सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

डिसी नेपाल
९ माघ २०८२ २२:०९
12
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएकी छन्।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औं सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेसागत कौशल र उच्च व्यावसायिकताका साथ राष्ट्रसेवामा निरन्तर खटिनु सशस्त्र प्रहरीको परिचय बनेको बताइन्।

‘देशमा चलेको सशस्त्र द्वन्द्वदेखि पछिल्ला दशकमा पूर्वी पहाड, तराई तथा अन्य संवेदनशील क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका स्मरणीय छ’, प्रधानमन्त्री कार्कीले भनिन्। सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व सङ्कलनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ।

‘कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण कार्यक्षेत्र र प्रतिकूल परिस्थितिमा पनि निष्ठाका साथ राष्ट्रसेवामा समर्पित रहनु यस बलको विशेष पहिचान हो’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘सशस्त्र प्रहरीले प्रदर्शन गरेको साहस, सौर्य र पेसागत निष्ठाले नै सङ्गठनलाई जनताको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको छ।’

विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रसंशा गर्दै प्रधानमन्त्री कार्कीले सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ आसन्न निर्वाचनलाई सफल बनाउन निर्देशन दिइन्।

वर्तमान सङ्क्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न नेपाल सरकारले सम्पूर्ण शक्ति लगाएको उल्लेख गर्दै उनले सम्पूर्ण सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सफल पार्नुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीलाई अझ सक्षम, पारदर्शी, मानव अधिकारमैत्री र जनमुखी सुरक्षा निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.