निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगतयका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ। राससमा अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आइतबार सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयतपत्र वितरण गर्दै सञ्चामन्त्री खरेलले जिम्मेवार, जवाफदेही व्यावसायिक सञ्चार माध्यमका रुपमा राससले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए।
“फागुन २१ मा निर्वाचन हुँदैछ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ। मतदाता, राजनीतिक दल, सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन जिम्मेवारी छ“, मन्त्री खरेलले भने, “निर्वाचनलाई सफल बनाउन विगतमा पनि राससले असाध्यै महत्वपूर्ण भूमिका खेल्यो, अहिले पनि सोहीअनुसारको भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।“
पछिल्लो समय राससले आफूलाई निखार्दै अघि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सोहीअनुसार सेवा प्रवाहलाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सुझाव दिए।
फरक प्रसङ्गमा मन्त्री खरेलले समयको सीमितताका बीचमा पनि अन्तरिम सरकारले दीर्घकालीन महत्वका काम गरेको बताए। उनले देश बचाउन र बनाउन आआफ्नो क्षेत्रबाट इमानदारिताका साथ लाग्न सम्पूर्ण तह र तप्कालाई आह्वान गरे।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा योजनामा सहभागिता हुनु बचत मात्रै नभएर योगदानकर्ताको जीवनको सुरक्षा भएको बताए।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहँदा आफूले श्रमजीवी पत्रकारको हकहितका मुद्दा उठाउँदै आएको स्मरण गर्दै राससमा कार्यरत ज्यालादारी तथा करार सेवामा आवद्ध जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेकामा खुसी मिलेको बताए। “त्यो बेलाको अभियान अहिले पूरा गर्न सकेको छु”, उनले भने।
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उस्थितिमा रासस र कोषबीच अस्थायी, ज्यालादारी तथा करार सेवामा कार्यरत राससका जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपाल सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेपछि राससमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्ति लाभान्वित भएका हुन्।
कोषमा आबद्ध हुने योगदानकर्ताले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत रासस र ११ प्रतिशत योगदानकर्ताका तर्फबाट गरी मासिक ३१ प्रतिशतका दरले कोषमा सञ्चय हुनेछ। योगदानकर्ताले कोषबाट औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अपाङ्गता सुरक्षा, आश्रित परिवार सुरक्षालगायतका सुविधा पाउनेछन्। हाल नेपालमा करिब २६ लाख ५० हजार योगदानकर्ता कोषमा आबद्ध छन्।







डिसी नेपाल








Facebook Comment