दर्शन

भगवान र महामानव

शंकरप्रसाद रिजाल
१० माघ २०८२ ७:२७
4
Shares

भारत एउटा त्यस्तो देश हो जसले करोडौं भगवानको जन्म गरायो र संसारको सबैभन्दा धनी भगवानको देश बन्न पुग्यो। संसारका अरु कुनै देशले भगवान शब्दको “भ” पनि भन्न र बोल्न नसक्ने अवस्थामा भारत वर्षमा ३३ करोड भगवानको स्वयम् सृजना गराइ संसारका अरु देशका मानिसलाई त्यसको भाव, तेज र शक्तिको बोध गराई सकेका थिए।

आफू र हरेक कुरालाई ईश्वरको रुप र भाव दिन सक्नु नै एक विशिष्टता हो भने ती सृजना गराइएका ३३ कोटी भगवानको बारेमा ठूला ठूला किताब, रामायण र महाभारतका ठेली र ग्रन्थ बनाउन सक्नु एक अर्को महान विशिष्टता मान्नु पर्दछ। त्यसै कारणले त भारतलगायत नेपाललाई मानव भूमि नभनी “देवभूमि” भनी मानार्थ सम्बोधन गरिएको छ।

एकातिर भारत र नेपाल भगवानको पुजारी भएको छ भने अर्को तिर भएका भगवानको अन्र्तध्यानपछि भए भरका सबै भगवानको मुर्तिहरु बनाई मुर्तिको देशले पनि प्रख्यात भएको हामी पाउँछौं। यहाँ भगवानको बास र भगवानको समाधि बराबर छ। यति हुँदा हुँदैपनि यहाँ एक सुखी छन् भने उनान्सय दुःखी किन बनिरहेका छन्?

किन ९५ प्रतिशत मानिस भोक प्यास र गाँस र बासले दुःख पाइरहेका छन्। के भगवानले पनि यस्तै दुःख पाइ देहावसान भएका होलान्? दुःख पाउने सूचीमा राखी पछिल्ला मानिसले जानी नजानी मुर्ति बनाइ पूजा गरेका होलान्।

वास्तवमा भगवान त आफैं सजिब हुने होइन, यो प्रत्यक्ष रुपमा काहीं कतै देखिँदैन। आफूलाई जे चिजको खाँचो भयो त्यही कुरालाई आराधना गरी त्यसको आवश्यकताको आधारमा ईश्वरको सृष्टि र सम्झना स्वरूप निरन्तर स्थापना भई आएको हुँदा आज यो भारत र नेपालमा ३३ कोटी भगवानको सृष्टि हुन गएको हो।

भगवान सजीव वा कुनै एउटा ज्यान र प्राण भएको मानिस होइन, बल्कि एउटा गुण नै गुणले सजिएको एक बिशाल र अनन्त विशेषण हो, जसलाई हामी शाब्दिक रुपमा अंग्रेजीमा गड नभनी “गडली” अर्थात् ईश्वरीय वा दैबी गुण पनि भनिन्छ। जसले धन, भाग्य, समृद्धि, सहभागी, मालिक भनौं वा राम्रो भाग्यको अभिबाहकको प्रतीकको रुपमा जनाउँछ। अर्को शब्दमा भन्ने हो भने गुण नै गुणको बान अथवा मशिहा भनेकोले “भगवान” भन्ने शब्दको नामाकरण हुन गएको बुजिन्छ।

यस्तो दैबी गुण भएका महामानव यो देश भारत र नेपालमा धेरै जन्मिए। सत्य युगमा ब्रम्हा बिष्णु महेश, दुर्गा र अनन्य शक्तिका प्रतिक, त्यस्तै ऋषि महर्षिहरु जन्मिए। त्रेता युगमा दशरथ, राम, लक्ष्मण, भरतर शत्रुघन जन्मिए र ऋषिहरुमा बाल्मिकी, वशिष्ठ जस्ता ऋिषिहरुको जन्म भयो र रावण जस्ता महापुरुषको जन्म भयो।

द्वापर युगमा आएर यस्तै गुणले सम्पन्न भएका महामानब कृष्णको जन्म भयो, जो यदुकुल वंशमाा जन्मिएका थिए। यसैगरी कलि युगमा आएर फेरि नेपालमा गौतम बुद्ध जन्मिए।

चीनमा लाओत्से जन्मिए भने भारतमा अनगिन्ति महामानव जैन मुनि, सन्त कबिर, गुरु नानक, हिमालयन बाबा, लाहेरी बाबा, सत्य सिरडी बाबा, सत्य साइबाबा, महान दार्शनिक ओशो रजनीश र अन्य दैवी शक्तिका सिद्ध पुरुषहरुको जन्म भयो। उनीहरुको कर्म र योगदान र गुणानुवादको दर्शनले पछिल्ला पिँढीका मानिसहरुले उनीहरुलाइ भगवानको नाम प्रदान गरी भगवानको दर्जा हासिल गरेको देखिन्छ।

