दोस्रो सुन्दरहरैँचा उपप्रमुख कपको उपाधि आमचोकलाई
सुन्दरहरैँचा (मोरङ)। यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ।
गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई पराजित गरेको हो। आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ अङ्ले सुन्दरहरैँचालाई पराजित गर्यो।
उपाधि विजेता आमचोकले शिल्ड मेडलसहित एक लाख ३३ हजार ३३३ रूपैयाँ नगद पुरस्कार हात पारेको छ। साथै द्वितीय हुने टिम सुन्दरहरैँचा नगरपालिकाले ६६ हजार ६६६ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख अकली चौधरी, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ, पूर्वराष्ट्रिय भलिबल खेलाडी पोष्टकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा सुन्दरहरैँचाका खेलाडी मनिका श्रेष्ठ वेस्ट लिब्रो र क्रिष्मा डाँगी वेस्ट स्पाइकर घोषित भए। साथै आमचोकका सरला राई वेस्ट डिफेन्स, रूमा श्रेष्ठ वेस्ट सेटर र आरूषा तामाङ वेस्ट प्लेयर घोषित भएर पुरस्कृत भए।
प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय भलिबल खेलाडी कृष्मा डाँगीलाई विशेष सम्मान गरिएको थियो। माघ ६ गतेदेखि सिद्धार्थ युवा समाज क्लबको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा महिला भलिबल टिमको सहभागिता थियो।







डिसी नेपाल








Facebook Comment