पुस २७ : राष्ट्रिय एकताको प्रतीक

बंशीकुमार शर्मा
२७ पुष २०८२ ७:५४
44
Shares

पौष २७ गते वडामहाराज पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मात्र होइन, यही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

नेपाल गणतन्त्रात्मक राज्य बनेपछि बेलाबखत पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने कि नमनाउने भन्ने विषय विवादको केन्द्रमा रहँदै आएको छ।तर राष्ट्रिय दिवसलाई नै विवादको विषय बनाइनु राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण कमजोर हुनुको संकेत हो।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ राप्रपाको तर्क स्पष्ट छ नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन्, त्यसैले उनको सम्झनामा पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउनुपर्छ। यस दृष्टिकोणलाई विभिन्न संघ–संस्था, स्वतन्त्र नागरिक र बौद्धिक वृत्तले पनि समर्थन गर्दै आएका छन्।

वास्तवमा ‘राष्ट्रिय दिवस’ भन्नाले राष्ट्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित, साझा इतिहास, पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने दिनलाई जनाउँछ। यस्तो दिवस राजनीतिक मात्र होइन, अझ गहिरो रूपमा भावनात्मक र पहिचानसँग जोडिएको हुन्छ।

पृथ्वीनारायण शाहप्रति सम्मान, सद्भाव र अपनत्व अभिव्यक्त गर्दै सबै नागरिकलाई एकतामा बाँध्ने उद्देश्यले राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने मान्यता रहँदै आएको छ। सबै जनताको समान आकांक्षा प्रतिबिम्बित गराउने र साझा राष्ट्रिय चेतनालाई मजबुत बनाउने माध्यमका रूपमा राष्ट्रिय दिवसको महत्व अत्यन्तै ठूलो हुन्छ। तर दुर्भाग्यवश, यही विषयलाई लिएर राजनीतिक दलहरूबीच ईगो र वैचारिक टकराव देखिएको छ।

पौष २७ गते सबै नेपालीलाई सैद्धान्तिक र भावनात्मक रूपमा प्रतिनिधित्व गर्न सके मात्र राष्ट्रिय एकता दिवस सार्थक हुन्छ। आजसम्म यस विषयमा स्पष्ट र साझा धारणा नबन्नु नै बहस र विवादको मुख्य कारण हो। तर इतिहास र यसको सान्दर्भिकता गहिराइमा हेर्ने हो भने यसमा विवाद गर्नु पर्ने खासै कारण देखिँदैन।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ मान्ने विषयमा आज पनि बहस चलिरहेको छ। स-साना राज्यहरूलाई एकीकृत गरी विशाल नेपालको निर्माण गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाह नै हुन् भन्ने बलियो आधार हुँदाहुँदै पनि राज्यस्तरबाट उनलाई राष्ट्र निर्माताको सम्मान दिन कञ्जुस्याइँ गरिएको देखिन्छ। पाठ्यपुस्तक र इतिहासमा राष्ट्र निर्माता भनेर उल्लेख गरिए पनि व्यवहारमा राज्यको दृष्टिकोण अस्पष्ट छ।

विश्व राजनीतिक इतिहास हेर्ने हो भने उपनिवेशबाट देशलाई मुक्त गराउने वा स–साना राज्यहरूलाई एकीकरण गरी राष्ट्र निर्माण गर्ने व्यक्तिहरूलाई सम्बन्धित देशले राष्ट्र निर्माताको रूपमा सम्मान दिएको पाइन्छ।

उनीहरूको योगदान अमर राख्न स्मारक, संस्था, शहरहरूको नामकरण गरिन्छ, मुद्रा नोटमा तस्वीर अंकित गरिन्छ। यसले भौतिक शरीरभन्दा पर उनीहरूको ऐतिहासिक योगदानलाई जीवित राख्ने काम गर्छ।

भारतमा महात्मा गान्धीलाई राष्ट्रपिता मानिन्छ। उनको तस्वीर भारतीय मुद्रामा अंकित छ, उनका नाममा थुप्रै संस्था र संरचना छन्। त्यस्तै, सुवाषचन्द्र बोस, जवाहरलाल नेहरू, लालबहादुर शास्त्रीलगायत स्वतन्त्रता संग्रामका नायकहरूलाई पनि सम्मानपूर्वक सम्झिन्छ।

पाकिस्तानमा अलिजिन्ना, चीनमा सन यात्सेन र माओ, अमेरिकामा जर्ज वाशिङ्टन-यी सबै उदाहरणहरूले राष्ट्र निर्माणमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने विश्वव्यापी मान्यता पुष्टि गर्छन्।

