कांग्रेसको ‘संकट’: ‘सबै समेट्ने’ भ्रम र दागीहरुको क्लब भत्काउने चुनौती

जितेन्द्र जिसी
४ माघ २०८२ ७:४७
2.3k
Shares

नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन; यो नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय हो। २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को गणतन्त्र स्थापनासम्म, कांग्रेस सधैं मियोका रूपमा उभियो।

तर, आजको नेपाली कांग्रेस त्यो गौरवशाली इतिहासको ब्याज खाइरहेको, तर वर्तमानको परीक्षामा निरन्तर फेल भइरहेको एउटा दिशाहीन संस्थाजस्तो देखिन थालेको छ। प्रणाली र प्रकृया भन्दा बाहिर पुगेको देखेर “डीरेल्ड” काङ्ग्रेसलाई लिकमा ल्याउन गगन-विश्वले “ग्राउण्ड काङ्ग्रेसीलाई साथ लिएर ईलाईट काङ्ग्रेसिलाई” प्रजातान्त्रीक प्रकृया प्राक्टिकल्ल्री देखाई दिए, सराहनिय तरिकाले ।

आज कांग्रेस विचारको संकटमा छैन। बीपी कोइरालाको समाजवाद र गणेशमान सिंहको त्यागको गाथा अझै पनि जीवित छ।र, त्यसमा विश्वले नाम थपे । आज कांग्रेस व्यक्तिको अभावमापनि छैन; गाउँदेखि केन्द्रसम्म लाखौं कार्यकर्ताको फौज तयार छ।

विडम्बना के हो भने, आज नेपाली कांग्रेस इतिहासकै सबैभन्दा गम्भीर ‘नैतिक नेतृत्व संकट’ सँग जुधिरहेको छ। गगन-विश्वले अब संकटमोचनको कामपनि गर्ने अपेक्षा गर्न सकिन्छ।

यद्यपि यो संकट बाहिरबाट आएको होइन। यो कुनै वामन्थी षड्यन्त्र वा नयाँ दलहरूको उदयले सिर्जना गरेको बाह्य दबाब होइन। यो विशुद्ध आत्मघाती संकट हो-पार्टीभित्रैबाट जन्मिएको, गुटतन्त्रमा हुर्किएको, भागबन्डामा मौलाएको र अहिले विस्फोटको संघारमा पुगेको एउटा त्रासदी हो। यस्तो अवस्थाले आराजु वा प्रकाश देउवाहरु जन्माउछ अनि बलकृष्ण खाँण, दिपक खड्काहरु हुर्काउछ तर पार्टीको आत्मा सुकाउछ।

‘सबै समेट्ने’ भ्रम र यथार्थको अन्त्य

पछिल्लो समय कांग्रेस नेतृत्वले एउटा कर्णप्रिय नारा अघि सारेको छ- “सबैलाई समेटेर लैजाने।” सुन्दा लोकतान्त्रिक र समावेशी लाग्ने यो वाक्यांश आज कांग्रेसभित्रको सबैभन्दा ठूलो झूट र पाखण्ड बनेको छ।

वास्तविकतामा, “सबै समेट्ने” भन्नुको अर्थ पार्टीभित्र एकता कायम गर्नु होइन; यसको भित्री अर्थ हो-असफलता, भ्रष्टाचार र अकर्मण्यतालाई लुकाउनु। दागपनि घिसार्दै सबैका निधारमा लगाउनु हो, चारतारेमा अर्को कालो तारा थप्नु हो। त्यस्तालाई उतै देउवा कै आसपासमा हिम्मत साथ थन्काउनु उचित हुन्छ। २-४ सीट कम आउलान त्यस्का लागी मन बलियो बनाउदा गज्जब हुनेछ।

भ्रष्टाचारका गम्भीर आरोप लागेका, अख्तियारको रडारमा परेका, विगतका निर्वाचनमा आफ्नै क्षेत्रमा पराजित भएका र जनताको विश्वास गुमाइसकेका अनुहारहरूलाई ‘सिनियर नेता’ वा ‘अनुभवी’ को नाममा फेरि अगाडि सार्नुलाई नै नेतृत्वले ‘एकता’ को जामा पहिराएको छ।

लोकतन्त्रमा एकता भनेको सिद्धान्त, विचार र जनादेशको सम्मानमा हुन्छ। तर, कांग्रेसमा एकता भनेको ‘भागबन्डा’ मा सीमित भएको छ। हार्नेले पनि हिस्सा पाउने, जित्नेले काम गर्न नपाउने र भ्रष्टले संरक्षण पाउने यो कस्तो लोकतान्त्रिक एकता हो?

