‘ह्युब्रिस’ पागलपन र ‘देउवा-गुट’ को संकिर्णता
इतिहासको कालखण्डमा कहिलेकाहीँ यस्तो समय आउँछ, जब मौन बस्नु भनेको अपराध हो। जब देशको भविष्यलाई केही थान ‘कात्रो’ ओढेका जिउँदा लासहरूले बन्धक बनाउँछन्, तब बोल्नु मात्र होइन, चिच्याउनु धर्म हुन्छ। आज नेपाल ठ्याक्कै त्यही बिन्दुमा उभिएको छ।
नेपालको राजनीति अहिले एउटा डरलाग्दो ‘ब्ल्याक होल’ मा फसेको छ। विशेष गरी, लोकतन्त्रको हिमायती दाबी गर्ने नेपाली कांग्रेस आज चुनावको मुखैमा उभिएर आत्महत्याको बाटो रोज्दैछ।
यसको कारण अरू कोही होइन- संस्थापन पक्ष भनिने शेरबहादुर देउवा, उनको स्वेच्छाचारी अहंकार र उनलाई ‘भगवान’ मानेर कुमार-परिक्रमा गरिरहने त्यो घृणित स्वार्थ समूह (Coterie) हो, जसले पार्टीलाई विभाजनको डिलमा मात्र पुर्याएको छैन, लोकतन्त्रकै धज्जी उडाएको छ।
हामीले सोचेका थियौं, समयसँगै नेता परिपक्व हुन्छन्। तर, हाम्रो दुर्भाग्य! हाम्रा नेताहरू परिपक्व होइन, ‘कुहिएर’ गन्हाउने अवस्थामा पुगिसकेका छन्। पार्टी वा देशको शक्ति हात पार्न हाँसेर पुग्ने, तर समय सकिँदा र औचित्य समाप्त हुँदापनि कुर्सीबाट ननिस्किने जुन ‘लुतो’ कांग्रेसलाई लागेको छ, त्यो अब क्यान्सर बनेर नेपालका प्रायः सबै दलको साझा रोग बनेको छ।
महाधिवेशनको म्यान्डेट र देउवाको ‘धृतराष्ट्र’ मोह
विडम्बनाको हद हेर्नुहोस्- आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेसभित्रै आज प्रजातन्त्रको हत्या भइरहेको छ। जब पार्टीका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू, जो पार्टीका वास्तविक मालिक हुन्, विशेष महाधिवेशनमार्फत नेता, नीति र नेतृत्व फेर्न तयार भएर हस्ताक्षर बोकेर उभिन्छन्, बंकरभित्र लुकेको नेतृत्व त्यसलाई सामना गर्नुको साटो ‘बहाना’ र ‘विकल्प’ को दलदलमा धकेल्न व्यस्त हुन्छ।
के यसलाई लोकतन्त्र भनिन्छ? होइन! यो त देउवा र उनको समूहको सिधा-सिधा राजनीतिक, वैचारिक र नैतिक हार हो। बहुमतसँग डराउने नेतृत्व, कार्यकर्ताको आवाज सुन्दा तर्सिने नेतृत्व र विधि छल्नका लागि गुटको पर्खाल लगाउने नेतृत्व कहिल्यै प्रजातान्त्रिक हुन सक्दैन।
देउवा समूहले बुझिराखे हुन्छ- तिमीहरूले आज विधि मिचेर जुन ‘जित’ को उत्सव मनाउँदै छौ, त्यो कांग्रेसको इतिहासमा ‘कालो दिन’ को रूपमा दर्ता भइसक्यो। त्यति धेरै प्रतिनिधिले ‘रिजेक्ट’ गर्दा पनि, नैतिकताको कन्तुर रित्तिएर पार्टी फोड्न तयार हुने देउवालाई इतिहासले ‘नेता’ भन्ला कि ‘भष्मासुर’?
