लघुकथा : अतिशय

भूमिका गैरे तिमिल्सिना
१० माघ २०८२ ७:३२
4
Shares

यिनीहरूको मित्रता साह्रै गाढा पो छ त? सबैका उदाहरण बनेका छन्। खाँदा, बस्दा, हिँड्दा कतिखेरै छुट्टिने होइनन् क्यार, के को मिलती हो? दुइटी भएसी कोही चाहिँदैन जस्तो गर्छन्। छिमेकमा गाइँगुइँ सुनियो।

रश्मी र कुशुम त्यस्तै थिएँ। उनीहरू एकछिन छुट्टिदैन्थे। दु:खसुख एकआपसमा साटासाट गर्थे। गाउँ, छरछिमेकको चाँसो राख्दैन्थे। उनीहरू आफ्नै धुनमा रमाएका थिए।

एउटीले चाँसो देखाउँदै भनी, “दुवैका विचार, सिद्धान्त मिलेपछि कस्को के लाग्छ? एक हुँन गुण पनि मिल्नुपर्छ क्या।” उसले मुख बङ्ग्याउँदै बोली।

अर्कीले सहमति जनाउँदै, ” होत कोही मान्छे देख्ने बित्तिकै मनपर्छ त कोही देखेसी रिस उठ्छ। ग्रह मिलेको त होला, हगि।” उसले आफ्नो राय राखी।

रश्मीको घरमा पूजा छ, सहयोग गर्न जानुपर्ने भन्दै बाटो लाग्छन्। त्यहाँ कुशुम नदेख्दा पहिलीले सोधी, ” खोई कुशुम देख्दिन त, आइनन् कि सन्चो भएन।” उसले गहन भावले सोधी।

रश्मी खिस्स हाँसी र भनी, ” अचानाको पिर खुकुरीले जान्दैन।” भन्दै आफ्नै धन्दामा लागी। परपाहुना, खाना व्यवस्थापनमा व्यस्तता जनाई।

पहिली अचम्म मान्दै मनमनै गुनी, ” के भएछ, किन मतभेद? झगडा भएको पनि थाहा भएन।” उसले आँफैसँग प्रश्न गरी।

अर्कीले वास्तविकता पत्ता लगाई र भनी, ” कान देऊ कुरा नदेऊ भन्थे, औषधि नि अति भए विष हुने रहेछ।” उसले साउती मारी।

लघुकथा : मकर सङ्क्रान्ति

सप्ताहमा गएको बेला सुनेकी थिएँ। गुरूले बडो गज्जबले भन्नु भएको थियो, निकै रोचक प्रवचन थियो। अहिले नि मेरो कानमा गुञ्जिरहन्छ। उमेर पुगेसी घुमौँला, धर्म कमाउँला भनेर हुँदैन रे, क्या! जीवनको गतिसँगै मिलाएर सबै गर्न जानियो भने मात्र सफल भइन्छ नत्र कालको ठेगान हुँदैन! कसकाे कतिखेर हो? माथ्लाघरे ठूलीले लामो सुस्केरा तान्दै साहिँलीलाई भनी।

साहिँलीले सहमति जनाउँदै, “त्यो त होनि तर खोई फुर्सद! वस्तुभाउ, पानीपधेँरो, दाउराघाँस, घरधन्दा यसोउसो गर्दागर्दै भ्याइँदैन। जहिलेनी पन्ध्र असारको चटारो, के गर्ने त?” उसले दुखेसो पोखी।

त्यतिकैमा पल्लाघरे आमोई आवाज दिँदै, ” के गरेछौ केटाटी हो, के को गन्थन हो?” कराउँदै भित्र पसिन्।

ठूलीले स्नेहका साथ आमोईको मुहार हेर्दै मुसुक्क हाँसी र भनी, “सप्ताहमा सुनेका कुरा गरेकी, आज सङ्क्रान्ति नदीमा नुहाउन जाऊ भनेकी हुँ।” उसले साहिँलीलाई पुलुक्क हेरी।

साहिँलीले उत्सुकता जगाउँदै आमोईलाई सोधी, “किन आज नै जानुपर्ने, अर्कोदिन गए हुँदैन। के छर यस पर्वको महत्त्व?” उसले आफ्नो जिज्ञासा मेटाउन खोजी।

आमोई केही गम्भीर हुँदै, त्यसै केटाटी भनेको होइन मैले। ल सुन, “माघ महिनाको पहिलो दिन माघी पर्व पनि हो। आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतिर जाने हुँदा दिन लम्बिँदै जान्छ र रात छोट्टिँदै जान्छ।” उनले आफ्नै लवजमा सम्झाइन्।

फेरि थपिन, “आजको दिन नदी, जलाशय, देवघाट, त्रिवेणी, रिडी, गङ्गासागर, प्रयागमा स्नान गर्नाले महास्नान,मठ मन्दिरको दर्शन गरि दान दिदाँ महादान हुन्छ। अनि खिँचडी, तरुल, चाकु, तिलको लड्डु लगायतका विशेष फल खाएमा शरीर पोषिलो भई निरोगी भइन्छ।” उनले विस्तारले बताइन्।

साहिँली वाल्ल परी र भनी, “कालो अक्षर भैँसी बराबर भन्थे हो रछ, अहिलेसम्म मैले धर्मको महत्व किन बुझ्न सकिन हँ?” उसले टाउको निहुराई र खिन्नता बोध गरी।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.