बंगलादेशलाई फकाउन मुस्तफिजुरलाई आइपीएलमा फर्काउने भारतको प्रस्ताव अस्वीकृत

डिसी नेपाल
२४ पुष २०८२ १५:२७
4.3k
Shares

काठमाडौं । मुस्तफिजुर रहमानलाई आइपीएलबाट निकाल्ने भारतको क्रिकेट बोर्डको निर्णयविरुद्ध बंगलादेशको दृढ अडानपछि भारत र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ब्याकफुटमा पुगेका छन् । बंगलादेशले भारतमा टी-२० विश्वकप खेल्न अस्वीकार गरेको छ ।

बंगलादेशले भारत आउन नमानेपछि उसलाई फकाउन भारतीय अधिकारीहरूले बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई पुनः आइपीएलमा फर्काउने प्रस्ताव गरेका थिए। उनीहरूले मुस्तफिजुरलाई आइपीएलमा फर्काएवापत बंगलादेशले पुरुष टी-२० विश्वकपका खेलहरू भारतमै खेल्न सहमति जनाउनुपर्ने शर्त राखेका थिए ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उक्त प्रस्ताव अस्वीकार गरेको बंगलादेशको खेल समाचार साइट बीडीक्रिकटाइमले जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले स्पष्ट रूपमा भनेको छ – खेलाडीको व्यक्तिगत विचारभन्दा पर बंगलादेश कुनै पनि परिस्थितिमा भारतमा विश्वकप खेल्ने छैन।

मुस्तफिजुरलाई तीन पटक आइपीएल विजेता कोलकाता नाइट राइडर्सले मिनी-अक्सनमा ९.२० करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। तर केही समयमै बीसीसीआइले फ्रेन्चाइजलाई उनलाई रिलिज गर्न निर्देशन दियो । बीसीसीआइले यसको स्पष्ट कारण अझै बताएको छैन । त्यसपछि केकेआरले मुस्तफिजुरका फोटो र प्रचार सामग्रीहरू आफ्ना आधिकारिक प्लेटफर्मबाट हटायो।

यस निर्णयपछि बीसीबीले तुरुन्तै कडा कदम चाल्यो। बोर्डले सार्वजनिक रूपमा भन्यो – ‘यदि भारतले एक जना बंगलादेशी खेलाडीको सुरक्षा सुनिश्चित गर्न सक्दैन भने, सम्पूर्ण राष्ट्रिय टोलीलाई विश्वस्तरीय प्रतियोगितामा पठाउने प्रश्नै उठ्दैन। त्यसैले बंगलादेशले औपचारिक रूपमा आफ्ना विश्वकप खेलहरू श्रीलंकामा सार्न अनुरोध गरेको छ ।’

कलेर कान्थोको रिपोर्टअनुसार बीसीबीका एक वरिष्ठ निर्देशकले भारतको पछिल्लो प्रस्ताव अस्वीकार गर्ने कारण बताए। उनले भने, “त्यो प्रस्ताव स्वीकार गर्नु भनेको घोषणा गरेर इनिङ समाप्त गरेपछि फेरि ब्याटिङ गर्न फर्किनु जस्तै हुन्थ्यो। त्यसैले हामीले अस्वीकार गर्यौं।”

प्रस्ताव आइपुग्दासम्म बीसीबीले पहिले नै आफ्नो अडान स्पष्ट गरिसकेको थियो। तर बंगलादेशको दृढ प्रतिक्रियालाई बीसीसीआइले स्वीकार गर्न कठिन ठानेको देखियो, जसले मुस्ताफिजुरको आइपीएल बहिष्कार उल्ट्याउने प्रयासलाई पुनः सक्रिय बनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.