राजनीतिक क्यान्सर: ह्युब्रिस सिन्ड्रोम
अब अलिकति गहिराईमा जाऔं। हाम्रा पुराना नेताहरू किन यस्ता भए? के उनीहरू जन्मजात खराब मान्छे थिए? होइन।
उहाँहरू ‘ह्युब्रिस सिन्ड्रोम’ (Hubris Syndrome) को शिकार हुनुभएको छ। यो सत्ताको यस्तो नशा हो, जहाँ लामो समय कुर्सीमा बसेपछि मान्छेलाई लाग्न थाल्छ— “म नै राज्य हुँ, म छैन त यो देश नै चल्दैन, सूर्य नै उदाउँदैन।” आज देउवा, ओली वा प्रचण्डको अनुहारमा हेर्नुहोस्, त्यहाँ जनताको सेवकको विनम्रता होइन, एउटा विक्षिप्त शासकको घमण्ड देखिन्छ।
उहाँहरूको अर्को मनोवैज्ञानिक समस्या हो- ‘सङ्क कस्ट फ्यालेसी’ (Sunk Cost Fallacy)। उहाँहरूलाई लाग्छ- “मैले जेल बिताएको छु, मैले टाउको फुटाएको छु, त्यसैले देश चलाउने र लुट्ने लाइसेन्स मेरो मात्र हो।” तर खबरदार! लोकतन्त्र भनेको हजुरबाहरूले विगतमा गरेको त्यागको ‘ब्याज’ खाने थलो होइन।
यो त भविष्यको नतिजा दिने प्रणाली हो। तपाईं जेल बस्नुभयो, हामी सम्मान गर्छौं। तर जेल बस्नु योग्यता (Qualification) होइन, त्यो राजनीतिक घटनाक्रम मात्र हो। जेल बसेको प्रमाणपत्र देखाएर आजको डिजिटल युगको नेतृत्व गर्न खोज्नु भनेको गोरुगाडा चढेर अमेरिका जान खोज्नु जस्तै हो।
उहाँहरूले दलहरूमा ‘आइरन ल अफ ओलिगार्की’ (Iron Law of Oligarchy) लागू गर्नुभयो। अर्थात्, संगठन जति ठूलो भयो, सत्ता त्यति नै सानो र साँघुरो घेरामा (३-४ जनाको सिन्डिकेटमा) बन्द भयो। नयाँ नेतृत्वका लागि ढोका बन्द गरियो, प्रश्न गर्ने गगन-विश्वहरूलाई ‘षड्यन्त्रकारी’ भनियो, र आलोचना गर्नेलाई ‘सिध्याउने’ खेल खेलियो।
यसको नतिजा के भयो? आज देशमा ‘क्याकिस्टोक्रेसी’ (Kakistocracy) अर्थात् ‘अयोग्यहरूको शासन’ चलिरहेको छ। जो सबैभन्दा खराब छ, जो सबैभन्दा भ्रष्ट छ, जो सबैभन्दा अनैतिक छ- उही आज मन्त्री छ, उही आज टिकट पाउँछ। अब देशलाई चाहिएको ‘त्याग’ को कथा सुनाउने थोत्रो टेप रेकर्डर होइन, अब देशलाई चाहिएको छ- ‘मेरिटोक्रेसी’ (Meritocracy), अर्थात् योग्यताको शासन।
पात्रहरू: कांग्रेसको ‘शव’ माथि नाच्ने गिद्धहरू
देउवा एक्लै यो पतनका जिम्मेवार छैनन्। उनलाई अन्धो बनाएर, वरिपरि घेरा हालेर लुटको स्वर्ग जोगाउन तल्लीन त्यो ‘स्वार्थ समूह’ (Interest Group) को अनुहार नाङ्गो पार्न जरुरीछ।
-शरणार्थी प्रकरणका दागी बालकृष्ण खाँण: आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने जस्तो जघन्य राष्ट्रघात गर्नेहरू आज देउवाको दायाँ हात बनेर बस्दा कुन नैतिकताले कांग्रेसले भोट माग्ने?
-मोहन बस्नेत: जसको नाम जोडिँदा ‘टेरामक्स’ र ‘स्वास्थ्य सामग्री’ को गन्ध आउँछ, ती आज शक्तिकेन्द्रका हर्ताकर्ता छन्।
-विजय गच्छदार: जो जता सत्ता, उतै ढल्किने ‘बर्खाको भेल’ जस्ता छन्, उनीहरूको राजनीति कहिले देशका लागि थियो र?
