चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ : कुन्ती शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती कुमारी शाहीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई जटिल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेकी छन् ।
नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा उनले जेनजी आन्दोलनका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासन अझैँ लागू नहुने अवस्था रहेको पनि बताइन् ।
शाहीले भनिन्, ‘जेनजीको आन्दोलनको माग एउटा थियो । हालको व्यवस्थालाई नै खारेज गर्ने भन्ने थियो । भ्रष्ट एवम कुशासन ल्याउने व्यवस्थालाई खारेज गरेर नयाँ ढङ्गबाट जाऔं भन्ने थियो । तर जेनजीहरूलाई अहिले फेरि अलमलाइएको, झुक्याइएको, षड्यन्त्रमा पारेर पुनः उही व्यवस्था, उस्तै कुशासन र भ्रष्टाचारको चङ्गुलमै फेरि फर्कने काम गरेको छ ।’
महामन्त्री शाहीले अबको विकल्पका लागि दल पार्टी भन्दा पनि देशलाई राखेर हरेक वर्गले सोच्ने बेला आएको बताइन् । ‘अबको विकल्प, दलभन्दा माथि, दलको विचारभन्दा माथि देश छ भन्ने कुरामा अघि बढ्नुपर्छ । हरेक दलभित्र भएका नेतागणहरूले, कार्यकर्ताहरूले र सर्वसाधारण जनताले देशका बारेमा सोच्नुपर्छ । नेपाली जनताले जो आफूलाई सार्वभौमसत्तासम्पन्न भनेर भनिरहेका छौँ, विशेष रूपमा बुद्धिजीवी वर्गले, यहाँका हरेक वर्गहरूले सोच्ने बेला भएको छ,’ उनले भनिन् ।
उनले वर्तमान निर्वाचन प्रक्रियाले देशलाई निकास दिन नसक्ने दाबी गर्दै, सबै दल र बुद्धिजीवी वर्गसहित देश र जनताको हित केन्द्रमा राखेर नयाँ सहमति निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
‘देशको सार्वभौमसत्ता केवल संविधानमा लेखेर होइन, व्यवहारमा कायम हुनुपर्छ । चुनाव मात्र समाधान होइन, नयाँ समझदारी र मार्गचित्र आवश्यक छ,’ उनले भनिन् । युवाहरू, महिला नेताहरू र संस्कारी, चरित्रवान व्यक्तित्वलाई राजनीतिमा अगाडि ल्याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘महिला नेतृत्वको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सक्षम, भ्रष्ट्राचारमुक्त र त्याग गर्ने महिला नेताहरूलाई अघि बढाउन समाज र मतदाताले सहयोग गर्नु आवश्यक छ ।’
शासन सत्ताको विकल्प अब सामाजिक न्याय, आर्थिक वृद्धि, वर्गीय हितको संरक्षण र राष्ट्रिय एकता सुदृढ गर्दै बलियो राज्य र समृद्ध जनता निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।
‘अबको विकल्प भनेको शासन सत्ता सञ्चालन गर्ने बेला भन्दा पनि पृथ्वी पथभित्र भएको सामाजिक न्यायका, आर्थिक वृद्धि, वर्गीय हित, राष्ट्रिय एकता, अखण्डता र अर्थतन्त्र बलियो बनाउने हो । देश, जनता र राज्यलाई बलियो बनाउने कुरामा अगाडि बढ्नुपर्ने अहिलेको विकल्प हो,’ उनले भनिन् ।
शाहीले दलभित्र महिलाप्रतिको दृष्टिकोण अझै सुधार गर्नुपर्ने बताइन् । उनका अनुसार हरेक पार्टीले महिला नेताहरूलाई सक्षम र चरित्रवान मान्न नसक्दा महिला आन्दोलन अघि बढाउन कठिनाइ भइरहेको छ ।
