कृषि ज्ञान केन्द्र बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना
बाजुरा । बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
शुक्रबार मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन्। जिल्ला कृषि ज्ञान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरी निर्वाचनका कार्य संचालनमा ल्याईएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी र संचारकर्मीको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।
उनले जिल्लाका अति संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने जानकारी दिए। बाजुरामा निर्वाचनको इज्जत गुमेकाले चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन सबैले संयमित हुनुपर्ने बताएका हुन्।
बाजुरामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए। बाजुरा चुनावको बेला चर्चामा आउँने जिल्लाको रुपमा चिनिन्छ। विगतका जस्ता घटना घट्न नदिन सबैले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।
साथै उनले निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने बताए। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास आफूले लगेको प्रजिअ निरौलाले बताएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुखसहित पत्रकारको सहभागीता थियो।
बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन्। ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्। जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिए।
उनका अनुसार, ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका हुन्। जिल्ला निर्वाचन कार्यालयले यसअघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो। नौं वटा स्थानीय तह रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए।







डिसी नेपाल







Facebook Comment