पाइला, औंला र शासनकला
पाइला
गुरु गोरखनाथले दिनु भएको प्रसाद दही पोखिएको पैतालाको संक्षिप्त वर्णनबाट यो आलेख शुभारम्भ गर्दछु। आँखाले जाँच्ने मनले ताक्ने औंलाले देखाउने र आँखा र औंलालाई उछिन्नेर पाइला पुग्ने। दुईमा देखाएर एकमा होइन तीन चार पाँचमा टेक्ने पैताला।
माटो स्पर्श गरेर माटोको गुण चिन्ने र माटोसँग मित लाएर माटोलाई गुन ऋण लाउने पाइला। आज गोरखा, भोलि नुवाकोट तुरुन्त दहचोक र भक्तपुर हुँदै सिन्धुली पुग्ने पैताला। न साँघु, न डुङ्गा, न तुइन, न समय, बुढीगण्डकी त्रिशुली हाम फालेर गिट्टी बालुवा माड्दै नदी पार गर्ने साहसी पाइला।
छिनमा हातहतियारको जोहो गर्न काशी पुग्ने र कालीगढहरु लिएर स्वदेश फिर्ती हुने अथक पाइला। युद्धका मोर्चाहरुलाई आफैं अगुवाई गर्ने, आफैं नेतृत्व दिने र विजय गरिछाड्ने स्वाभिमान पाइला। हार्न, युद्धमैदान छाड्न, भाग्न नजानेका विजयउन्मुख प्रतिबद्ध पाइलाहरु।
ज्योतिषी, सेनापतिले रोकेर नरोकिने पाइला। जहाँ टेक्यो त्यो क्षेत्र अधिनमा आउने विजयी पाइलाहरु। खाली खुट्टा पैतालाले टेकेर नापेर जाँचेर सुँघेर ६० बढी स-साना राज्यलाई एकीकरण गरेर आधुनिक विशाल नेपाल निर्माण गर्ने लच्छिनका पाइला।
चरित्र र ब्यबहारमा राजा होइन, प्रधानसेनापति पनि होइन सिपाहीका पाइला। आराम विश्राम मनोरञ्जन गर्न नमान्ने पाइला। अल्छी ठगी आजको कामलाई भोलि नभन्ने पाइला ।माटो माडेर माटो चिनेका पाइला। ‘जाग लम्क अघि बढिराख’ भन्ने सन्देश दिने पाइला।
दुस्मनभन्दा पहिला पहलकदमी लिएर विजय हात पार्न खप्पिस पाइला। निस्वार्थ सेवा, समर्पण र त्यागका प्रतीक हुन् ती पाइला। देशभक्तिका निशानी हुन् ती पदचापहरु। शिरदेखि ढाडको धुलो हुँदै पैतालाबाट झरेको पसिनाले उनेको सिङ्गो माला हो आजको नेपाल।
पृथ्वीमा कोही नायक, बादशाह, विद्यार्थी, अनुसन्धानकर्मीले गरेको छैन त्यति लामो अविश्राम पदयात्रा। एकीकरण छाडेर विश्व भ्रमण, विश्व अध्ययन, विश्व यात्रातर्फ मोडिएका भए पृथ्वीको धेरै चक्कर लाइसकेका हुन्थे ती पाइलाहरुले। विश्व रेकर्ड राख्ने थिए।
तर असीम देशभक्तिले देश भित्र देशलाई सुनको सियो बनेर एउटा मालामा उनिरहे ती बफादार पाइलाहरुले। तसर्थ, उच्च सम्मान र सलाम छ राष्ट्रनिर्माताका ती दुर्लभ अद्भूत शक्तिशाली पाइलाहरुलाई।
औंला
आकाशतर्फ ठडिएको स्वाभिमान औंलाले शासक आफैंलाई खबरदारी गरिरहको छ-अनुशासनमा बस्नू, कानुन पालना गर्नू, जनताको घर दैलोमा जानू, प्रजाको कुरा सुन्नू, दुनियालाई न्याय दिनू, पारदर्शी जवाफदेही हुनू, हमेसा त्याग गर्नू। त्यो खबरदारी दरबार र भाइभारदारलाई पनि हो। सेना, प्रहरी, प्रशासन, प्राविधिक, न्यायमूर्ती, शिक्षक, किसान, जनता सबैलाई हो।
सूर्यजस्तो तेज हुनू, किरण जस्तो छिटो हुनू, दुश्मन भन्दा चतुर हुनू, आकाशजस्तो विशाल छाती र अग्लो फराकिलो सोच राख्नू, दुरदर्शी हुनू, हमेसा एकाढिक्का रहनू, त्यो औंलाको संकेत हो।