लोकतान्त्रिक पद्धतिमा जनादेश  सर्वोच्च हुन्छ। जब कार्यकर्ता र जनताले कुनै अनुहारलाई अस्वीकार गर्छन्, नेतृत्वले त्यसलाई स्वीकार गर्नुपर्छ। तर, कांग्रेसमा हारको पुनरावृत्तिलाई नै ‘सबै समेट्ने’ रणनीतिको रूपमा व्याख्या गरिँदैछ। यो जनमतलाई कुल्चिने र कार्यकर्ताको विवेकमाथि प्रहार गर्ने षड्यन्त्र बाहेक केही होइन।

समस्या देउवा-तन्त्र 

अहिलेको बहस शेरबहादुर देउवा व्यक्तिमा मात्र केन्द्रित गर्नु अपूर्ण हुन्छ। देउवा अब एक व्यक्ति मात्र रहेनन्; उनी एउटा प्रवृत्तिको रक्षक र एउटा स्वार्थी संरचनाको मियो बनेका छन्। समस्या देउवा हुन् कि होइनन् भन्ने बहस अब अर्थहीन भइसक्यो।

समस्या हो-देउवाको वरिपरि निर्माण भएको त्यो पर्खाल, जसले भुइँमान्छेको आवाजलाई बालुवाटार र सानेपासम्म पुग्न दिँदैन। तीनिहरु जस्ले कार्यकर्ता कामगर्दा बिचौलियाको बाटो जान बाध्य बनाए ।पैसा नभए योग्यहरु पनि चिनेनेन ।पैसा बिना भेटपनि अस्विकार गरे ।

यो संरचना वा कोटरी   विचारले चल्दैन, पदले चल्छ। यसको ऊर्जा नीति, कार्यक्रम वा जनताको सेवाबाट होइन, सत्ताको लोभ र राज्य दोहनबाट प्राप्त हुन्छ। बालकृष्ण खाँण, मोहन बस्नेत, विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, दीपक खड्का, बद्री पाण्डे, विजय गच्छदार- यी नामहरू आज नेपाली कांग्रेसकालागि राजनीतिक बहसका पात्र रहन सकेनन्। यी नामहरू कांग्रेसको चुनावी अक्षमता, यथास्थितिवाद र जनतासँगको विच्छेदका प्रतीक बनिसकेका छन्।

यी ‘हेभीवेट’ भनिने नेताहरूको साझा विशेषता हो:

– विश्वसनीयताको संकट: यिनीहरूसँग अब आफ्नै गृह जिल्लामा चुनाव जित्ने नैतिक र राजनीतिक पुँजी बाँकी छैन।

-दागिएको छवि: यीमध्ये धेरैजसो गम्भीर भ्रष्टाचार काण्ड, नीतिगत अनियमितता वा सत्ताको दुरुपयोगको आरोपबाट मुक्त छैनन्।

– पुस्तान्तरणको बाधक: यिनीहरू नयाँ मतदाता (Gen Z) सँग संवाद गर्न सक्दैनन्। डिजिटल युगको आकांक्षालाई यिनको पुरानो ढर्राले सम्बोधन गर्न सक्दैन।

आन्तरिक वैधताको अन्त्य: पार्टीभित्रको आन्तरिक समीकरणमा पनि यिनीहरूले नैतिक बहुमत गुमाइसकेका छन्, केवल देउवाको ‘विशेषाधिकार’  को बलमा पद ओगटेका छन्।

यी नेताहरू कांग्रेसका “अनुभवी स्तम्भ” होइनन्- इतिहासको सम्मानका नाममा बोक्नुपरेका अचल बोझ हुन्। यी बोझहरू नबिसाएसम्म कांग्रेसको डुङ्गाले गति लिन सक्दैन।

