टाइगर कप भलिबलः पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी
कास्की। पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएकामा पुरुषतर्फ पर्वत भलिबल सङ्घ र गण्डकी प्रदेश विजयी भएका हुन्। महिलातर्फ भने एपिएफ र पुलिसले जित निकालेका छन्।
पुरुषतर्फ पर्वत भलिबल सङ्घले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ। पर्वत भलिबलले पुलिसलाई ३-२ को सेटमा स्तब्ध पार्यो। पहिलो सेट २५-२२ र दोस्रो सेट ३१-२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौँ सेटमा धकेलियो। पुलिसले तेस्रो सेट २५-२१ र चौथो सेट २५-१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो। निर्णायक सेटमा पर्वतले १५-१३ ले आफ्नो पक्षमा पार्न सफल भयो।
यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो। पहिलो सेट २५-१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्यो। पुलिसले दोस्रो सेट २५-१७, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्यो।
महिलातर्फकै अर्काे खेलमा एपिएफले थाइल्यान्ड क्विन्समाथि ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो।
थाइल्यान्डले तेस्रो सेट २५-२२ र चौथो सेट २५-२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलियो। पाँचौँ सेटमा सुरुआतबाटै अग्रता लिँदै एपिएफले १५-१३ को रोमाञ्चक जित निकाल्यो। पाँचौँ सेटमा खेलमा फर्किने प्रयास गरे पनि थाइल्यान्ड सफल हुन सकेन।
पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सोझो सेटको शानदार जित दर्ता गर्यो। गण्डकीले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो।
यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्नेछन्।
टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।







डिसी नेपाल








Facebook Comment