त्यसैले बंगलादेश खेल्न नआएमा त्यो खेल जिते बराबरको २ अंक नेपालले पाउनेछ । एउटा टिमले खेल्न अस्वीकार गर्दा अर्को टिमले जिते बराबर अंक पाउने अभ्यास यसअघि पनि विश्वकपमा भइसकेको छ । यसलाई आधिकारिक भाषामा वाकओभर भनिन्छ ।
मंगलबार भएको आइसीसी–बीसीबी भर्चुअल बैठकमा आइसीसीले बीसीबीलाई बंगलादेशका खेलहरू भारतबाहिर सार्ने अनुरोध अस्वीकार गरेको जनाएको छ। आइसीसीले बीसीबीलाई बंगलादेशले भारतमै खेल्नुपर्ने वा अंक गुमाउने जोखिम उठाउनुपर्ने चेतावनी दिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ।
बीसीबीले भने आफूहरूले त्यस्तो कुनै अल्टिमेटम प्राप्त नगरेको दाबी गरेको छ। मंगलबारको बैठकको परिणामबारे बीसीसीआइ वा बीसीबी दुवैले आधिकारिक सूचना जारी गरेका छैनन्। बीसीबीले आइतबार पत्र लेखी बंगलादेशका खेलहरू भारतबाहिर सार्ने विषयमा “विचार गर्न” अनुरोध गरेपछि यो बैठक आइसीसीले आयोजना गरेको हो ।
यो घटनाक्रम भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने २० टोली सहभागी विश्वकप सुरु हुनुभन्दा करिब एक महिना अघि आएको हो। समूह ‘सी’ मा रहेको बंगलादेशले आफ्नो पहिलो तीन खेल कोलकातामा खेल्ने तालिका छ: फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्ध, फेब्रुअरी ९ मा इटालीविरुद्ध र फेब्रुअरी १४ मा इंग्ल्यान्डविरुद्ध। अन्तिम समूह खेल नेपालविरुद्ध फेब्रुअरी १७ मा मुम्बईमा हुनेछ।
बीसीबीले आइसीसीलाई पत्र लेख्ने निर्णय बीसीसीआइले कोलकाता नाइट राइडर्सलाई बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न “निर्देश” दिएपछि आएको हो। मुस्ताफिजुरलाई डिसेम्बरमा भएको आइपीएल लिलामीमा ९.२ करोड भारतीय रुपैयाँमा फ्रेन्चाइजले खरिद गरेको थियो।
बीसीसीआइको निर्णयबारे सञ्चारमाध्यमलाई यसका सचिव देवजीत सैकियाले जानकारी गराएका थिए। तर उनले केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिनुको कारण खुलाएका थिएनन्। २०२६ को लिलामीमा खरिद भएका एकमात्र बंगलादेशी खेलाडी मुस्ताफिजुर थिए।
बुझिएअनुसार आइपीएल गभर्निङ काउन्सिलले यस विषयमा कुनै बैठक गरेको थिएन। त्यसैले सैकिया बाहेक मुस्ताफिजुर सम्बन्धी निर्णयमा को–को संलग्न थिए भन्ने प्रश्न अझै बाँकी छ।







डिसी नेपाल








Facebook Comment