‘आइरन ल अफ ओलिगार्की’ र कांग्रेसको नियति

राजनीतिक समाजशास्त्री रोबर्ट मिखेल्सले एक शताब्दीअघि आफ्नो प्रसिद्ध सिद्धान्त ‘आइरन ल अफ ओलिगार्की’ प्रतिपादन गर्दै चेतावनी दिएका थिए-“हरेक संगठन, चाहे त्यो जतिसुकै लोकतान्त्रिक दाबी गरोस्, अन्ततः केही टाठाबाठा व्यक्तिहरूको सानो समूह (Oligarchy) को नियन्त्रणमा पुग्छ, यदि त्यसलाई सचेत रूपमा रोकिने प्रयास गरिएन भने।”

आजको नेपाली कांग्रेस मिखेल्सको यो सिद्धान्तको ‘टेक्स्टबुक’ उदाहरण बनेको छ। कांग्रेस पार्टी अब आम कार्यकर्ताको रहेन। यो केही सिमित नेताहरूको ‘सिन्डिकेट’ मा परिणत भएको छ। संगठन चलाउन बनाइएका नियमहरूलाई नेतृत्वले आफ्नो सुविधाअनुसार व्याख्या गर्छ। विधान मिचिन्छ, महाधिवेशनको म्याद थपिन्छ, र विभागहरू गठन हुँदैनन्।

ओलिगार्कीको सबैभन्दा खतरनाक पक्ष के हो भने, यसले संगठनको मूल उद्देश्य (जनसेवा/राजनीति) लाई बिर्सेर ‘संगठन जोगाउने’ वा ‘पद जोगाउने’ कुरालाई नै अन्तिम लक्ष्य बनाउँछ। आज कांग्रेस नेतृत्वको सम्पूर्ण ध्यान देश कसरी बनाउने भन्नेमा छैन; अर्को महाधिवेशनमा सभापति कसरी जित्ने वा कसरी संसदीय दलको नेता भइरहने भन्ने गणितमा केन्द्रित छ।

विशेष महाधिवेशन: ‘ग्राउण्ड जेरो’ विद्रोह

यो आक्रोश र असन्तुष्टि केवल सामाजिक सञ्जालको खपत वा भावनामा आधारित छैन। यो ‘ग्राउण्ड रियालिटी’ मा आधारित छ।

भर्खरै सम्पन्न विशेष महाधिवेशनको माग बोकेर आएका बहुसंख्यक प्रतिनिधिहरूको आवाजलाई नेतृत्वले सुन्न चाहेन। देशभरबाट आएका कांग्रेसजनहरूले एउटै स्पष्ट सन्देश दिएका थिए- “पुराना, हारिसकेका र दाग लागेका अनुहार लिएर अब चुनाव जितिँदैन। २०८२ को मिसन बचाउने हो भने आमूल परिवर्तन अपरिहार्य छ।”

गगन थापा, विश्वप्रकाश शर्मा वा प्रदीप पौडेलहरूको नाम आज कुनै जादुयी करिश्माका कारण अगाडि आएको होइन। यो त राजनीतिक यथार्थको उपज हो। भुइँ तहका कार्यकर्ताले बुझिसकेका छन् कि परम्परागत नेतृत्वले अब नयाँ चुनौती र लहरलाई चिर्न सक्दैन।

तर, नेतृत्वले बहुमतको यो मनोविज्ञानलाई सम्बोधन गर्नुको साटो ‘सबै समेट्ने’ नाममा भागबन्डाको प्रस्ताव अघि सार्नु लोकतान्त्रिक अभ्यास होइन- यो लोकतान्त्रिक विश्वासघात हो। कार्यकर्ताले परिवर्तन मागेका छन्, नेतृत्वले यथास्थिति लादिरहेको छ। यो द्वन्द्वले अन्ततः विष्फोट निम्त्याउँछ।

संवैधानिक संस्थामाथि अवज्ञा : अधिनायकवादको पूर्वाभ्यास

पछिल्लो समय कांग्रेसका निवर्तमान सभापती देउवा र उनको स्वार्थ समुह नेतृत्वले निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निर्देशन र निर्णयलाई नमान्ने, सार्वजनिक रूपमा चुनौती दिने र अटेरगर्ने जुन प्रवृत्ति देखाएको छ, त्यो कांग्रेसको सात दशक लामो इतिहाससँग मेल खाँदैन।

