सर्लाहीका १ सय ५८ मतदानस्थल अतिसंवेदनशील

डिसी नेपाल
९ माघ २०८२ ८:०२
72
Shares

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका १५८ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदानस्थलको स्थलगत अनुगमनपछि यस्तो वर्गीकरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल रहेका छन्। तीमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सामाजिक, राजनीतिक, भौगोलिक अवस्था र सीमावर्ती क्षेत्रको जोखिम मूल्याङ्कनका आधारमा वर्गीकरण गरिएको जानकारी दिए।

जोखिम स्तरअनुसार नै निर्वाचन सुरक्षा रणनीति तयार पारिएको र सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ कडरियाको भनाइ छ । यसपटक सुरक्षा समितिको सिफारिसमा केही मतदानस्थल र मतदान केन्द्रको स्थानसमेत हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

निर्वाचन कार्यालयका अनुसार सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना हुने ६२८ मतदान केन्द्रमार्फत मतदान गर्नेछन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८७१ मतदाताका लागि ७८ मतदानस्थलमा १५७ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ केन्द्र रहनेछन्।

त्यसैगरी, क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ केन्द्र स्थापना गरिनेछ भने क्षेत्र नम्बर ४ मा १ लाख २१ हजार १२ मतदाताका लागि ८१ मतदानस्थलमा १५४ मतदान केन्द्र रहनेछन्।

आसन्न निर्वाचनमा सर्लाहीबाट कुल ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्। तीमध्ये २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य लिङ्गका मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनपछि जिल्लामा २२ हजार ५९५ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.