“मेरो देश प्रेमको देश” राष्ट्रिय गौरवको अभियान बन्दै
काठमाडाैं। “मेरो देश प्रेमको देश” अभियानका अभियन्ता कविन्द्र सिटौलाले सन् २०२६ को सुरुवातसँगै उक्त अभियानले पूर्ण गति लिने जानकारी गराएका छन्।
विश्वकै सबैभन्दा ठूलो साहित्यिक-मानवीय कृतिको रूपमा विकसित हुने अपेक्षा गरिएको यस अभियानले नेपाललाई ‘प्रेमभूमि’का रूपमा विश्वमाझ स्थापना र परिचित गराउँदै वैश्विक मानवीय एकता, करुणा र सहअस्तित्वलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।
अमेरिकामा दुई वर्षअघि यो धारणा सार्वजनिक गरिएको यस अभियानले विश्वभरिका १० लाख व्यक्तिहरूबाट प्रेमसम्बन्धी कविता, अनुभूति र भावनाहरू संकलन गरिरहेको छ।
जब यो अभियान पूर्णतामा पुग्नेछ, यसले विभिन्न विधामा विश्व कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो स्थान सुरक्षित गर्ने अपेक्षा गरिएको छ। करिब ६०० भन्दा बढी भाग हुने यो बृहत परियोजनाको पहिलो र अन्य केही भागहरू एक वर्षभित्र सार्वजनिक गर्ने लक्ष्य शुभारम्भ गरेको छ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसमक्ष परियोजनाबारे जानकारी गराउँदै ‘मेरो देश प्रेमको देश’ अभियानका अभियन्ता कविन्द्र सिटौलाले पूर्व राष्ट्रपतिबाट प्राप्त ऐक्यबद्धता, शुभकामना एवं सहभागिताले आफू अत्यन्त उत्साहित, हर्षित तथा थप प्रेरित भएको बताए।

यसै क्रममा उनले काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसँग भेटघाट गरी परियोजनाको प्रगति विवरणको जानकारी गराए। कुलपतिले यो अभियानले नेपाललाई थप नयाँ पहिचान दिने स्मरण गराउँदै परियोजनालाई आवश्यक पर्ने सहयोग व्यक्तिगत एवं प्रतिष्ठानको तर्फबाट निरन्तर दिइरहने कटिबद्धता पुनः दिएका छन्।
साथै, आफ्नी ममतामयी माता मनमाया सिटौलाको पन्ध्रौँ पुण्य दिनमा अनेसास नेपाल च्याप्टरले आयोजना गरेको श्रद्धाञ्जली सभाको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका मान्य प्राज्ञ बाबा बस्नेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकारसघका वर्तमान अध्यक्ष राधेश्याम लेकाली, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृष्ण प्रसाईँ लगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ साहित्यकारहरू, अन्तर्राष्ट्रिय सामाजिक संस्थाका प्रतिनिधिहरू, सम्मानित अधिवक्ताहरू, पत्रकारहरू, राष्ट्रिय कलाकारहरू, राष्ट्रसेवकहरू, प्राध्यापकहरू, उद्यमीहरू तथा सामाजिक अभियन्ताहरूसँग अन्तरक्रिया गर्दै अभियानको भावी दिशा र प्रभावका विषयमा विचार-विमर्श गरेका छन्।

सम्पूर्ण अतिथिले वर्तमान समयमा समाज, राष्ट्र र समग्र विश्व नकारात्मकताको अँध्यारोतर्फ धकेलिँदै गएको सन्दर्भमा, यस प्रेमको भावनात्मक अभियानले आशा, सकारात्मकता र एकताको दीप प्रज्वलन गर्ने ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।
यस्तो चुनौतीपूर्ण घडीमा अभियानप्रति उनीहरूले व्यक्त गरेको एकात्मतामा आबद्ध रहने दृढ प्रतिबद्धताले आफूलाई गहिरोरूपमा प्रेरित, उत्साहित र उत्तरदायित्वबोधले भरिएको अनुभूति गराएको अभियन्ता सिटौलाले बताए।
त्रिभुवन विश्वविद्यालयका शिक्षा तथा साहित्यसम्बन्धी एवं विभिन्न विभागका वर्तमान, निवर्तमान एवं पूर्व विभागीय प्रमुखहरू, प्रा. डा. लक्ष्मण प्रसाद गौतम, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, प्रा. डा. विजया पन्त, वरिष्ठ साहित्यकार एवं समालोचक लीला लुइटेल लगायत विभिन्न विद्वानहरूसँग भेटघाट गरी परियोजनासम्बन्धी सुझाव र अवधारणाहरू संकलन गरिएको छ।

यो महत्वपूर्ण अभियानकै सिलसिलामा नेपालका सम्माननीय पूर्व प्रधान-न्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द, श्रीमती चन्द शिक्षाविद् र वरिष्ठ साहित्यकार एवं महासमालोचक प्रा. डा. बासुदेव त्रिपाठीलगायत विभिन्न सम्मानित वकिल, पत्रकार, उद्यमी तथा सामाजिक अभियन्ताहरूसँगको भेटघाट र संवादमार्फत यो परियोजनाले उल्लेखनीय गति लिएको छ।
उनीहरूको यस ऐतिहासिक ग्रन्थ तथा कृतिमा गरिएको सहभागिता केवल वर्तमानको योगदान मात्र नभई, भावी पुस्ताका लागि चेतना, मूल्य र स्मृतिको अमूल्य धरोहरकारूपमा यो कृति स्थापित हुने दृढ आधार बनेको छ, जसले समयको प्रवाहसँगै नेपाल राष्ट्र लगायत विश्वको आत्मा बोलिरहने दस्तावेजको गरिमा प्राप्त गर्नेछ।

यो बृहत ऐतिहासिक मानवीय ग्रन्थ एवं कृतिको पहिलो भागको विमोचन आगामी पौष २०८३ मा नेपालमा विशेष कार्यक्रमका साथ गर्ने लक्ष्य एवं योजना राखिएको छ।
यो अभियानलाई राष्ट्रिय गौरव र विश्वनिधिको साझा यात्रा बनाउने दृढ विश्वासका साथ, सबै नेपाली जाति, नेपाली भाषी समुदाय, तथा नेपाल र नेपालीप्रति प्रेम, सम्मान र सद्भाव बोकेका विश्वभरका प्रत्येक मनलाई ऐतिहासिक “मेरो देश प्रेमको देश” अभियानमा एकात्म भई आबद्ध हुन हार्दिक आह्वान गरिएको छ। यो बृहत अभियानको विस्तृत जानकारी voiceofkabin.com मा उपलब्ध गराइएको छ ।







डिसी नेपाल








Facebook Comment