रौतहटमा चुनावी सरगर्मी : उम्मेदवारी मनोनयन उत्साहजनक
रौतहट। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक रुपमा भइरहेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानैदेखि निर्वाचन अधिकृतको कार्यालयहरूमा राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ।
रौतहट क्षेत्र नम्बर ४ मा श्रम संस्कृति पार्टीका उम्मेदवार नवराज अर्यालले सबैभन्दा पहिले आफ्नो मनोनयन दर्ता गराएका छन्। उनले यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने पहिलो उम्मेदवार बनेका हुन्।
अर्याल लगत्तै मंगाेल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट वीरबहादुर थोकरले पनि आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हाल अन्य साना तथा ठूला राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराउने क्रम जारी रहेको छ।
क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार मनोनयन दर्ताका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ। उनले भने, ‘प्रक्रियालाई व्यवस्थित बनाउन हामीले विशेष ध्यान दिएका छौं। साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसकेका उम्मेदवारहरूको मात्र आज मनोनयन दर्ता गरिनेछ।’
कार्यालयले आवश्यक कागजातसहित समयमै दर्ता प्रक्रिया टुङ्ग्याउन उम्मेदवारहरूलाई आग्रह समेत गरेको छ। उम्मेदवारी दर्ताका क्रममा हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै रौतहट जिल्लाभरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
मतदाता, उम्मेदवार र समर्थकहरूलाई सुरक्षाको अनुभूति दिलाउन र हुलदंगा हुन नदिन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ। निर्वाचन अधिकृतका कार्यालय आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।
रौतहटका चारवटै क्षेत्रमा मुख्य राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएकाले आजको मनोनयन दर्तालाई जिल्लाभर निकै चासोका साथ हेरिएको छ।
विभिन्न दलका समर्थकहरू आ-आफ्नो झण्डा र नाराबाजीसहित निर्वाचन अधिकृतको कार्यालय पुग्दा चुनावी रौनकता थपिएको छ।







डिसी नेपाल








Facebook Comment