बंगलादेशी फिल्ममा अग्रहरी : क्षमता र कला प्रदर्शनका लागि कुनै देश वा भाषाले छेक्दैन्

डिसी नेपाल
१ माघ २०८२ ९:२४
52
Shares

काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता प्रमोद अग्रहरी आफ्नो अब्बल अभिनयमा कारण दर्शकका मनमा दिर्घकालीन छाप छोड्न सफल बन्दै गएका छन् ।

रंगमञ्चबाट उदाएका अग्रहरीले २०१३ मा प्रदर्शन भएको चलचित्र ‘उमा’बाट आफ्नो करियर सुरु गरेका हुन् । उक्त फिल्मले उनलाई सिने क्षेत्रमा पहिचान दिलायो । उनी प्रायः खलनायकको भूमिका देखिन्छन्, नकारात्मक भूमिका निर्वाह गरेका कारण उनी चिनिएका छन् ।
वास्तवमा भन्ने हो भने उनले निभाएका खलनायक पात्रहरू दर्शकले नायकभन्दा बढी रुचाएका छन् ।

भावनात्मक गहिराई, शक्तिशाली संवाद प्रस्तुत, शारीरिक हाउभाउ र अब्बल अभिनयका कारणले पनि उनलाई बढि रुचाइएको हो । नकारात्मक भूमिकामा उनी अभिनय मात्र गर्दैनन्, पात्रमै बग्छन् ।

नकारात्मक पात्रका पीडा, क्रूरता, द्वन्द्व र मौन आक्रोशलाई उनले सजिलै आत्मसाथ गर्न सक्छन् । उनका आँखामा बोल्ने आगो, संवादभन्दा भारी मौनता, र स–साना हाउभाउले दर्शकलाई असहज बनाइदिन्छ र यही असहजता नै सफल नकारात्मक पात्रको पहिचान बन्न पुग्छ ।

उनको अभिनय राष्ट्रियस्तरमा मात्र अब सिमित रहेन ,अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा पनि आफूलाई स्थापित गर्न उनी सफल भएका छन् । बंगलादेशी फिल्म ‘हाङ्गोर’ मा अभिनय गर्दै बंगलादेशको ढलिउड फिल्म उद्योगमा अग्रहरीले डेब्यू गरेका हुन् । ‘हाङ्गोर’ मा पनि उनले आफ्नो पहिचानअनुसार कडा र चुनौतीपूर्ण चरित्र निर्वाह गरेको छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूलाई दुई तीन वर्ष अगाडिदेखि नै‘हाङ्गोर’मा अफर आएको भन्दै कथावस्तुले आफूलाई आकर्षित गरेको जानकारी दिए ।

उनले भने,‘दुई–तीन वर्ष अगाडिदेखि नै कुराहरू भइरहेको थियो । उहाँहरू नेपाल पनि आउनुभएको थियो र भेट भयो । सुहाउँदो क्यारेक्टरका विषयमा गफ भएको थियो । त्यसपछि तयारीहरू सुरु भएको थियो , मलाई यस चलचित्रको कथावस्थुले नै आकर्षित गरेको थियो ।’ फरक भाषा र सांस्कृतिक परिवेशमा अभिनय गर्नु कुनैपनि कलाकारका लागि सजिलो हुँदैन । बंगलादेशी फिल्ममा काम गर्नु प्रमोदका लागि केवल नयाँ बजारमा प्रवेश मात्र होइन, भाषा र संस्कृतिको ठूलो चुनौती पनि थियो।

उनी भन्छन् ,‘अरूको भाषामा काम गर्दा कठिन नै हुन्छ । मार्केटको बारेमा थाहा हुँदैन । काम गर्ने तरिका थाहा थिएन । चुनौति धेरै थियो । आफूलाई प्रमाणित गर्नको लागि अनि एउटा भाषादेखि लिएर सबै कुराहरूमा काम गर्नुपर्ने भएको हुनाले अप्ठ्यारो थियो। तर अप्ठ्याराहरूलाई चिर्दै, पार गर्दै राम्रो प्रोजेक्ट तयारी भयो ।’