ती औंलाले हरेक मन्दिर, भञ्ज्याङ, द्यौराली, चौतारी, नदी, घाटमा फूलपाती चढाउथे। विजयको प्रार्थना गर्दथे। कल्याणकारी राज्यको पुकारा गर्दथे। सनातनी धर्म संस्कृतिको पूजापाठ गर्दथे।
अधिनस्थ क्षेत्र र विजित राज्यमा सबै जात धर्म भाषा संस्कृति रीतिरिवाजको स्वतन्त्रतालाई सम्मान गर्दथे। आफैं राजा, आफैं प्रधानमन्त्री, आफै सेनापति आफैं सर्वोच्च र सर्वेसर्वा हुँदा पनि युद्धमा हात-खुट्टा सिपाही थिए। एउटा त्यागी काबिल सिपाही। लिड् बाई इक्जाम्पलका प्रतीक थिए। र, औंलामा थियो साम दाम दण्ड भेदको कठोर राज्य संचालन नीति।
आफू सर्वेसर्वा भएर पनि सामूहिकतामा विश्वास। सल्लाह लिने र निर्यण आफू गर्ने नेतृत्व गुण। शक्तिको अन्तिम श्रोत जनता हुन् र शासक जनता सधैं अविचलित एक ढिक्का हुनुपर्छ भन्ने राष्ट्रिय एकताको माग औंलामा प्रष्ट देख्न सकिन्छ।
राजा-प्रजाको खुन पसिनाले निर्माण गरेको मुलुकमाथि छड्के आँखा नलाउ, र्याल नकाट, जाल झेल पाइला नहाल भनेर पराइलाई खबरदारी गरिरहेको छ त्यो औंलाले। सबै जात वर्ण लिङ्ग धर्म भाषा संस्कृति अटाउने एउटै साझा फूलबारीको संकेत भन्नै परेन।

आफू आजीवन एउटा इमानदार देशभक्त लडाकु सिपाही भएकोले सेनालाई त्यो औंलाले आह्वान गरिरहेको छ- नथाक्नू, नभाग्नू, नबिक्नू, नझुक्नू, नढाट्नू र हमेसा सुसूचित, चतुर, बलियो, स्वाबलम्बी, बहादुर र बलवान् देशभक्त भइरहनू। एकता र देशभक्तिको प्रतीक रहनू। राष्ट्रिय भरोसा र विश्वासको धरोहर भइरहनू। सिपाही बलियो भए शासक र समग्र देश बलियो हुन्छ भन्ने दिव्योपदेशको अन्तर्यमा देशभक्त शक्तिशाली सेनाको परिकल्पना छ।
औंलाको अर्को कडा खबरदारी छ-परनिर्भर होइन आत्मनिर्भर होउ। विदेशी शक्तिलाई टाढा राख। हस्तक्षेप नसहनू। ऋण दान धन नलिनू। अर्थतन्त्रको जग कृषि र उत्पादन हो। श्रम ब्यापार र रेमिट्यान्स होइन लघु उद्यम र निर्यात हो।
औंलामा म राजा होइन, सेवक हो। मालिक होइन कर्मशील योद्धा हो। ठालु र विशिष्ट होइन साधारण जनाता सरह हो। निवास कुरुवा दीर्घरोगी होइन हरेक युद्धमोर्चा सम्हाल्ने देशभक्त सशक्त सिपाही हो भन्ने गौरववोध झल्किरहेको छ।
अकालमा अनायस आइलागेको मृत्युको मुखमा उत्तराधिकारी र भाइभारदार लगायत प्रजा साक्षी राखेर दिएको सत्यवचन आज पर्यन्त राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई अकाट्य मार्गदर्शन छन्। देशभक्तिले ओतप्रोत दिव्योपदेश नेपाल, नेपाली र शासकहरुका लागि युगयुगसम्म रामबाण (सिल्भर बुलेट) नैतिक निर्देशन हुन्।
दिव्योपदेशमा रामराज्य संचालनका राजनीतिक, कुटनीतिक, आर्थिक, सामरिक रणनीतिक, भूराजनीतिक रामबाण मन्त्रहरु छन्। कल्याणकारी राज्य संचालनको मूलमन्त्रहरु छन्। मृत्युको मुखमा पनि नेतृत्व हस्तान्तरण पुस्तान्तरणको कति असल अभ्यास! वर्तमान देखि भविष्य समेतलाई पाठ।
