आर्थिक रुपान्तरणका लागि उज्यालो नेपाल पार्टीप्रति जनताको भरोसा बढ्दै गएको छः डा राजु थापा

डिसी नेपाल
१२ माघ २०८२ १३:३३
84
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले छोटो समयमै पार्टीले जनताको अतुलनीय विश्वास जितेको दावी गरेका छन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउने पनि बताए।

उज्यालो नेपाल पार्टीको मुल एजेन्डा भनेको हालसम्मका परिवर्तनहरुलाई संस्थागत गर्दै लैजाने र आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने रहेको पनि उनले सुनाए। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता र त्यसपछिका घट्नाक्रमले संगठनमा केही असर परेपनि विस्तारै माहोल परिवर्तन हुँदै गएको र शुभेच्छुकहरुको सद्भाव बढ्दै गएको उनले बताए।

‘हाम्रो पार्टी स्थापनाका क्रममा जुन किसिमको भरोसा थियो त्यो रास्वपासँगको एकताका क्रममा केही तलमाथि भएको हो तर अब हामी नयाँ मोडालिटी अनुसार अघि बढिसकेका छौं। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेद्वार टुंगाएर निर्वाचन परिचालन समिति नै बनाएर अघि बढेका छौं,’ उनले अगाडि भने,‘हामी रणनीति बनाएरै अगाडि बढेका छौं। गफ होइन अब काम गर्नुपर्छ भन्ने रणनीति अपनाएका छौं।’

उज्यालो नेपाल पार्टीसँग आशालाग्दो नेतृत्व, बलियो टिम र प्रष्ट भिजन भएकाले अझै धेरै काम गरेर देखाउन सकिने उनले बताए। ‘पार्टी नेतृत्वले गरेको कामका बारेमा आम नेपाली जानकार नै छन्। गफ होइन, काम गर्ने मान्छेलाई मत दिनुपर्छ भन्ने किसिमको जनलहर देखिएको छ,’ प्रवक्ता डा.थापाले प्रष्ट पारे।

थोरै चुक्नुपर्‍याे

प्रवक्ता थापाले रास्वपासँग सहकार्यका क्रममा टेक्निकली केही गल्ती भएको स्वीकार्दै भने,‘एकताका क्रममा केही समस्या आयो। जसका कारण एउटै चुनाव चिन्हबाट अघि बढ्न सकेनौं। प्रत्यक्ष र समानुपातिकमा एउटै चुनाव चिन्ह पार्न सकेनौं । समानुपातिकको हकमा ‘बाँसुरी’ र प्रत्यक्षमा ‘बलिरहेको चिम’ चुनाव चिन्ह लिएर जानुपर्ने अवस्था आयो। यसमा हामी केही चुक्यौं। तर पनि उर्जा, भरोसा र आशा जीवित नै छ। त्यो कालखण्ड वाध्यता थियो र सोही अनुसार अघि बढ्नुपर्‍याे।’

जेनजी पुस्ता र आन्दोलनमा सहभागी युवाहरुको सहभागितामा बनेको ‘राष्ट्रिय परिवर्तन पार्टी’ सँग एकता गरेको र सोही पार्टीको चुनाव चिन्ह लिएर समानुपातिकमा जानुपरेको उनले सुनाए ।

‘दुई पार्टीको एकतापछि समानुपातिकमा ‘बाँसुरी’ र प्रत्यक्षमा ‘बलिरहेको चिम’ चुनाव चिन्ह लिएर अघि बढेका छौं। यसले कता कता कन्फ्युजन मतदातामा पर्न सक्छ । त्यसलाई हामीले चिर्नु पर्नेछ,’ उनले भने।

सुरक्षामा समस्या नहोस्

आसन्न निर्वाचनमा सुरक्षाको थ्रेट हालसम्म नदेखिएपनि संवेदनशील भएर काम गरिरहेको पनि डा.थापाले बताए। ‘सुरक्षा थ्रेटहरू अहिलेसम्म हामीले महसुस गरेका छैनौं। आउँदा दिनमा त्यस्तो कुनै समस्या भयो भने केन्द्रीय निर्वाचन परिचालन समितिले विशेष भूमिका निर्वाह गर्नेछ। रणनीतिहरू निर्धारण गरेर उम्मेदवारहरूलाई सुरक्षा दिनको लागि पार्टीले कुनै पनि कसर बाँकी राख्नेछैन ,’ उनले भने।

उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ १२१ जना को उम्मेदवारी दर्ता गराएको र समानुपातिकतर्फ ४९ जनाको उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।

‘रुपान्तरण संभव छ’

आर्थिक रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्नसक्ने र प्रष्ट चेत भएको नेतृत्व उज्यालो पार्टीसँग रहेको दाबी गर्दै डा.थापाले नेपालका लागि कुलमान घिसिङ अब्बल व्यक्ति रहेको उनले दाबी गरे।

‘कुलमान घिसिङले नेपालमा लोडसेडिङ मुक्त गराएको कुरा जगजाहेर छ । स्वदेश तथा विदेशका नेपालीहरुले उहाँको नेतृत्वमा भएको परिवर्तन प्रष्ट देखेका छन् । जतिखेर नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो, त्यतिखेर प्रख्यात विज्ञहरूसँग कुरा गर्दा लोडसेडिङ अन्त्य गर्न १० वर्ष लाग्छ भन्नुहुन्थ्यो । तर उहाँ (कुलमान घिसिङ) आउने बित्तिकै चामत्कारिक ढंगले लोडसेडिङको अन्त्य गरिदिनुभयो।