कांग्रेसले सधैं आफूलाई विधि र संविधानको रक्षक दाबी गर्दै आएको छ। तर, आफ्नै पार्टीको विधान लागू गर्न नसक्ने र संवैधानिक आयोगले औंल्याएका त्रुटिलाई सच्याउन नमान्ने शैली लोकतन्त्रको होइन, सत्तालिप्साको हो। जब एउटा लोकतान्त्रिक दलको नेताले आफ्नै कार्यकर्ताको निर्णय र राज्यको कानुन स्वीकार गर्न सक्दैन, तब उसले सत्तामा टिक्न दुईवटा बाटो रोज्छ-

१. राज्यशक्तिको दुरुपयोग

२. बाह्य शक्तिको आशीर्वाद ।

यही कारणले आज कांग्रेसभित्र देखिएको अराजकता केवल आन्तरिक विवाद मात्र होइन; यो नेपालको लोकतन्त्रमाथिको संस्थागत संकट हो। यदि देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नै विधि मान्न तयार हुँदैन भने, भोलि अन्य दल वा शक्तिले संविधान नमान्दा कांग्रेसले कुन नैतिकताले प्रश्न उठाउने? त्यो भनेको काङ्ग्रेस नेतृत्वलाई असजिलोमा धकेल्ने प्रयस देउवा कम्पनीले गर्दै छ जुन लज्जाको विषय हो।

आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने तर व्यवहारमा लोकतान्त्रिक संस्थाहरूलाई नै धमिरा जस्तै सिध्याउन उद्यत ती ‘रिजेक्टेड’ नेताहरूको पछिल्लो हुँकारले उनीहरूको असली अनुहार उदांगो पारेको छ।

निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निर्णयलाई चुनौती दिने दुस्साहस केवल दम्भको उपज होइन, यो त आम नेपाली जनता र निष्ठावान कांग्रेस कार्यकर्ताहरूको भावनामाथि गरिएको भद्दा मजाक हो।

आफ्नै देशको विधि र विधानलाई कुल्चेर उनीहरू कसको इसारामा नाच्दैछन्? स्पष्ट छ- यो ‘हुँकार’ नेपाली माटोको होइन, कुनै अदृश्य विदेशी शक्ति वा स्वार्थ समूहलाई खुसी पार्न खेलिएको खतरनाक जुवा हो।

तर, याद राखून्-विधि मिचेर विदेशी प्रभुको आशीर्वादमा टिकिरहने सपना देख्नेहरूलाई इतिहासले नांगाे बनाएर सडकमा पुर्‍याउनेछ। काङ्ग्रेस कार्यकर्ताले विषेश महाधिबेसन बाटै देखाई दिए, देउवा समुहले हेर्नु पर्दछ कि बाबुरामको जस्तो सानो कचहरीमा बस्न तयार हुनु पर्दछ ।

अब यो अराजकताको अन्त्य सर्वोच्च अदालतको इजलासबाट हुनेछ, जहाँ संविधानको धारा र कानुनको व्याख्याले यिनलाई धरातलीय यथार्थको पाठ पढाउनेछ। विधिको शासनमा कोहीपनि ‘सुप्रिम’ हुँदैन भन्ने सत्य छिट्टै स्थापित हुनेछ।

यस घडीमा, शेखर कोइराला, चन्द्र भण्डारि लगायतका नेताहरूलाई गम्भीर प्रश्न र चुनौती छ- के तपाईंहरू पनि यही धमिलो पानीमा माछा मार्ने ‘उपसमूह’ मात्र बन्ने हो? कांग्रेसलाई सुधार्ने हो भने नेतृत्वको यो अलोकतान्त्रिक र परजीवी चरित्रविरुद्ध निर्णायक विद्रोह गर्न अब ढिला भइसक्यो।

कांग्रेसलाई गिजोल्ने, धमिल्याउने र विदेशीको क्रिडस्थल बनाउने मतियार बन्ने कि विधिको पक्षमा उभिने? कित्ता क्लियर गर्नुहोस्। अन्यथा, इतिहासले तपाईंहरूलाई पनि देउवा-प्रवृत्तिको ‘साझेदार’ का रूपमा मात्र सम्झिनेछ।