पछि समयको कालक्रममा युरोप अमेरिकामा क्राइस्टको जन्मपछि सारा युरोप अमेरिकाले गोरा जातिको देवता भनी क्राइस्ट भगवानको रुपमा मान्न थाले भने बिस्तारै मुस्लिम जातिलेपनि आफ्नो भगवान मोहम्मद पेगम्बरलाई मान्न थाले। पछि धर्मका पुजारीहरूले आफ्नो आफ्नो देवतालाई धर्मको साँचोमा ढाली सबैले धार्मिक संस्थाको स्थापना गरी आ आफ्नो धर्म र देवताहरुको पूजा पाठ गरी आफ्नो संस्कारको बिकास गर्दै गए।

आज संसारमा देवता नमान्ने र मान्ने दुवै समाजमा आफ्नै ढंगले बसेका छन। दुवै आफ्नै बिचार, विश्वास र अविश्वासले जीबन बिताइ रहेका छन्। भगवान एउटा त्यस्तो बिम्ब हो जो माने छ र नमाने छैन। आजसम्म संसारमा सबैको अगाडि हेर यही हो भगवान भनेर देखाउने कोही आएनन्।

तर कोही कोही त्यस्ता पनि देखिए जसले भगवान आफैंले देखेको भनी दाबी गर्दछन्। कसैले शिव, कसैले राम, कसैले कृष्ण, कसैले बिष्णु, कसैले गणेश त कसैले भैरबको प्रत्यक्ष दर्शन गरेको दाबी गर्छन्।

दैवी गुण नै भगवानको प्रतिबिम्ब हो। यही आचरण र ब्यबहारले गर्दानै हिजो शिव भगवानमा गनिए, राम भगवानमा गनिए ,कृष्ण भगवानमा गनिए भने बुद्धपनि भगवानमा गनिए। त्यस्तै चीनका लाओत्से, महावीर, नानक, जैन मुनि, सन्तकबिर येशु क्राइष्ट, मोहम्मद पेगम्बरलाई भगवानको दर्जा प्रदान गरी आफूमा बिश्वाश लिएका छन्। यो भगवान मान्ने मानिस या समुदायपनि आखिर फेरि हत्या र हिंसामा लागेकै देखिन्छन्।

भगवानकै नाममा कति पशुहरुको बलिदान पनि गर्ने संस्कार बनाएका छन्। पछि सबै भगवानकै नाममा सबै कुरा आफ्नै हिसाबले निर्माण गर्दै गए र भगवानको रुपमा आराधना, पूजा र आराधना गर्ने प्रथा चलिआएको हो।

बास्तबमा भगवान नै ईश्वर हो, ईश्वर नै सत्य हो र सत्य नै शिव हो, जो सधैं निरन्जन र निराकार छन। उनी देवादिदेव अर्थात् देबताहरुलेपनि पुजन र आराधना गर्ने एकमात्र बिम्ब हुन् जो काल वा समय अनुसार चल्ने बिम्ब हो।

भगवानको नामबाट पुकारिएका विष्णुलेपनि आदर गर्नु पर्ने शिव तत्व हो। बाँकी विष्णुले समयनुसार अवतार धारण गरेको राम र कृष्ण हुन् जो मानवको बंशमा नै जन्मेका थिए। राम इच्छाकु बंशमा र कृष्ण यदुकुल बंशमा जन्मेका थिए भने अरु जन्मेका मानिसहरु आफ्नो कर्म, ज्ञान र सद्गुण बमोजिम मानिसबाट मानव भए भने मानवबाट महामानव बन्न गइ गुण नै गुणले सम्पन्न हुन गएकोले त्यस्ता व्यक्तिलाई एउटा गुणवान संस्कृत भाष्यमा भगवानको नामबाट पुकारी आएको देखिन्छ।

वास्तवमा शेद ब्यासको असली नाम कृष्ण द्वैपायन थियो। उनी इशापूर्ब ३००० आषाढ पुर्णिमाको दिनमा परासर ऋषि र सत्यबतीको गर्भबाट जन्मिइ उनबाट
शुकदेव जस्ता भागवतका प्रथम प्रबचनकर्ताको जन्म भएको भन्ने हामी इतिहासमा पाउँछौं।

पछि बेदलाई बिषय अनुसार छुट्टयाई १ रिग्बेदबाट चार बेद निर्माण गरी र श्रीमद्भागवतको सचित्र लेखन गर्नु भएकोले उनलाईपनि भगवान बेदब्यासको नामले पुकारिन थालियो। आखिर भगवानको गुण जतिले लिए ती सब मानिसहरु मानव र महामानव बनि देहावसान भए।

निष्कर्षमा भगवान भनौं वा ईश्वर, या दानव त्यो मानिस नै हो। गुणबान बन्न सक्यो भने भगवान भनी मानिन्छ भने त्यही मानिस अपगुण नै अपगुणले भरिएको छ भने दानव या सैतान भनी पुकारिन्छ। भगवानको पद्वी पाएका सबैलाई पुजिन्छ भने दानवको दर्जा पाएकालाइ सबैले तिरष्कार गर्दछन्।

अतः ईश्वर बन्नु छ भने आजैदेखि गुणबान बन्ने कोशिश सबैले गर्नु पर्दछ। मानिस त सबै मानिस नै हुन्। जन्मिएर सबै पहिले मानिस बन्ने हो भने उसको सुकर्मले मानव बन्ने हो भने जब उसका गुणको सुबास संसार भर फैलिदै जान्छ उति बेला उ महामानव बन्न जान्छ। महामानब नै पछि गएर भगवानको दर्जा पाइ भगवान बन्ने हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.