भनेपछि गर्न खोज्यो भने त सम्भव रहेछ नि। यस्तो परिवर्तनलाई आर्थिक रूपान्तरणसँग जोड्न सकिन्छ । हामीसँग अथाह सम्भावना छन्। समृद्धि सम्भव छ । समृद्धि आउनेवित्तिकै सुशासन र सामाजिक न्यायका कुराहरू पनि अटोमेटिकली आइहाल्छन । त्यसले पटक पटक हुने गरेका क्रान्ति र आन्दोलनहरुको अन्त्य हुनसक्छ । परम्परागत राजनीतिक दलहरूले त्यो गरिरहेका छैनन् र त्यो ग्याप कुलमान घिसिङज्यूको नेतृत्वले सम्बोधन गर्न सक्छ, डेलिभरी दिन सक्छ’ उनले प्रष्ट पारे ।

उज्यालो नेपाल पार्टीमा ४० प्रतिशत युवा

उज्यालो नेपाल पार्टीले हाल आफ्नो संगठन संरचनाभित्र झन्डै ४० प्रतिशत युवालाई अवसर प्रदान गरेको प्रवक्ता डा.थापाले जानकारी दिए । ‘हाम्रो पार्टी युवाहरुको आन्दोलनबाटै जन्मिएको हो, मुलुक परिवर्तनकै लागि स्थापना गरेका हौं। झन्डै ४० प्रतिशत युवाहरु समावेश गराएका छौं । विशेष गरेर जेनजी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवयुवाहरु उल्लेख्य संख्यामा हुनुहुन्छ । युवा सहभागिता न्यून छ भन्ने आरोपबाट हामी मुक्त छौं,’ उनले भने ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमै ४० वर्ष मुनीका झन्डै ४० प्रतिशत युवाहरु रहेको बताउंदै उनले प्रत्यक्ष र समानुपातिकमा युवाहरु सहभागितामा कमी नगरेको उनले बताए ।

उज्यालो नेपाल पार्टी जेनजी आन्दोलन पछाडि आन्दोलनको मर्मलाई ख्याल गरेर स्थापना भएको पार्टी भएकाले जेनजी घाइतेको नेतृत्वमै बनेको पार्टीलाई पनि आवद्ध गराएको उनले बताए ।

‘एजेन्डामा प्रष्ट छौं’

प्रवक्ता डा.थापाले पार्टीले स्पष्ट एजेन्डासहित अघि बढेको बताउँदै मुलुकमा अब थप कुनै किसिमको आन्दोलन वा क्रान्ति गर्नु नपर्ने गरी एजेन्डाहरु तय गरेको बताए।
‘एजेन्डाहरूको कुरा गर्दा विगतमा धेरै क्रान्तिहरू भए । हरेक १०–१५ वर्षको बीचमा क्रान्ति भइरहेको छ। आन्दोलनहरू भइरहेका छन्।

ती आन्दोलन किन संस्थागत हुन सकेनन् भने उपलब्धिहरूलाई आर्थिक रूपान्तरणसँग जोड्न सकेनौं । आर्थिक रूपान्तरण नभएको कारणले गर्दा मान्छेमा वितृष्णा जाग्यो र फेरि आन्दोलनको सिलसिला चलिरह्यो।

त्यसकारण अब गफ मात्र नभइ काम गर्नुपर्छ भन्ने हिसाबले रणनीति बनाएका छौं। निर्वाचन आयोगमा दर्ता भएको अवधारणापत्रमा स्पष्ट लेखेका छौं, चुनावी घोषणापत्र पनि लगभग तयार भइसकेको छ। चुनावी घोषणापत्रमा पाँच वर्ष, १० वर्ष, १५ वर्षमा के गर्ने भन्ने कुराहरूलाई प्राथमिकीकरण गरेका छौं,’ उनले भने ।

काम गर्दा परिणाम आउँछ र मार्गदर्शनअनुसार अगाडि बढ्दा आर्थिक रूपान्तरण सम्भव हुने प्रवक्ता डा.थापा विश्वस्त छन् । ‘आर्थिक रूपान्तरणभन्दा पहिला सुशासनको कुरा आउँछ र सुशासन प्रदान गर्न सकियो भने आर्थिक रूपान्तरण, समृद्धि, सामाजिक न्याय पनि दिन सकिन्छ । सोही अनुसार एजेन्डाहरू तयार गरेर अगाडि बढेका छौं। र केही दिनमा चुनावी घोषणापत्र पनि सार्वजनिक हुन्छ,’ उनले जानकारी दिंदै भने ।

‘क्षेत्र अनुसार रणनीति’

उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा क्षेत्र अनुसार चुनावी रणनीतिहरु अगाडि बढाएको उनले जानकारी दिए। हालसम्म कुनै दलसँग चुनावी तालमेल गर्ने रणनीति नभएपनि चुनावका क्रममा कहीं कतै तालमेलको वातावरण बन्नसक्ने उनको भनाइ छ।

‘तालमेलको अहिलेसम्म कुनै ठोस प्रस्तावहरू आएको छैन। कतिपय ठाउँहरू एकदम रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने हुनसक्छ। त्यसको लागि हामी खुला छौं। मन मिल्ने, विचार मिल्ने र एजेन्डा मिल्नेसँग तालमेल हुनसक्छ। हामी सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा रहेकाले सो अनुसार अघि बढ्नेछौं। अग्रगामी र परिवर्तनकारी शक्तिहरूसँग हाम्रो तालमेल हुनसक्छ,’ उनले प्रष्टाए ।

आफ्नो पार्टीको प्रतिस्पर्धीका रुपमा पुराना र नयाँ पार्टी नै रहेको उनले औल्याए । आफूहरु जहाँ समस्या आउँछ, त्यहाँ समाधान खोजेर अगाडि बढिरहेकाले सफल हुने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.