मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

डिसी नेपाल
१० माघ २०८२ १७:१८
64
Shares

रौतहट। आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ।

विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन्। उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन्। धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ। गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन्।

चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन्। जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ।

धमलाका यी गतिविधिहरूलाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले उनलाई ’नौटंकी’ र ’सस्तो लोकप्रियताको भोको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले नेताहरू जनताको घरदैलोमा पुगेर काममा सघाउनु सकारात्मक भएको टिप्पणी गरेका छन्। रौतहट–४ मा धमलाको आक्रमक प्रचारले चुनावी नतिजालाई कस्तो प्रभाव पार्छ, त्यो भने निर्वाचनपछिको मतगणनाले नै स्पष्ट पार्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.