प्रतिनिधि सभा निर्वाचनः सर्लाहीमा करिब ४ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिँदै
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।
गृह मन्त्रालयले सर्लाहीका लागि ३ हजार ९२६ जनाको कोटा तोकेसँगै जिल्ला प्रहरी कार्यालयले भर्ना प्रक्रिया अघि बढाएको हो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार कुल ३ हजार ९२६ कोटामा महिला र पुरुषको संख्या भने आवश्यकताका आधारमा जिल्लाले नै तय गर्ने छ ।
यसअघिका स्थानीय तह, प्रदेश वा प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।
यसका साथै पूर्व प्रहरी, पूर्व वन रक्षक तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकहरूलाई पनि छनौटमा प्राथमिकता दिइने डिएसपी राईले बताए ।
पुस २५ गतेदेखि सुरु भएको दरखास्त संकलन आगामी माघ १ गतेसम्म जारी रहने सर्लाही प्रहरीले जनाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त दिन सक्नेछन् ।
नियुक्ति पाएको मितिले निर्वाचन प्रहरीको कार्यअवधि कम्तीमा ४० दिनको हुनेछ। यद्यपि, सरकारको निर्णयअनुसार यस अवधिमा हेरफेर हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीमा निर्वाचनका लागि कुल ३१२ मतदानस्थल र ६२८ वटा मतदान केन्द्र तोकिएको छ।







डिसी नेपाल








Facebook Comment