लोकपर्व : नरहरी
भौगोलिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्वलाई पनि भिन्न भिन्न नामले र भिन्न भिन्न ढंगले मनाउने प्रचलन छ। यसको उदाहरण माघे संक्रान्ति हो। माघे संक्रान्ति नेपाली समाजमा गहिरो धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको प्रमुख चाड हो।
नेपालको हिमाल, पहाड, तराइमा बसोबास गर्ने क्षेत्री, ब्राह्मण, राई, लिम्बू, मगर, नेवार, गुरुङ, थारु आदि सबै जाजजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, रीतिरिवाज, विभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।
तराईका थारु जातिले नयाँ वर्षको रुपमा माघी भनेर मनाउँछन। मगर समुदायले माघ्या-सेल्हेर्स भनेर आफ्नो मुख्य चाडको रुपमा धुमधाम साथ मनाउँछन्। प्राचीन कालदेखि नै यो पर्वलाई ऋतु परिवर्तन, आध्यात्मिक शुद्धता र सामाजिक समन्वयसँग जोडेर हेरिँदै आएको छ।
सुदूरपश्चिममा पनि माघे संक्रान्तिलाई फरक फरक नाम र तरिकाले मनाइन्छ। पहाडी जिल्लाहरुमा माघे संक्रान्तिलाई ‘नरहरी’ भन्ने गरिन्छ भने तराइका थारु जातिले ‘माघी’ भन्ने गर्छन्। पहाडबाट तराईमा र गाउँबाट शहरमा बसाइँसराइ भएसँगै ‘नरहरी’ शब्दलाइ ‘माघी’ वा ‘माघे संक्रान्ति’ का नामले बढी चिनिन्छ।
जुन नामले पुकारे पनि नरहरी पर्व मनाउने तरिकामा खासै भिन्नता पाइँदैन। तथापि भूगोल परिवर्तन, साधनस्रोतको उपलब्धता र सहजताको कारण परम्परागत रुपमा पहाडमा मनाइने ‘नरहरी’ वा ‘माघे संक्रान्ति’ तराई वा सहरबजारमा मनाइने ‘नरहरी’ वा ‘माघे संक्रान्ति’ मा भिन्नता पाइन्छ।
जनश्रूतिको आधारमा भन्ने हो भने ‘नर’ भनेको मानिस र ‘हरी’ भनेको भगवान हुन्। यसरी हेर्दा नरहरी भनेको भगवानमा लिन हुनु भन्ने बुझिन्छ। धार्मिक दृष्टिले नरहरी पर्व अत्यन्तै पवित्र मानिन्छ। यस दिन पवित्र नदी, तीर्थस्थल वा घरमै स्नान गरी भगवान विष्णु र सूर्यदेवको पूजा-आराधना गर्ने परम्परा छ।
स्नान, दान र ध्यान गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। विशेषगरी तिल, चामल, घ्यू, गुड तथा वस्त्र दान गर्ने चलनले दानशीलता र परोपकारको भावना अभिवृद्धि गर्दछ।
कसरी मनाइन्छ ?
