हिँड्ने बाटो र फेरिने अनुहार
हिँड्ने बाटो सधैं एकनाशको हुँदैन। बाटो उही हो। हिँड्ने पाइला पनि तिनै हुन्। तर कहिलेकाहीँ त्यही बाटो लामो हुन्छ। बाटो काट्न हम्मेहैरानी नै हुन्छ। त्यो बाटो कुनै बेला हिँडेर छिट्टै काटिन्छ। त्यही बाटो काट्न कहिले निकै समय लाग्छ। बाटोमा हिँड्नेको गतिले मात्रै गन्तव्य छिटो हुँदैन रहेछ। बाटोमा हुने मान्छे र सवारी साधानले बाटोलाई छिटो र ढिलो बनाउने रहेछ।
हिँड्ने बाटो उही र उस्तै भए जस्तै मान्छे उही, अनुहार त्यही भएर पनि कहिलेकाहीँ मान्छेलाई चिन्न नसकिँदोरहेछ। बाटो काट्न समय लागे जस्तै मान्छे चिन्न पनि समय पर्खिनुपर्ने हुँदोरहेछ। तर कहिले त समय कुर्दा पनि मान्छेलाई चिन्न नसकेर हैरान भइँदोरहेछ।
कहिलेकाहीँ त लाग्छ- कुनै वाक्य बोलिनुभन्दा एक नजर हेरिनु नै बढी अर्थपूर्ण हुन्छ। कहिलेकाहीँ त लाग्छ- चिनजानको नाटकभन्दा परिचय विनाको मौनता नै साँचो हुन्छ। न त मान्छेहरूको स्वभाव स्थिर हुन्छ। न त तिनका सम्बन्धहरू सधैँ एउटै दिशामा बगिरहन्छन्। एउटा सम्बन्ध एकदिन तातिएको हुन्छ। तर अर्को दिन त्यो सम्बन्ध, सम्बन्धहीन अवस्थामा गुज्रिन पुगिसकेको हुँदोरहेछ।
हिँडेर मान्छे कहाँ-कहाँ पुग्छन्। बाटो चाहिँ त्यहीँ रहिरहन्छ। तर बाटोको भूमिकालाई सामान्य ठान्नु हुँदैन। बाटो नभएर हामीले कहाँ हिँड्नु पाइला टेक्ने आधारै बाटो हो। त्यही बाटो हिँडेर हामी आ-आफ्नो गन्तव्य पुग्छौँ। त्यही बाटो हिँडेर घर फर्किन्छौँ। यसरी बाटो हिँडेर हामी आफू पुग्नुपर्ने स्थान पुग्छौँ। बाटो नभए कहाँ पुग्नु ? कतै पुग्नै सकिँदैन जति हिँडे पनि। बाटोले हिँडाउँदै हामीलाई संसार घुमाउँछ। उकालो चढाउँछ, ओरालो झार्छ।
तर कहिलेकाहीँ त्यही बाटोले हामीलाई हिँड्न नजान्दा तीन बल्ढ्याङ्ग पनि खुवाउँछ। हिँड्दा होशियार हुनुपर्छ। बाटोको ख्याल गरेर हिँड्नुपर्छ। बाटो कहीँ हिँड्ने होइन तर बाटोको माध्यमले हामी हिँड्छौँ र पुग्नुपर्ने ठाउँमा आरामले पुग्छौँ।
अनेक किसिमका अनेकथरि मान्छे बाटोमा हिँड्छन्। हिँड्ने त मान्छे नै हुन्। हिँडाउने बाटो नै हो। अझ सवारी साधनको कुरा गर्ने हो भने त कति हो कति ? कति लात खाँदै, कतिको चोट सहँदै तथापि बाटोले आफ्नो धर्म कहिल्यै छोड्दैन।
त्यही बाटो कुन, कहाँ जाने, कुन बाटो हिँड्दा कहाँ पुगिने ? एउटै बाटो तर पुग्ने गन्तव्य फरक भए जस्तै फरक हुँदारहेछन् बाटोले पुर्याउने ठाउँ पनि। यसरी नै हिँड्ने मान्छेका पनि अनेकौँ प्रकार र प्रवृत्ति हुँदोरहेछ। कतिलाई चिन्नु, कतिलाई नचिन्नु ? र कतिलाई चिनेर बिर्सिनु ? कतिलाई सम्झेर बस्नु ?