पाइला र औंला चलाउने तथा युद्धमा दौडाउने दाप लागेको पेटले राष्ट्र निर्माताको आधा पेटको कठोर परिश्रमलाई दर्शाउँछ। धान नफल्ने गोर्खा र आजीवन युद्धको कर्मले मीठो मसिनो पोसिलो तृप्त भोजन नपुगेको पेट र पटुकाले गहिरो चिन्ता पीडालाई कुल्चेर हरपल उच्च त्याग र समर्पणमा जीवनको आहुति दिइरहेको भान हुन्छ। कम्मरमा भिरेको सानो खुकुरी राष्ट्रिय हतियारको प्रतीक हो र त्यसले आज पर्यन्त विश्व सम्मान पाएकै छ।
राष्ट्रिय एकताको प्रतीक राष्ट्र निर्माताको औंलालाई हरेक नेपालीले एकाग्र भई हेर्न र राष्ट्रिय एकताको सूत्रमा एकढिक्का भै उभिन हामीले एक सेकेण्ड पनि खेर फ्याल्नु हुँदैन। अस्तित्व संकटमा रहेको र भूराजनीतिक दलदलमा फसेको सार्वभौम मुलुकको अन्तिम रक्षा सूत्र भनेको राष्ट्रिय एकता हो। राष्ट्रिय सुरक्षाको जग र छानो भनेको त्यही राष्ट्रिय एकता हो।
शासनकला
एकीकरणको दौरान कसैको कुनै जाति विशेषको अधिकार धर्म संस्कृति परम्परा रीतिथितिलाई खलल पारेनन्। विजित राज्यहरुको सबै बासिन्दाको धार्मिक सांस्कृतिक परम्परालाई उच्च सम्मान गरे। निरन्तरता दिए।
साझा फूलबारीमा सबैलाई स-सम्मान अटाए। सबै घर थरलाई फकाएर मिलाएर युद्धमा हिँडाए। वीरगति प्राप्तलाई राष्ट्रिय सम्मान र राम्रो मरवट दिए। कृषि उत्पादन घरेलु कुटीर उद्योग धन्दा संचालन, खनिज व्यापार वाणिज्यको संचालनमा सुशासन कायम गरे।
नेपाली र राष्ट्र निर्माताको त्यो एकीकरणताकाको देशभक्ति र बहादुरीको चर्चा देश विदेशसम्म फैलियो। दुनियाको सातो जाने अवस्था आयो। नेपालका राष्ट्र निर्माता एकीकरण महानायक प्रेरणाका श्रोत बने। विश्वभर एकीकरण अभियानको थालनी भयो। धेरैले पृथ्वीपथको फोटोकपी र अनुकरण गरे। एकीकरण अभियान सफल बनाए। जसको फेहरिस्त लामो छ।
ताली होइन गाली
राष्ट्र निर्माताको राष्ट्रप्रेम र राष्ट्र बचाउ अभियानसँग आक्रमणकारीहरु रिसाउनु स्वभाविक थियो। तिनको बन्दुक आफ्नो काँधमा राखेर आफू जन्मिएको उभिएको माटो र सनातनी धर्म संस्कृति बिरुद्ध राष्ट्रिय एकता ध्वस्त हुने गरि पड्काउनु हाम्रो अक्षम्य त्रुटी भयो। आज हामी आफै विध्वंशकारी अपहरणकारी आतङ्ककारी भएर राष्ट्र राष्ट्रियता र राष्ट्रिय एकतामाथि लगातार प्रहार गरेको ७५ वर्ष नाघिसक्यो।
पछिल्लो अग्नियुद्ध नामको आतङ्कबाद ताजै छ। यो आतङ्कबादले दल-दल-गुट्-उपगुट् मात्र होइन घर-घर र थर-थरमा भिजिलान्ते, जासुस, धर्म प्रचारक र लेण्डुपेहरु छन् भन्ने प्रमाणित भएको छ।
विदेशी योजना र लगानीमा गौरवशाली इतिहास र सनातनी सामाजिक सांस्कृतिक धार्मिक सहिष्णुता भड्काउने खेल सरासर राष्ट्रिय अहितमा छन्। राष्ट्र निर्माताको हामीले हात खुट्टा नाक कान घाँटी काट्यौं भाँच्यौ फुटायौं र निर्जीव सयौं सालिकहरु भत्कायौं। बाह्य लगानी मा विदेशी धर्म प्रचारप्रसारका लागि, जुन कुरा घाम जस्तै छर्लङ भइसकेको छ।