-सुलसुले सिटौला: जसको काम नै भित्रभित्रै सहमति र विमतिको पासो थाप्ने, कहिले माओवादीलाई बोक्ने त कहिले देउवालाई काँध हाल्ने। देश डुबोस् मतलब छैन, आफ्नो ‘स्पेस’ रहिरहोस्।
-घुसघुसे पूर्णबहादुर: बाहिर केही नबोल्ने, तर भित्रभित्रै पार्टीलाई विधानविपरीत चलाउने र गुटको रोटी सेक्ने मुख्य योजनाकार।
-विरासतका व्यापारी प्रकाशमान: गणेशमान सिंह जस्तो लौहपुरुषको नाम बेचेर राजनीतिलाई ‘पारिवारिक पेवा’ बनाउँदै हिँड्ने, तर पार्टीभित्रै बहुसंख्यक कार्यकर्ताको आवाज नसुनी घोसेमुण्टो लगाएर देउवालाई हलचल गर्न नदिने।
यी पात्रहरूले प्रजातन्त्रको नाममा राजनीति त घुमाए, तर पार्टीलाई ‘प्राइभेट लिमिटेड कम्पनी’ भन्दा तल्लो स्तरमा झारे। देउवासँगै कांग्रेस खुम्च्याउन उद्दत यी सबैलाई आगामी चुनाव र पार्टी महाधिवेशनबाट ‘बढारेर’ फोहोरको डंगुरमा नफ्याँकेसम्म जीवन्त कांग्रेसको परिकल्पना गर्नु मृगतृष्णा मात्र हो।
सर्वत्र उही ड्याङको मुला
यो रोग कांग्रेसमा मात्र सीमित छैन। नेकपा एमालेलाई हेर्नुहोस्- त्यहाँ ‘बा’ को विकल्प सोच्न मनाही छ। पद छोड्न नसकेर केपी ओलीले विधान नै बदल्दै, उमेर हद हटाउँदै तेस्रो कार्यकाल सुरक्षित गरे। उनी पार्टीका अध्यक्ष होइनन्, ‘महाराज’ भएका छन्।
उता माओवादी केन्द्रमा ‘चटके’ प्रचण्डले विचारभन्दा पद रोजे। उनले माओवादलाई, हजारौं सहिदका सपनालाई र घाइतेका चित्कारलाई बागमतीमा बगाइदिएर केवल ‘प्रधानमन्त्री’ बन्ने गणितमा जिन्दगी बिताए।
अझ लाजलाग्दो र डरलाग्दो कुरा त यो छ- नयाँ राजनीति गर्छु, पुरानालाई विस्थापित गर्छु भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समेत पदकै कारण, ‘मै ठूलो’ भन्ने अहमकै कारण सहकार्य नपाएर कुलमान घिसिङ जस्ता नतिजा दिने मान्छेहरू बाहिरिनु पर्यो वा जोडिन सकेनन्।
यसले के देखायो? समस्या पुरानो वा नयाँ दलको साइनबोर्डमा होइन रहेछ, समस्या त हाम्रो ‘राजनीतिक डीएनए’ मा रहेछ। समस्या ‘पद र शक्ति आर्जन’ (Origin of Power) मा रहेछ।
देशले के पाउने? त्यो कसैको एजेण्डामा परेन। देश जित्ने राजनीति आवश्यक थियो, तर यहाँ व्यक्ति जित्ने र देश हार्ने खेल मात्र भइरह्यो।
इतिहासको चेतावनी
के सत्तामा सधैं टाँसिइरहँदा देश बन्छ? इतिहासका पाना पल्टाएर हेर्नुहोस्, रगतले लेखिएका चेतावनीहरू छन्:
-जिम्बाब्वे: रोबर्ट मुगाबेले स्वतन्त्रताको लडाइँ लडे, नायक बने। तर ३७ वर्ष सत्तामा टाँसिएपछि उनी ‘भिलेन’ बनेर मरे। उनले देशलाई यस्तो कंगाल बनाए कि मान्छेहरू बोरामा पैसा बोकेर पाउरोटी किन्न जानुपर्ने भयो। हाम्रा देउवा-ओलीहरू मुगाबे पथमा छन्।
-श्रीलंका: राजापाक्षे परिवारले पनि ‘हामीले युद्ध जितेको’ (Sunk Cost) भन्दै देशलाई पारिवारिक पेवा बनाए। अन्त्यमा जनताले राष्ट्रपतिको दरबार कब्जा गरेर लखेट्नु पर्यो।
-रोम साम्राज्य: सत्ताको मोहले गणतन्त्रबाट निरंकुशता आयो, र विश्वको सबैभन्दा शक्तिशाली साम्राज्य पतन भयो।
शेक्सपियरको नाटक Julius Caesar मा एउटा संवाद छ:
“The fault, dear Brutus, is not in our stars, but in ourselves.”