मानवीय सम्बन्धहरू कुनै तलाउ होइन, जुन एकै ठाउँमा भरिएर बसिरहून्। ती त खोलाजस्तै हुन्- कहिले सुलुलु बग्ने, कहिले बाढी-वेगले, अनि कहिले सुख्खा भएर कमिलाको ताँती हिँड्ने।
सम्बन्धको गतिशीलता नै जीवनको यथार्थ हो। जति टाढा जाँदा पनि, कहिलेकाहीँ अपरिचितको एक सानो व्यवहारले पनि यति धेरै आत्मीयता भरिदिन्छ कि लाग्छ– यी नै त हुन्, मेरा आफ्ना ! र, कतिपय त यस्ता हुन्छन्- वर्षौंपछि भेट्दा पनि शब्दहरू हिउँदको पानीझैँ चिसिएका हुन्छन्, आँखाहरू झ्यालझैँ बन्द, अनि व्यवहार पर्खालझैँ अग्ला।
कहिलेकाहीँ हिँडिरहेको बाटो पनि बिरानो बन्छ। बाटो बिरानो बनिदिदा हामीले पुग्नुपर्ने गन्तव्य पनि बिर्सिनपुग्छौँ। त्यसैगरी कहिलेकाहीँ मान्छेले हामीलाई बिर्सिन्छन् नरिसाउने गरी। तिनको सम्झनामा हाम्रो नामको कुरा परै जाओस्, अनुहार पनि गन्हाएको झैँ लाग्ने गर्छ होला। तर हामीचाहिँ अझै सम्झिरहेकै हुन्छौँ। कुनै घडीको सुईजस्तै सधैँ तिनै बिन्दुमा फर्किरहने। र, यही सम्झनाको भारी काँधमा बोकेर हामी बाँचिरहेकै हुन्छौँ।
तर सम्बन्धका यी हाउभाउ पनि अन्ततः जीवनका पाठहरू हुन्। जसरी टाढिएको घामपछाडि बादल हटेर पुनः उही उज्यालो फर्कन्छ। त्यसैगरी कुनै न कुनै दिन ती टाढिएका अनुहारहरू पनि अप्रत्याशित वर्तमान क्षणमा फर्केर आउँछन्। किनभने ‘हिङ बाँधेको टालो पनि काम लाग्छ’ भन्ने हाम्रो जीवनदृष्टिको मूल मन्त्र हो।
कसैले कसैलाई अस्वीकार गर्यो भने पनि त्यो अस्वीकार सधैँका लागि हुन्न। बाटो जस्तै जीवन पनि आफैँमा यति धेरै घुम्ती र मोडहरू बोकेर आउँछ कि आजका घृणाले भोलिका जरुरीहरूलाई काट्न सक्दैनन्।
आज जो हामीलाई हेर्न सक्दैनन्, बोल्न चाहँदैनन्। लाग्छ- उनीहरूको मनमा रिसको आगो दन्दनी बलिरहेको छ। अनुहारमा त्यसकै प्रतिविम्ब झल्किएको छ। त्यसैले तिनीहरू यसो एक झल्को हेर्ने पनि मन गर्दैनन्। पुलुक्क हेरेर एक शब्द बोली बोल्न पनि चाहँदैनन्। यति गर्दा आफू तल परिने डर हुने होला कि ? यति गर्दा आफूले गरेको कामको गलत अर्थ लाग्ने डर हुने होला कि ?
यद्यपि तिनै एकदिन आउन सक्छन्- जसरी वर्षात्को समयमा अलपत्र परेको बोटको ओत खोज्न मान्छे कति तलमाथि दौडिन्छ। अनि त्यही बोट, जुन उसले कहिल्यै हेपेको थियो, एकाएक जीवन रक्षाको थलो बन्छ।
त्यसैले आज जो टाढा छन्, भोलि उनीहरू नजिक पर्न सक्छन्। जो अहिले मौन छन्, उनीहरू एकदिन आफ्ना ‘माफी’ का शब्दहरू लिएर फर्कन सक्छन्। अनि जो आजको पीडामा कारण जस्ता लागिरहेका हुन्छन्, तिनीहरू नै भविष्यमा घाउमा मल्हम लगाउने ओखति बन्न सक्छन्।
जसरी एक अपरिचितको मुस्कानले दिन रमाइलो बनाइदिन सक्छ। त्यसैगरी कुनै पाको घृणाभन्दा एक शब्दको सान्त्वनाले गहिरो सम्बन्धको पुनर्जीवन कायम गरिदिन सक्छ। जीवनमा स्थायी त केही पनि छैन। न माया, न प्रेम, न घृणा, न खुसी, न पीडा, न दूरी, न नजिकपन। स्थायी छ त केवल अनुभव, अनुभूति र स्वीकार।
र, म त भन्छु- मान्छे बिर्सियो भने पनि केही जान्दैन। सम्झियो भने पनि केही पुग्दैन। तर जब हामी आफैँलाई चिन्न थाल्छौँ, तव मात्र हामीले अरूलाई चिन्न सिक्छौँ। अनि तब, सम्बन्धहरू फेरि आफ्नै लयमा गुनगुनाउन थाल्छन्- जसरी मौन हावा आफैँमा संगीत बोकेर ल्याउँछ। जसरी बाटाहरूले हामीलाई गन्तव्यसम्म पु¥याएर फेरि आफ्नो घरमा फर्काएर ल्याउछ।







डिसी नेपाल








Facebook Comment