हरेक देशको राष्ट्र निर्माता हुन्छ। नत्र राष्ट्र बन्ने थिनन्। ती राष्ट्र निर्माताको राष्ट्रिय कदर सम्मान हुन्छ। नेपोलियन बोनापार्टको १ लाख बढी ऐतिहासिक पुस्तक लेखिएका छन्। बिडम्बना, हामी खाँटी राष्ट्र निर्मातालाई अर्काको इशारामा गाली गरेर नयाँ नयाँ राष्ट्र निर्माता खोजिरहेका छौं। हामी शीघ्र सच्चिन जरुरी छ। खरानीबाट उठेर जलेर ढलेको सार्मभौम राष्ट्रलाई प्राण भर्न जरुरी छ। त्यो प्राण वा अक्सिजन भनेको अविचलित राष्ट्रिय एकता हो।
पृथ्वीपथ प्रसंग
देश दिनभरमा जलेर खरानी भएपछि आम नेपालीहरुको राष्ट्रिय एकता जागरण ह्वात्तै बढेको छ, जुन राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको लागि सकारात्मक संकेत हो। १० वर्षे सशस्त्र द्वन्दको अन्तर्यमा के थियो नयाँ पिढीले बुझ्दै छन्।
१७ हजार मान्छे मार्यो, १७ लाखलाई अंगभंग अनाथ असहाय बनायो, १७ खर्बको भौतिक क्षति भयो र ५ करोड डलरमा धर्मनिरपेक्षता शब्द संविधानमा घुसाएर सनातनी धर्म संस्कृति र राजसंस्थालाई समूल नष्ट गरेर ल्याएको गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता सहितको संविधान, सत्ता, सरकार आज आफू-आफूमा डढेर अंगार भएको छ। गणतन्त्र आयो देश रित्तो भयो। टाट् पल्टियो। देशको सान मान ओज तेज खुइलिएर बागमती जस्तो भयो। त्यस्तो गणतन्त्रको उपदेयता के?
दुई ढुंगा बीचको तरुल आज अत्यधिक प्रज्वलनशील मोलेटो कक्टेल र बम भएर बसेको छ। आफ्नो देश जलाएर अरुको देश जलाउने तयारीमा। हाम्रो विभाजन, बिखण्डन र अकर्मव्यताले परराष्ट्र सम्बन्ध धुजा धुजा भएको छ। अपुरणीय क्षति पुगेको छ। सन्तुलन होइन झुकाव र चाकरीको भूराजनीतिक ढलमा हामी फसेका छौं। न स्वराष्ट्र सङ्लो छ न परराष्ट्र पक्का छ। दलगत समीकरण र स्वार्थ निर्देशित परराष्ट्र नीतिले स्वराष्ट्रलाई निलेको छ।
चार जात छत्तीस वर्णको फूलबारी भत्किएर चरम विभाजन र विखण्डनको संघारमा राष्ट्र पुगेको छ। क्षेत्रीयता र जातीयताका मुद्दा उचालेर बिखण्डनको बीउ रोपिएको छ। गृहयुद्धको खिचडी पाक्दै छ। विलयका न्यारेटिभ (भाष्य) लेखिँदै छन्।
हामीले धेरै वाद र पथको आलु खाने असफल अभ्यास गरिसकेपछि अहिले देशभक्तहरुको आँखा कान खुलेको छ। पृथ्वीपथ, नेपालपथ, महेन्द्रपथको बहस चर्किदो छ। राष्ट्रिय एकताको अपरिहार्यता सायद ईतिहासमा यति धेरै कहिले खड्केको थिएन।
आज संविधान बिनाको देश बेलायत, इजराय र न्युजिल्याण्डको राष्ट्रिय एकता राष्ट्रिय समृद्धि हेरौं। किन नेपालमा दल बल धन खर्चेर महँगा भद्दा संविधान बन्छन् र जलेर खरानी हुन्छन्। शासकलाई फुक्का राँगो बनाउने र जनतालाई कर्तव्यका नाममा थुन्ने मार्ने संविधानको के काम?
