‘फिर तेरी कहानी याद आई…’
वर्षौं पछि- “फिर तेरी कहानी याद आई…”
“धेरै दिन पछि तिमी याद आयौ…”
केही खेस्रा लेखेँ-अनायासै केही लेख्न पुगेँछु…
यस्सो हेरेँ, राम्ररी पनि हेरिनँ!
कच्याककुचुक पारेँ र डल्लो पारेँ र फालेँ!
फालिसके पछि झसङ्ङ भएँ–
एउटा सुन्दर मुस्कान झलमल्ल झिलिक्क देखेँ डल्लो पार्न लाग्दाको बखत!
र, सम्झिएँ त्यो कोमल
मिठो मुस्कान मिलिक्क!
सुनौला हिमाल हाँसे झैँ झलललल।
उनको जुनेली मुस्कान मैले कहिल्यै टार्न पनि त सकिनँ!
र, फर्कि ल्याउँदा आज पनि!
हत्तनपत्त मुढाबाट घुम्दै पछाडि फर्किएर
पर अगाडि दौडँदै गई कोठाको कुनामा हल्लिँदै गरेको कागजको त्यो डल्लो टिपेँ-
सायद ती हिमाली मुस्कानले मलाई बोलाउँदै थिइन्!
मुट्ठीमा टपक्क टिपेँ, टिपेँ र खोलेँ, खोलेँ र हेरेँ…

…मन पर्याे,
या मन पराएँ।
अथवा मन पराउन पुगेँ!
जे होस् तिमीलाई खुब मन पराएँ।
कत्ति धेरै दिल धड्काएँ…
मन परेर धड्कन बढ्यो,
या बढेको धड्कनले मन पर्याे भन्यो!
मलाई त तिमी कस्तो पो मन परेछ!
तिम्रो मायाँ लाग्छ धेरै…
तिम्रो मायाँ लाग्छ धेरै,
या तिम्रो मायाँ लाग्न लागेछ धेरै!
जे होस् तिमीलाई कत्ति धेरै मायाँ गर्न लागेँछु!
तिमीलाई मन पराएँछु,
अथवा मन पराउन पुगेँछु…
जे होस् तिमीलाई यत्ति धेरै मन पराएँछु!
भेट्दा भेट्दै,
तिमीलाई खुब मायाँ गर्न पो थालेँछु!
या तिमीलाई मायाँ गर्न थालेँ अनि
धेरै भेट्न लागेँछु…
दिल धड्कन्छ धेरै…
देखेर धड्कन्थ्यो,
खुब धड्कन्थ्यो !
अनि कत्ति आनन्दको शान्त हुन्थ्यो!
अनि देख्न नपाउँदा फेरि धड्कन्थ्यो!
खुब तड्पन्थ्यो…
शान्त तिमी गम्भीर सागर – बडा शालीन।
देख्ता तिमीलाई तिमी झैँ गहिरिन्थेँ,
नदेख्दा जून भेट्न बेचैन छाल झैँ बेचैन…
दिल धड्कन्छ धेरै…
खुब तड्पन्छ!
पलपल हरपल हर एक पल,
मेरा हरेक खयालमा छ्यौ तिमी,
तिमी आफ्नो ख्याल राख्नु…
फेरि डल्लो पारेँ! नाईँ अब त त्यो चन्द्रमुस्कानलाई फेरि पनि टार्न सकिनँ-
खुम्च्याउन सकिनँ!
खोलेर सम्म्याएँ खुब ध्यानसित।
र, पट्ट्याएँ।
पट्ट्याएर गोजीमा दिलको धक्धकसँगै खुब जतन साथ राखेँ…
दिल्जला बाबुल सुप्रियो धमाधम गाउँदै थिए…
आफ्ना प्रेमविह्वल ‘नोस्टाल्जिया’मा डुबेकी गीतकार पद्मावती सिंह लेख्छिन्…
“धेरै दिन पछि… तिमी याद आयौ
धेरै दिन पछि… तिमी याद आयौ
भिजेको परेलीमा…भिजेको परेलीमा…
फेरि चिहायौ…
फेरि चिहायौ…
धेरै दिन पछि…. तिमी याद आयौ
धेरै दिन पछि… तिमी याद आयौ”
















Facebook Comment