तर नेपालमा ‘राष्ट्र निर्माता को ?’ भन्ने प्रश्न अझै अन्योलमा छ। यदि पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भने किन उनलाई सोही सम्मान नदिने? यदि उनले एकीकरण अभियान नथालेका भए बाइसे-चौबीसे राज्य, मल्ल राज्य, सेन–किरात र मिथिला राज्यहरू अलग-अलग अस्तित्वमै सीमित रहने सम्भावना उच्च थियो। त्यतिबेला भारतलगायत एशियाका धेरै भूभाग अंग्रेज उपनिवेशमा परिसकेका थिए र नेपालमाथि पनि उपनिवेशको खतरा स्पष्ट थियो। त्यसको प्रतिकारका लागि सशक्त, एकीकृत र बलियो राष्ट्र आवश्यक थियो।

पृथ्वीनारायण शाहले आफ्नै ज्यान जोखिममा राखेर एकीकरण अभियानको नेतृत्व गरे। उनको दूरदर्शिता, साहस र रणनीतिका कारण स–साना राज्यहरू गाभिएर विशाल नेपाल निर्माण सम्भव भयो। त्यसैले एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता मान्नु स्वाभाविक र तर्कसंगत हो। देश निर्माण गर्ने व्यक्तिलाई राष्ट्र निर्माता मान्न कुनै अतिरिक्त बहस आवश्यक पर्दैन।

राष्ट्र निर्माता वंशानुगत रूपमा सत्तामा आएको हुन सक्छ वा जनआन्दोलनबाट उदाएको पनि हुन सक्छ। तर सबै शासक राष्ट्र निर्माता हुँदैनन्। जसले राष्ट्रको अस्तित्व, एकता र सुरक्षा सुनिश्चित गर्छ, उसैलाई राष्ट्र निर्माता मानिन्छ। नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहले बाह्य हस्तक्षेपबाट जोगाउँदै राष्ट्र निर्माणको ऐतिहासिक दायित्व पूरा गरेका छन्।

कतिपयले उनलाई ‘विस्तारवादी’ भन्दै आलोचना गर्छन्। तर जुनसुकै मनसायबाट भए पनि राष्ट्रलाई एकीकृत र सुरक्षित बनाउनु सकारात्मक पक्ष नै हो। यदि एकीकरण नभएको भए आज मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म बसोबास गर्ने हामी सबै ‘नेपाली’ भनेर चिनिन्थ्यौं भन्ने ग्यारेन्टी थिएन। आज गौतम बुद्ध, राजा जनक, सीता, भृकुटी, बाल्मीकि नेपालमा जन्मिएका हुन् भनेर गर्वका साथ भन्न पाउनु पनि ऐतिहासिक एकीकरणकै परिणाम हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो हो भनेर गर्व गर्ने अवसर दिलाउने व्यक्तिलाई राष्ट्र निर्माता किन नमान्ने? राष्ट्र निर्माता पहिचान गर्न नसक्नु वा पहिचान गरिसकेपछि पनि सम्मान दिन नजान्नु असभ्य संस्कारको द्योतक हो।

व्यवस्था फेरिन सक्छ, तर राष्ट्र निर्माता फेरिँदैन। राष्ट्र निर्माता मनोवृत्तिले होइन, इतिहास र योगदानले तय हुन्छ। त्यसैले पृथ्वीनारायण शाहको तस्वीर नेपाली मुद्रामा अंकित हुनु, उनका शालिक र स्मारक सुरक्षित रहनु राष्ट्रिय सम्मानको विषय हो। सम्मान दिनुको साटो शालिक तोड्ने, नाम उच्चारण गर्न लाज मान्ने प्रवृत्ति खेदजनक छ।

शालिक कुनै जीवित शरीर होइन, इतिहासको प्रतिमूर्ति हो। शालिक हटाउनु भनेको इतिहास मेटाउनु हो। छिमेकी भारतमा प्राचीन शासकदेखि उपनिवेशकालीन व्यक्तित्वसम्मका शालिक सुरक्षित छन्। तर नेपालमा व्यवस्था फेरिएसँगै इतिहास मेट्ने प्रयास गरिनु गम्भीर चिन्ताको विषय हो।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्ने सबै नेपालीले देशको मौलिकता, इतिहास, संस्कृति र पहिचान जोगाउन सचेत हुनुपर्छ। आपसी द्वन्द्व र असहिष्णुताले राष्ट्रिय एकता कमजोर पार्छ, जसको अन्ततः असर विकास र स्थायित्वमा पर्छ।

त्यसैले राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, लेखक र शिक्षित वर्गले संकीर्ण घेराभन्दा माथि उठेर राष्ट्र निर्माणका मुद्दामा गम्भीर बहस गर्नुपर्छ। साझा उद्देश्य समुन्नत राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत विकास हो। यस यात्रामा योगदान दिने महापुरुष र बलिदानी शहीदहरूलाई सम्मान गर्न जान्नु नै सभ्यताको परिचायक हो।

राष्ट्रिय दिवस मनाउँदा इतिहासलाई गौरवका साथ हेर्नुपर्छ। राष्ट्र निर्माणमा भूमिका खेलेका सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.