निबन्ध : हिउँदको कठोर बिहान
हिउँदको कठोर बिहान मौसमको अनुभूति होइन, जीवनकै एउटा परीक्षा जस्तो लाग्छ। रातभरिको शीतलहर, हुरीबतासले थाकेको बिहान उज्यालोसँगै अझ कक्रिन्छ। मानौँ निद्राले होइन, पीडाले आँखा खोलेको हो। यस्तो अवस्थामा सोचका फूलहरू कहाँ फक्रिन सक्थे र ?
सौन्दर्य त परै जाओस्- मन र शरीर दुवै न्यानोपनको याचनामा लिप्त हुन्छन्। तातो चियाको एक घुट्को, आगोको छेउमा केहीबेरको विश्राम ! यिनै हुन् त्यस क्षणका समस्त चाहना। जीवन दर्शन, सौन्दर्यबोध, भावनात्मक तरङ्ग यी सबै चिसोले जमेर निष्क्रिय बनेका जस्ता हुन्छन्।
आँखा खोलेर हेर्दा देखिने सुन्दर प्रकृति र बाटाघाटा, घरहरू सबै हुस्सुको खास्टोमा गुटुमुटु परे जस्तै लाग्थे। केही नदेखिने, केही नभेटिने समयको घडी नै रोकिएर निदाइरहेको हो कि ? वा अथवा जाडोले हुस्सुभित्र पसेर न्यानोपनमा हराइरहेको हो !
शीतलहरले बरफ बन्दै गएको प्रकृति आफैंमा एउटा मौन पीडाको चित्र थियो। रुखका पातहरू हावासँग काँप्दै आफ्नै अस्तित्व जोगाइरहे जस्तो लाग्थ्यो। कलिलो घाम छिप्पिएर आकाशमै उमेर घटाइरहेको थियो। त्यो पारिलो घाम कतै टाढै डराएर बसेको अनुभूति हुन्थ्यो।
चिसोको साम्राज्यमा उसको प्रवेश निषेध गरिएको हो। सिरसिरे बतासले छातीभित्रसम्म छिर्रिँदै मुटुलाई कम्पायमान बनाउँथ्यो। सास फेर्दा पनि हावाले चिसो सुइँरो घोचेको जस्तो लाग्थ्यो। हुस्सुले सबै दृश्यहरू ढाकिदिँदा प्रकृति आफैँ लुक्न खोजिरहेझैँ प्रतीत हुन्थ्यो। जस्तो दुःखले आफूलाई ओझेल पारेर सहन खोज्छ।
तर यही कठोरताभित्र पनि एउटा गहिरो अनुभूति लुकेको रहेछ। जब शरीर थाक्छ, तब मन बोल्न थाल्दोरहेछ। जब बाहिरी सौन्दर्य हराउँछ, तब भित्री संवेदनशीलता झन् तेज हुँदोरहेछ।
चिसोले कठ्याङ्ग्रिएको त्यो बिहानले मलाई जीवनको यथार्थ सम्झायो- जहाँ सधैँ सहजता हुँदैन, सधैँ न्यानोपन पाइँदैन। कतिपय पलहरू सहनु पर्छ, भोग्नुपर्छ। त्यसले जीवनलाई सत्यतिर उन्मुख गराउँछ। त्यसले जीवनतिर फर्काउँछ। त्यसले प्रकृतितिर लैजान्छ।
हुस्सुले ढाकिएको प्रकृतिजस्तै कहिलेकाहीँ हाम्रो मन पनि अस्पष्ट हुन्छ। लक्ष्यहरू देखिँदैनन्, बाटोहरू हराउँछन्। तर त्यस हुस्सुभित्रै कतै उज्यालो लुकेको हुन्छ भन्ने विश्वास नै जीवनको बल हो।
पारिलो घाम टाढा भए पनि अस्तित्वमा छ भन्ने थाहा हुनु नै आशा हो। शीतलहरले जति नै कठोर बने पनि, अन्ततः वसन्त आउँछ भन्ने सत्यले हिम्मत दिन्छ। यतिसम्म मीठो आशाको शिहानी नै साँचो अर्थमा जीवन्त जीवन बाँच्ने अध्याय पनि हो।