तसर्थ संविधान राष्ट्र निर्माताको दिव्योपदेश हुनुपर्छ भन्ने देशभक्त विज्ञहरुको मागमा तुक छ। किनभने त्यसमा दलीय गन्ध र शासकिय स्वार्थ छैन। बरु राष्ट्र संचालनको मूलमन्त्र छ। एकताको ध्वनी छ। स्वर्ग भन्दा प्यारो देशको आत्मा छ। माटोको सुवास छ। नेतृत्व-प्रजा र देशलाई राष्ट्र मालामा उनेर राख्ने संकल्प छ।
किनभने दिव्योपदेश नेपाली अग्रजहरुको रगत-पसिना, ज्ञान-अनुभव र माटोको मसीले लेखेको राष्ट्रवादी दस्तावेज हो। त्यसले शासकलाई आचारसंहिता तोकेको छ। अधिकार होइन कर्तव्यबोध गराएको छ। फुक्का होइन अनुशासनको घेरामा कसेको छ। प्रजालाई सर्वाधिकार सम्पन्न र बलिया बनाउने मार्गदर्शन दिएको छ।
अन्त्यमा, हामी राष्ट्र निर्माताले जोडेको भूगोलमा छौं। तर हामी भित्र भित्र बाइसे चौबिसे जस्तै अथवा ६० औं टुक्रामा बिभाजित छौं। हाम्रो तन मन ध्यान विभाजित छ। प्रदूषित छ। मन धुजा धुजा फाटेको छ। त्यही फाटेका मनहरुले हो पूर्वाग्रह प्रतिशोध साँध्न र असहमतिलाई खरानी बनाउन आगो लगाएको। अझ पनि हाम्रो तुष, रिस र
आक्रोशले अर्को आन्दोलन पर्खिराखेको छ। अर्को अग्नी युद्धको प्रतिक्षामा छ हाम्रो आक्रोश।
ढीलो भएपनि आज नेपालीहरुको चेतना खुलेको छ। सधैंको लागि बन्द होस् इतिहास धर्म संस्कृति सम्पदा र राष्ट्रिय एकता माथिको तुच्छ अनैतिक गाली। भौतिक विध्वंशकारी र आतङ्ककारी आक्रमण। अग्नि युद्ध र खरानी बेच्ने खेल। लेण्डुपेहरुको विलय खेल।
राष्ट्रिय एकताको जागरणले आठौं संविधान, सानो जनपक्षीय राष्ट्र हितको संविधान राष्ट्र निर्माताको दिव्योपदेशलाई स्वीकार्ने सार्थक राष्ट्रिय बहस चलोस्। दिगो र दीर्घकालीन एकताको वातावरण निर्माण होस्।
फाटेका मनहरु जोडिएर हामी नेपाली हाम्रो नेपालको गौरवगाथा, साझा धून बज्न शुरु होस्। नेपालपथ नेपालवाद अथवा पृथ्वीपथमा स्वाधीन मुलुकको स्वतन्त्र यात्रा प्रारम्भ होस्।
सारा नेपालीका मन मन्दिरमा रहेको राष्ट्र निर्माताको तस्बिर हरेक कार्यालय र कार्यकक्ष तथा घर-घरमा टाँस्ने राष्ट्रिय गौरवको सुसंस्कृति शुभारम्भ होस्। त्यो नै राष्ट्र निर्मातालाई उच्च सम्मान र भावपूर्ण श्रद्धासुमन हुने छ।
















Facebook Comment