पुसे पन्द्रबाट नै पानीको मुहान जस्तै गाड (नदी), खोला, न्वालो, धारो इत्यादिको नजिक दाउरा, मुडा थुपार्ने चलन छ। जसलाई नरहरी हाल्ने भनिन्छ। कहिँकतै ‘मुणिखात’ पनि भन्ने गरिन्छ। यसरी माघे संक्रान्ति भन्दा केही दिन अगाडिदेखि नै नरहरी हाल्ने गरिन्छ।
नरहरीको आगो ठूलो बनाउन र धेरै दिनसम्म निभ्न नदिन ठूला ठूला दाउरा, रुखका मुडा, सल्लाको झुरो (दियालो) र फल (सिउँता, सल्ली डाङर) जम्मा गरिन्छ। अझ बाँजको मुणालाई पहिलो रोजाइमा राखिन्छ। किनकी बाँजको मुणाको आगो र कौल (कोइला) धेरै दिनसम्म पनि निभ्दैन।
माघ १ गते उज्यालो हुनुपुर्व नै घरका सबै सदस्यहरु नरहरी हालेको स्थानमा गै स्नान गर्ने गर्दछन्। पहाडमा चिसो हुने भएकोले चिसो पानीमा नुहाउन गाह्रो हुन्छ। तथापि नरहरीको दिन भगवानले शक्ति प्रदान गरेकाले चिसो पानीमा नै नुहाउने प्रचलन बढिजस्तो देखिन्छ।
नुहाएर शुद्ध भै नरहरी बालेको अग्निमा तिल, जहुँ र फूलले पूजा गर्ने गरिन्छ। साथै अघिल्लो दिन पकाएको मिष्ठान्न भोजन जस्तै तरुल, सखरखण्ड, निसौसे, माणा, सेलरोटी इत्यादि आगोमा चढाउने गरिन्छ।
अग्निलाई भगवानको रुपमा पुज्ने परम्परा हिन्दु धर्ममा पाइन्छ। बलिरहेको नरहरीमा तिलको सुकेको बोट हालेर आगो ताप्नाले वर्षभरीको पाप पखालिन्छ भन्ने मान्यता पनि रहि आएको पाइन्छ।
गाउँघरमा पायक पर्ने जति घरपरिवारहरु एक ठाउँमा जम्मा भएर नरहरी पोल्ने गर्दछन्। खासगरी केटाकेटीहरु नरहरी हाल्न र पोल्नमा रमाउने गर्दछन्। गाउँघरमा केटाकेटीहरुबीच कस्को नरहरी ठुलो भया? कसले छिटो उठेर नरहरी पोल्यो? कसको नरहरी धेरै दिनसम्म निभेन? जस्ता कुराहरुमा प्रतिस्पर्धा हुन्छ।
नरहरीमा आगो सल्काउँदा निङालाको राँको बनाएर प्रयोग गरिन्छ। बलेको आगोमा निङाला हाल्दा पड्किने पनि गर्छन्। जसलाई केटाकेटीहरु रमाइलोको रुपमा लिन्छन्।
नरहरी पुस मसान्तबाट नै सुरु भैसकेको हुन्छ। पुस मसान्तको बेलुकी प्रत्येक घरमा स्वादिष्ट लोकपरिकारहरु निसौसे, माणा, सेलरोटी, खिर इत्यादि पकाउने गरिन्छ। सबभन्दा सुरुमा पाकेको परिकारलाई कागको लागि छुट्याइन्छ। जुन परिकार दोस्रो दिन अर्थात् माघे संक्रान्तिको बिहानै कागलाइ दिइन्छ।
पुस मसान्तका दिन जंगल गएर बन तरुल कोरेर ल्याउँछन। कसैकसैको घरमा भने तरुल लगाइएको हुन्छ। जसलाई घरतरुल (घरतौड) भन्ने गरिन्छ। पुस मसान्तको साँझ घर तरुल वा बन तरुल, गिठा, पिँडालु उसिनेर खाने गरिन्छ। उसिनेको तरुल दोस्रो दिन माघे सङ्क्रान्तीको बिहान पनि नुहाइधुवाइ गरेर खाने गरिन्छ।
टाढिएका परिवारका सदस्यहरु, आफन्तजन, इस्टमित्रहरु पुस मसान्तको दिन एक ठाँउमा जम्मा हुन्छन्। सामुहिक भोजन गर्छन्। खाना खाइसकेर आगोको नजिक बसेर लोककथाहरु, बातै, राउनेइ बातै इत्यादि सुन्ने र सुनाउने गरिन्छ। पुस मसान्तको रातभरी अगेनाको छेउमा बसेर परिवारका सदस्यहरु, आफन्तजन मिठा मिठा गफहरु गर्छन्। बातै हाल्छन्। रमाइलो गर्छन्।