इतिहासको निर्मम फैसला

इतिहास निर्दयी हुन्छ। उसले कसैको नियत हेर्दैन, परिणाम हेर्छ। र, जसले इतिहासबाट पाठ सिक्दैन, इतिहासले उसलाई दण्डित मात्र गर्दैन, नामेट नै पारिदिन्छ। विश्व राजनीतिमा कांग्रेसजस्तै पुराना र शक्तिशाली दलहरू कसरी नेतृत्वको जिद्दी र परिवारवादका कारण समाप्त भए भन्ने दर्जनौं उदाहरण छन्।

-श्रीलंकाको पाठ: महिन्दा राजपक्षे कुनै समय श्रीलंकाका नायक थिए। तर उनले पार्टी (SLPP) र राज्यलाई आफ्नो परिवार र आसेपासेको ‘किल्ला’ बनाए। कार्यकर्ताको चेतावनी सुनेनन्, जनताको आक्रोशलाई बेवास्ता गरे। परिणाम- देश आर्थिक रूपमा टाट पल्टियो, राजनीति सडकमा पुग्यो, र दशकौं राज गरेको परिवार सत्ताबाट लज्जास्पद रूपमा उखेलियो।

-पाकिस्तानको पाठ: नवाज शरीफ र भुट्टो परिवारले लोकतन्त्रको नाममा पटक-पटक संस्थालाई आफ्नो अधीनमा राख्ने प्रयास गरे। परिणामस्वरुप, त्यहाँ लोकतन्त्र कहिल्यै बलियो हुन सकेन, बरु सेना, अदालत र जनताबीचको त्रिकोणीय टकरावमा देश फस्यो।

-ब्राजिलको पाठ: वर्कर्स पार्टी (PT) ले भ्रष्ट अनुहारहरूलाई जोगाउने र ‘सबै समेट्ने’ प्रयास गर्दा जनतामा चरम निराशा छायो। यही निराशाको जगमा दक्षिणपन्थी अतिवादी जायर बोल्सोनारोको उदय भयो।

नेपालमा पनि संकेत उस्तै देखिँदैछन्। कांग्रेसले भ्रष्टहरूलाई जोगाउँदा, विधि मिच्दा र जनभावना लत्याउँदा, त्यसले सिर्जना गर्ने शून्यता (Vacuum) मा लोकतन्त्र विरोधी, अतिवादी वा पपुलिस्ट शक्तिहरूको उदय हुने निश्चित छ। सन्देश स्पष्ट छ— जब पार्टी नेतृत्व जनताको होइन, स्वार्थको हुन्छ, तब पार्टी मात्र होइन, लोकतन्त्र नै कमजोर हुन्छ।

‘कोइराला’ थर र नेतृत्वको भ्रम
कांग्रेसको यो संकटमा शेखर कोइरालाको भूमिका पनि सन्देहपूर्ण देखिन थालेको छ। शेखर कोइरालाको राजनीति आज विचारको स्पष्टताभन्दा बढी ‘कोइराला’ वंशको विरासतमा टिकेको देखिन्छ।

नेतृत्व थरबाट होइन, स्पष्टता , साहस  र कनविक्सन बाट जन्मिन्छ। ग्रीक दार्शनिक प्लेटोले ‘द रिपब्लिक’ मा लेखेका थिए: “राज्य (वा संगठन) तब बिग्रिन्छ, जब अयोग्यहरू निर्णयकर्ता बन्छन् र योग्यहरू मौन बस्छन्।”

कांग्रेसको संकट यही हो- जोसँग भिजन छ (गगन, विश्वप्रकाश आदि), उनीहरू अझै पनि ‘समायोजन’ र ‘एकता’ को भाषामा अल्झिएका छन् वा निरीह देखिएका छन्। अनि जोसँग भिजन छैन, उनीहरू निर्णय गरिरहेका छन्। शेखर कोइरालाले आफूलाई ‘विकल्प’ दाबी त गर्छन्, तर संकटको बेला उनी बारम्बार नेतृत्वसँगै सम्झौता गर्न पुग्छन्। यो ढुलमुले चरित्रले कार्यकर्तामा थप निराशा भरेको छ।

