देउवाको ठाउँमा महरले पाए टिकट
काठमाडौं। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले चुनाव लड्ने भएका छन्।
पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन्। महर कांग्रेसमा देउवा पक्षकै नेता हुन्।
महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन्।
यसैबीच देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो।
‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन्।
२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए।
देउवा २०४८ देखि २०७९ सम्म लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।
देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा प्रत्यक्षतर्फ लगातार डडेल्धुराबाट विजयी भएका थिए। २०६४ सालमा कञ्चनपुर ४ र २०७० मा देउवाले डडेल्धुराबाहेक कैलाली ६ बाट पनि चुनाव जितेका थिए। सातपटक लगातार निर्वाचन जितेका एक मात्र नेता देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।
यसैबीच नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।
कैलाली क्षेत्र नम्बर ५ बाट डा.राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।
कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए।
सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएका हुन्।







डिसी नेपाल








Facebook Comment