नरहरीको दिन बिहानै घरमा सेलरोटी, खजुरा, बटुक, जस्ता डोटेली लोकपरिकारहरु पकाउने गरिन्छ। जसलाइ डोटेली लोकसंस्कृतिमा ‘बास उठाल्ने’ भनिन्छ।
नरहरी माघ महिनाको पहिलो दिन हो। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाइ ‘मकर संक्रान्ति’ पनि भनिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने गर्छ। यस दिन बिहानै घरका जेष्ठ सदस्यले सबैलाई टीका लगाइदिने गर्छन्।
छोरीहरुलाई टीका लगाएर दक्षिणा दिने प्रचलन रहेको छ। ब्राह्मणहरु पनि बिहानै आफ्नो यजमानको घरमा गई निस्त्रा माग्ने गर्छन। यजमानले आफ्नो गक्ष अनुसार ब्राह्मणलाई टीका लगाएर दानदक्षिणा र सिदा दान गर्ने गर्छन्।
शिशिर रितुमा पर्ने नरहरीमा तिल, चाकु-गुड, घ्यू, तरुल, खिचडी जस्ता परिकारले ऊर्जा बढाउने र रोग प्रतिरोधात्मक क्षमता सुधार्ने विश्वास छ। नरहरीको दिन सामान्यतया बिहानको खानाको रुपमा खिचडी खाने प्रचलन पनि रहिआएको छ।
महाभारतका अनुसार भिष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गंगा नदीलाई पृथ्वीमा अवतरण गराइ सागरमा मिलाएका थिए।
नरहरीको दिन कागको पनि विशेष महत्व हुन्छ। कागलाई स्वर्गका राजा यमराजको सन्देश (सुचना) वाहकको रुपमा लिने गरिन्छ। त्यसकारण नरहरीको दिन कागलाई सम्मान र श्रद्धाका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ।
घरमा पाकेको पकवानलाइ बाहिर आँगनमा गएर ‘का कौव का, मेरो घरको भात खा’ भन्दै कागलाई बोलाएर दिइने प्रचलन रहिआएको छ। उसो त माघ महिना भरी नै कागलाई घरमा बिहान पाकेको खाना आफूले खानु भन्दा पहिल्यै दिने प्रचलन रहिआएको छ।
चेलीत्यारको रुपमा नरहरी
नरहरीमा विवाहित महिलाहरु माइत जाने चलन रहेको छ। माघ महिनामा छोरीहरुको माइतमा विशेष सम्मान हुन्छ। विवाहित छोरीहरुलाई त्यार दिने चलन पनि डोटेली लोकसंस्कृतिको महत्वपूर्ण पक्ष हो। सकेसम्म नरहरीकै दिन आफ्ना विवाहित छोरीहरुलाई माइती बोलाएर मीठो मसिनो खुवाउने, दुखसुख्खका बात गर्ने गरिन्छ।
यदि यो दिन अनुकुल परेन भने माघ महिनाभरी माइती पक्षले आफ्नो घरका र आफुले मान्ने नजिकका छोरी, फूपू, बहिनीलाई आफू अनुकुल त्यार दिने परम्परा रहिआएको छ। नरहरी र माघ महिनालाई विवाहित छोरीहरुले आफ्ना माइती सँग भेट हुने त्यारको रुपमा लिन्छन्।
विवाहित छोरीहरु माघको महिनाभरी माइतीको बाटो हेरेर बसिरहेका हुन्छन्। जतीबेला सञ्चारका साधन थिएनन्, माइती सँग भेटघाट हुन धेरै समय कुर्नु पथ्र्यो, त्यो समयमा माघी त्यारको उच्च महत्व रहेको थियो। टाढा टाढा बिहे हुन्थ्यो। भेटघाट हुन्थेन। हालखबर पाइन्नथ्यो।