यस्ता ढुलमुले स्वार्थ सिद्द गर्न निस्केका डा. साप अब क्लिनिक चलाउनुस ।अर्को समुह भनेर भेला र बैठक नगर्नुस । काङ्ग्रेस एक ढिक्का हुन दिनोस । अनि यस्ता लिङ्ग नै न छुट्टिएका मानिसलाई नेता मानेर कुमार परिक्रमा गर्नेहरु पनि अब भविष्य सुरक्षित गर्न लाग्दा हुन्छ ।र, त्यस्का लागी उपयूक्त समय पनि हो।

अदालत, संविधान र अन्तिम परीक्षण

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले दलको आन्तरिक लोकतन्त्रलाई सर्वोच्च मानेको छ। बहुमतको निर्णयलाई बेवास्ता गर्ने, महाधिवेशन छल्ने र तदर्थवादमा पार्टी चलाउने राजनीति अन्ततः सर्वोच्च अदालतको कठघरामा पुग्ने निश्चित छ।

नेपाली कांग्रेसले इतिहासमा सधैं आफूलाई संवैधानिकता र कानुनी शासनको पक्षधर दाबी गर्दै आएको छ। बीपी कोइरालाले अदालतको सम्मानका लागि जीवन नै दाउमा लगाएका थिए।

तर आजको नेतृत्वले संवैधानिक आयोग र अदालतलाई समेत चुनौती दिने जुन दुस्साहस गरिरहेको छ, त्यसले कांग्रेसको त्यो ऐतिहासिक दाबीलाई कागजको खोस्टोमा परिणत गर्दैछ। यदि कांग्रेस नै विधिविहीनताको बाटोमा हिँड्यो भने, यो देशमा विधिको शासन कसले जोगाउने?

कांग्रेस बचाउने कि कोटरी जोगाउने?

अन्त्यमा, नेपाली कांग्रेस आज दोबाटोमा उभ्याउने कोसिस निवर्तमान सभापती देउवा र उनका सहयोगी गर्ने गर्दै छन । अबको विकल्प एकदमै स्पष्ट र निर्मम छ:

१. या त स्वार्थी कोटरी  जोगाउने: देउवा र उनको वरिपरिका भ्रष्ट, अलोकप्रिय र असफल नेताहरूको झुण्डलाई ‘सम्मान’ र ‘एकता’ को नाममा बोकिरहने। जसको परिणाम २०८४ को चुनावमा पार्टीको लज्जास्पद हार र सम्भवतः विघटन हुनेछ।

२. या त पार्टी र लोकतन्त्र बचाउने: निर्मम बनेर ‘सर्जरी’ गर्ने। असक्षम नेतृत्वलाई बिदा गर्ने, भ्रष्टहरूलाई कारबाही गर्ने र पार्टीलाई विधि र विचारको ट्रयाकमा फर्काउने।

गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका नयाँ पुस्ताका नेताहरूका लागि पनि यो क्षण निर्णायक छ। अब भाषण र सामाजिक सञ्जालको स्टाटसले मात्र पुग्दैन। “सबै समेट्ने” नाममा सबैथोक गुमाउने कि, केही (पुराना नेता) छोडेर भविष्य जोगाउने? निर्णय उनीहरूले नै गर्नुपर्छ।

लोकतन्त्रमा परिवर्तन सधैं असजिलो, पीडादायी र जोखिमपूर्ण हुन्छ। तर, परिवर्तनलाई टार्नु वा पर सार्नु भनेको आत्मघाती हुन्छ। यो लडाइँ अब केवल सत्ता परिवर्तन वा सभापति फेर्ने प्रश्नमा सीमित छैन। यो नेपाली कांग्रेसको ऐतिहासिक अस्तित्व र नैतिक पुनर्जन्मको प्रश्न हो।

समय घर्किसकेको छ। इतिहासले अब ढिलो गर्नेलाई पर्खने छैन- उसले ठ्याक्कै समयमै आफ्नो निर्मम फैसला सुनाउनेछ। के कांग्रेस त्यो फैसला सुन्न तयार छ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.