त्यस्तै आफ्नो फिल्ममार्फत नेपाली इन्डस्ट्रीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्नु नै आफ्नो ठूलो सफलता भएको उनी ठान्छन् ।
‘म एकदमै खुशी छु । इन्टरनेसनल मार्केटमा आफ्नो उपस्थिति र इन्डस्ट्रीलाई त्यहाँसम्म पु¥याउन सक्नु खुशीको कुरा हो । यसैलाई लिएर मापदण्ड या त्यसको मापन गर्नु ठीक लाग्दैन । कसरी हुन्छ आफ्नो कामलाई मात्र नभइ फरक भाषामा काम गर्न पाउनु राम्रो कुरा हो । आफ्नो देशलाई र कलालाई त्यहाँसम्म पु¥याउन पाउनु एवम नेपाली सिनेमाको एउटा नयाँ मार्केट खोज्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने ।

फिल्मको मानसिक र शारीरिक तयारीका लागि विगत दुई वर्षदेखि आफू लागेको उनले सुनाए । यसमा थप्दै उनले भने ,‘दुई वर्ष त म मानसिक र शारीरिक रुपमा तयारीमा थिए’

आफ्नो क्षमता र कला प्रदर्शनका लागि कुनै देश वा भाषाले नछेक्ने उनको अनुभव छ । उनको यो अनुभवले नेपाली कलाकारहरू अन्तर्राष्ट्रिय बजारमा जाँदा भाषा बाधा होइन, चुनौती मात्र हो भन्ने सन्देश दिएको छ । मेहनत, तयारी र आत्मविश्वास भए फरक भाषा र संस्कृतिमा पनि नेपाली कलाकारले आफूलाई स्थापित गर्न सक्ने उनी बताउँछन् ।

उनको अनुसार फिल्ममा मछुवाहरूहरुको कथा समेटिएको छ । एउटा सही मान्छे कसरी गलत ट्रयाकमा जान्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ ।

उनले भने,‘एउटा नर्मल मान्छे, फिशरम्यान हुन्छ । मछुवाहरूकाृ कथा त्यसमा समेटिएको छ । एउटा सही मान्छे कसरी गलत ट्रयाकमा जान्छ भन्ने कुराहरू देखाइएको छ ।’

ईद पर्वका अवसरमा प्रदर्शन गर्न लागिएको यस फिल्म नेपालमा पनि प्रदर्शन गर्ने तयारी थालिएको छ । फिल्मले दर्शकको मन जित्न सफल हुने कुरामा अग्रहरी विश्वत छन् ।

इन्टरनेसनल मार्केटमा नेपाली इन्डस्ट्रीको लागि एउटा सानो नयाँ बजार खोज्ने कोसिस आफुले गरेको उनले बताए । आफू नितान्त एउटा कलाकार भएर बाँच्न चाहने मान्छे भएको भन्दै उनी ‘हिरो’ वा ‘भिलेन’ जस्ता ट्याग आफूमाथि लगाउनु भन्दा पनि एउटा राम्रो कलाकारको ट्याग आफूले चाहेको र पाइपनि राखेको धारणा राखे ।

बंगलादेशी फिल्ममा नेपाली कलाकारको सहभागिता आफैंमा दुर्लभ मानिन्छ। त्यसमा पनि प्रमुख भूमिकामा देखिनु उनको करियरका लागि मात्र होइन, नेपाली सिने उद्योगका लागि पनि गर्वको विषय बनेको छ।

नेपाली चलचित्र क्षेत्रमा खलनायकको भूमिकामा दर्शकको मन जित्न सक्ने उनी एकमात्र अभिनेता हुन् । आज प्रमोद अग्रहरीको नाम नकारात्मक भूमिकाको सन्दर्भमा सम्मानका साथ लिइन्छ । उनले प्रमाणित गरेका छन् नायक बन्न सबै सक्छन्, तर खलनायकलाई अमर बनाउन सक्ने कलाकार थोरै हुन्छन् । र ती थोरैमध्ये प्रमोद एक सशक्त नाम हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.