शुभअशुभ खबर पाउन पनि मुस्किल हुन्थ्यो। त्यस्तो समयमा विवाहित छोरीहरुलाई त्यार दिने प्रचलन महत्वपूर्ण थियो। त्यारको रुपमा डोटेली लोकपरिकारहरु निसौसे, माणा, खजुरा, खिर, फुलीखाजा, फाँको, लाउनबाबर (सेलरोटी) इत्यादि दिने चलन छ।
बसाइँसराइले गर्दा त्यारमाणो दिने चलन नहटे पनि त्यारमा दिने भोजन परिकार भने फेरबदल भएको देखिन्छ। साधनस्रोतको उपलब्धता र सहरीकरणले गर्दा परम्परागत डोटेली लोकपरिकारहरु पकाउन नसकिने भएकोले त्यसको बिकल्पको रुपमा फलफूल, मिठाई र आधुनिक परिकारहरु लग्ने गरिन्छ।
सामुहिकताको संस्कार
डोटेली लोकसंस्कृतीको सबैभन्दा सुन्दर पक्ष भनेको सामुहिक भावनाको अभ्यास हो। समाजमा मनाइने विभिन्न चाडपर्व, सामाजिक सांस्कृतिक उत्सवहरु र जात्राहरु सामुहिक रुपले मनाउने प्रचलन अत्यन्त प्रसंसनीय र अनुकरणीय छ। बिसाँै होस् कि ओल्के, पन्द्रै रात होस् कि नरहरी, दशैँ होस कि दुत्य, सबै चाडपर्वहरु समाजका सदस्यहरु एकै ठाउँमा बसेर मनाउन चाहन्छन्।
सबैमा सामुहिक एकताको भावना हुन्छ। आत्मीय प्रेम त भातृत्वको सम्बन्ध हुन्छ। हुनेले नहुनेलाइ सहयोग गर्छन्। गोरस नहुने घरमा गोरसको अभाव हुँदैन। चाडपर्व बारेको घरमा चाडपर्वको बखत मिष्ठान्न परिकारको कमि हुँदैन। बालबच्चालाई आफ्नो घरमा चाडपर्व नमनाएको अनुभूति हुँदैन।
अन्ततः नरहरी केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण, स्वास्थ्य चेतना र प्राकृतिक सन्तुलनको प्रतीक हो। यो धार्मिक, सांस्कृतिक, स्वास्थ्य तथा कृषि सबै दृष्टिले महत्वपूर्ण चाड हो। यसले प्रकृति, समाज र जीवनशैलीसँगको सन्तुलन सिकाउँछ र नेपाली संस्कृतिको मौलिकता झल्काउँछ।
आधुनिक समयमा पनि यस पर्वले हामीलाई आफ्ना मौलिक परम्परा, मानवीय मूल्य र प्रकृतिप्रतिको सम्मानलाई जीवित राख्न प्रेरणा दिन्छ। युवापुस्तालाई आफ्नो संस्कृति बुझ्ने र अपनाउने अवसर दिन्छ। परिवार र समाजलाई एकतामा बाँध्ने काम गर्छ। समाजमा मानवता र सहयोगको भावना विकास गर्छ।
कृषि र प्राकृतिक सन्दर्भमा हेर्दा नरहरी पर्वले ऋतु परिवर्तनको स्पष्ट संकेत दिन्छ। यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ। कृषकहरूका लागि यो समय नयाँ कृषि कार्यको तयारी र आशाको संकेत हो। यसले प्रकृति र मानव जीवनबीचको घनिष्ठ सम्बन्धलाई उजागर गर्छ। स्वास्थ्यका दृष्टिले पनि नरहरी पर्वको विशेष महत्व छ।
जाडो मौसमको चरम अवस्थामा शरीरलाई ऊर्जा र ताप प्रदान गर्ने तिल, चाकु, घ्यू, तरुल र खिचडी जस्ता परिकार सेवन गर्ने परम्परा वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ। यी परिकारले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र चिसोबाट हुने समस्याबाट जोगाउने विश्वास गरिन्छ।
















Facebook Comment