शाही भन्छिन्, ‘महिला देशका नागरिक हुन् । सक्षम नागरिक बन्नका लागि महिला अनेक चुनौति सामना गर्छिन्। तर पार्टीभित्र उनीहरूको योगदानको मूल्यांकन ठीक ढंगले भइरहेको छैन,’उनी थप्छिन्, ‘नेतृत्वहरूले आफू मन परेका व्यक्तिहरूलाई अघि बढाउँदा समाजले खोजेको नैतिक, संस्कारी र भ्रष्ट्राचारमुक्त नेतृत्व पाउँदैन ।’
उनले समाज र महिला मतदातालाई जागरूक हुन आह्वान पनि गरिन् । उनले भनिन्, ‘अब महिलाले, समाजले सोचेर, सक्षम र संस्कारी महिला नेताहरुलाई अगाडि बढाउनुपर्ने बेला आएको छ । त्यस्ता नेतृत्वलाई समर्थन गरेर मात्र समाजमा समानता र न्याय स्थापित गर्न सकिन्छ ।’ महामन्त्री शाहीले वर्तमान राजनीतिक परिस्थितिमा राजसंस्था आवश्यक र अनिवार्य शक्ति भएको बताइन् ।
शाहीका अनुसार विगतका केही आन्दोलनका क्रममा राष्ट्रपति भवन जलाइनु प्रणालीप्रति वितृष्णा रहेको बताइन् । उनले भनिन्, ‘राष्ट्रपति कुनै दल वा गुटको भयो भन्ने कारणले होइन, देश बचाउन, सार्वभौमसत्ता र अखण्ड राष्ट्र कायम राख्न राजसंस्था स्थायी शक्ति हो । यो अनिवार्य शक्ति हो भन्ने कुरा नेपाली जनताले महसुस गरेका छन् ।’ उनले वर्तमान राजनीतिक संकट र अव्यवस्थामा देशलाई दीर्घकालीन दृष्टिले सुरक्षित राख्न राजसंस्थाको भूमिका अपरिहार्य रहेको जोड दिइन्।
शाहीले देशका युवाहरूको अधिकार र सम्मानको सवाल उठाउँदै वर्तमान प्रणालीको आलोचना समेत गरिन् ।शाहीले भनिन्, ‘हामी १८–१९ वर्षको बीचमा कति कमजोर भएका रहेछौँ त रु हाम्रो सम्मान कहाँ गयो रु संविधानले सम्मानित ढंगबाट बाँच्ने व्यवस्था गरेको भए पनि विदेश जाने बेला पासपोर्ट अपहेलित हुँदैछौँ।’
उनले थपिन्, ‘भ्रष्टाचार र भ्रष्टाचारी सिस्टमले होइन, दल र नेताहरूले बनाएको हो । यसबाट मुक्त हुन अहिलेको अनिवार्य आवश्यकता राजासहितको प्रजातन्त्रलाई पुनः स्थापित गर्नु हो । दलभित्र नयाँ चरित्र स्थापना गरेर मात्र देश सुरक्षित राख्न सकिन्छ ।’
शाहीले वर्तमान व्यवस्थाप्रति असन्तोष व्यक्त गर्दै राजसंस्थालाई दीर्घकालीन स्थिरताको मुख्य शक्ति भनेर व्याख्या गरिन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा राजसंस्थाको भूमिका युवाहरूको दृष्टिबाट औँल्याइन् । शाहीले भनिन्, ‘अबको विकल्प भनेको नविन समझदारीबाट अघि बढ्नु हो । युवाहरू अहिले बुझ्न थालेका छन् कि राजसंस्था यो देशको एकताको आत्मा, सम्मानको प्रतिक र स्वतन्त्रताको प्रतिक रहेछ ।’
उनले आगामी निर्वाचनका लागि नागरिकहरुलाई आफ्नो मतदानको महत्व बुझ्न आग्रह गरिन् । उनले भनिन्, ‘मेरो एउटा भोटले, मेरो देशमा स्वतन्त्र भएको महसुस गराउनुपर्छ । मेरो भोटले मेरा पिढी सुरक्षित हुन्छ भन्ने महसुस गराउनुपर्छ । मेरो भोटले मेरा पुर्खाको सपना पूरा हुने महसुस गराउनुपर्छ । त्यो महसुस गरेर नै मात्र परिवर्तन छ । त्यो महसुस गरेर नै मात्र यो देश बच्न सक्छ, नत्र देश नरहने अवस्थामा छ ।’
अबको निर्वाचनमा जित वा हार भन्दा माथी देशको भावी संरक्षण र न्यायको पक्षमा भोट हाल्न आवश्यक रहेको बताइन् । उनले सबै नागरिकलाई मतदानलाई महादानको रूपमा लिन र सक्रिय सहभागी हुन आह्वान पनि गरिन्।







डिसी नेपाल








Facebook Comment