(गल्ती हाम्रो भाग्य वा नक्षत्रको होइन ब्रुटस, गल्ती सत्तामा टाँसिने र दास बन्ने हाम्रो आफ्नै स्वभावको हो।)
अबको बाटो: निर्मम अपरेसन
अब टालटुले सुधारले पुग्दैन। अब ‘प्यारासिटामोल’ खाएर यो क्यान्सर निको हुँदैन, अब ‘किमोथेरापी’ र ‘सर्जरी’ नै चाहिन्छ।
नेता र नेतृत्वको लोकतान्त्रिक देन भनेको आफू कुर्सीमा टाँसिने होइन, आफ्नो विकल्प उत्पादन गर्न सक्नु हो। एउटा असल गुरु त्यो हो जसले आफूभन्दा अब्बल चेला उत्पादन गर्छ। तर यहाँ त जो पुग्यो, उसले बाटो छेकेर, भर्याङ तानेर, मृत्युपर्यन्त त्यहीँ बस्ने कस्तो घृणित प्राक्टिस?
त्यसैले, अब विशेष महाधिवेशनले मात्र होइन, देशको संविधानमै यी बुँदाहरू ‘पत्थरको लकिर’ सरह लेखिनुपर्छ:
– २ कार्यकाल प्रधानमन्त्री (Two Term Limit): अमेरिकामा जस्तै, जोसुकै होस्, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने। (ताकि देउवा, ओली, प्रचण्डको अध्याय सधैंलाई बन्द होस्।)
– प्राइमरी इलेक्सन (Primary Election): टिकट वितरणमा नेताको खल्ती र भान्छाकोठाको सूची होइन, पार्टीका साधारण सदस्यको भोट चल्नुपर्छ। जसलाई जनताले रुचाउँछन्, उसले टिकट पाउनुपर्छ।
– सांसदको लिमिट (Term Limit for MP): ४ पटकभन्दा बढी सांसद बन्न नपाउने। यहाँ त हजुरबा देखि नातिसम्म एउटै व्यक्ति सांसद भइरहने? नयाँले कहिले मौका पाउने?
यदि यी नियमहरू लागु गरिएन भने, लेखेर राख्नुहोस्- आज देउवा-ओली-प्रचण्ड छन्, भोलि अरू नयाँ अनुहारका देउवा-ओली–प्रचण्डहरू जन्मिरहनेछन्। व्यक्ति फेरिन्छ, प्रवृत्ति फेरिँदैन।
अन्तिम लडाइँ
अन्य दलका ज्यूँदा र सचेत युवाहरूले अब गगन थापा-विश्वप्रकाशहरूबाट सिक्नुपर्छ- पार्टीभित्रै विद्रोह कसरी गर्ने। चुनाव पदका लागि होइन, एजेन्डाबाट जनमन जित्ने प्रतिस्पर्धा हुनुपर्छ।
‘हाइब्रिड सिद्धान्त’ बोकेर, कांग्रेस पनि हुने कम्युनिष्ट पनि हुने, हिन्दूवादी पनि हुने धर्मनिरपेक्ष पनि हुने— यस्तो खिचडी पकाएर देश उँभो लाग्दैन। स्पष्ट विचार, स्पष्ट नेतृत्व र स्पष्ट सीमा चाहिन्छ।
अबको लडाइँ कांग्रेस बचाउने वा एमाले बचाउने होइन। अबको लडाइँ नेपाल बचाउने हो। यो देश कुनै नेताको बपौती होइन। यो देश कुनै गुटको प्राइभेट लिमिटेड होइन। जो देउवाको, ओलीको वा प्रचण्डको ‘दास’ बनेर बस्न चाहन्छ, उसले इतिहासको कठघरामा जवाफ दिनुपर्नेछ।
अब प्रश्न एउटै छ देश जित्ने राजनीति गर्ने कि, पद जित्ने खेलमै देश हारिरहने?
जागौं ! समय घर्किसकेको छ।
















Facebook Comment