समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाबाट नासोको रुपमा प्राप्त भएको देशलाई समृद्ध र सबल रुपमा भावी पुस्तालाई जिम्मा लगाउनुपर्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए।
उनले भने, ‘सामान्य अवस्थामा छैन र यो कुरा भदौ २३ र २४ गतेको घटनाले पुष्टि गरेको छ। हाम्रो पुर्खाबाट नासोको रुपमा प्राप्त गरेको यो पुण्यभूमिलाई सकेसम्म समृद्ध र सबल बनाएर आउने पुस्तालाई जिम्मा लगाउने नसके पनि हामीले यसलाई कतैबाट पनि तलमाथि हुन नदिई सङ्लो रुपमा आउने पुस्तालाई दिन सक्नुपर्छ। यो हाम्रो कर्तव्य नै हो। त्यो कर्तव्यको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प छैन। देशलाई माया गर्ने, देश बचाउने र बनाउन चाहनेहरुको पार्टी भनेकै राप्रपा हो।’
यस्तै, उनले २०६२–२०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको भन्दै आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए।
आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा जानु पर्ने भन्दै मुलुकमा अभिभावकको भूमिकामा राजसंस्था हुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नेहरु एक हुनुपर्ने बताए।
सोही क्रममा राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नेपाली जनताको प्रत्यक्ष अभिमतबिना नै लादिएको संघीय धर्म निरपेक्ष गणतन्त्रको कारणले नेपालको राष्ट्रियता कमजोर, अर्थतन्त्र संकटग्रस्त, बेरोजगारी बाहिरी शक्तिहरुको चलखेल र प्रभाव बढेको बताए।
उनले भने, ‘नेपाली जनताको प्रत्यक्ष अभिमतबिना नै लादिएको संघीय धर्म निरपेक्ष गणतन्त्रको कारणले गर्दा अहिले नेपालको राष्ट्रियता कमजोर भएको छ, अर्थतन्त्र संकटग्रस्त छ, भ्रष्टाचारको महारोगबाट देश आक्रान्त छ, बेरोजगारी समस्या बढेको छ, बाहिरी शक्तिहरुको चलखेल र प्रभाव तिव्र रुपले बढेको छ। यी सबै घटनाको कारणले गर्दा मुलुकको राष्ट्रिय स्वाधिनतामा संकट थपिँदै गएको छ।’
उनले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त गर्न नसक्ने भन्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गर्नुपर्ने बताए।
भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्नुपर्ने भन्दै राप्रपाले निर्वाचन जिते हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने पनि उनको भनाई छ।







डिसी नेपाल








Facebook Comment