त्यो बिहान मलाई आराम मात्र चाहिएको थिएन- मलाई जीवनको अर्थ बुझ्ने एक क्षण चाहिएको रहेछ। न्यानोको खोजी शरीरको होइन, मनको पनि थियो। न्यानो आगो वा ओड्ने र तातो भोजनजस्तै मनलाई पनि सान्त्वना चाहिएको रहेछ। र, त्यही चिसो अनुभवले सुखको मूल्य दुःखले नै चिनाउँदै न्यानोपनको अर्थ चिसोले नै बुझाइदिइरहेको थियो।
हिउँदको त्यो कठोर बिहान अब स्मृति होइन, एउटा पाठ बनेर मनमा बसेको छ। जहाँ सौन्दर्य आँखाले देखिँदैन, अनुभूतिले महसुस गरिन्छ। जहाँ आरामको अभावले जीवनको गहिराइ सिकाउँछ। जहाँ चिसोले कठ्याङ्ग्रिएको प्रकृतिभित्र पनि आशाको एउटा सानो ताप लुकेको हुन्छ- जो कहिल्यै निभ्दैन।
हिउँदको चिसो शरीरलाई मात्र होइन, धरतीकै छालालाई पनि चिरिँदै गएको देख्दा मन झसङ्ग हुन्छ। बोटबिरुवाका हाँगाहरू चिसोले निस्तेज देखिन्थे, चराचुरुङ्गीहरूका चुरीफुरी कतै गुँडमा गुडुल्किएर बसेको थियो।
हावाको वेगबतासले सात्तो खान खोज्थ्यो। मौन थिए, पशुहरू गोठको न्यानो कुनाको खोजीमा सिमेटिएका थिए। तर सबैभन्दा मार्मिक दृश्य त जमिन नै थियो– चिसोले धाँजा फाटेर छिया-छिया भएको। धरती आफैँ पीडाले चर्किएर सास फेर्न खोजिरहेकी हो। त्यो फाटेको जमिनमा मैले माटोको चिरा होइन, मानव सभ्यताको चिरिएको संवेदनशीलता पनि देखेँ।
हुन त प्रकृतिको आफ्नै नियम छ- चिसोमा चिसो हुनु, तातोमा तातो हुनु। यही सन्तुलनले नै जीवनको चक्रलाई निरन्तरता दिएको हो। हिउँदमा हिउँ पर्नु, वर्षातमा पानी पर्नु, ऋतुहरू आफ्नो तालमा हिँड्नु। यी सबै प्रकृतिका मौन तर सुन्दर अनुशासन हुन्। तर पछिल्ला वर्षहरूमा ती अनुशासनहरू भङ्ग हुँदै गएको अनुभूति हुन्छ।
हिउँद आउँछ तर हिमपात हुँदैन। वर्षा लाग्छ तर खोला सुक्खा हुन्छ। आकाश रित्तै रहन्छ। बादल मडारिदैन। मेघगर्जनको डरलाग्दो वातावरण हुँदैन। अनि बेला न कुबेलामा खोलाहरू उर्लिएर बाढी बन्छन्, घरखेत बगाउँछन्, मानिसका सपना र पसिनाका फल एकैछिनमा माटोमा मिसाइदिन्छन्।
प्रकृतिको विनाश लीला अत्यन्त छिटो घटित हुन्छ- क्षणभरमै सहर डुब्छ, गाउँ बगर बन्छ, जीवन मृत्युमा परिणत हुन्छ। त्यो विनाशलाई न कसैले रोक्न सक्छ, न छेक्न। मानिसका बाँध, योजना र प्रविधि सबै प्रकृतिको एक झट्कामा निरीह साबित हुन्छन्। त्यतिबेला लाग्छ- हामी प्रकृतिका मालिक होइनौँ, उसका साना अतिथि हौँ। जब ऊ मुस्कुराउँछ, जीवन हरियालीले भरिन्छ; जब ऊ रिसाउँछ, सभ्यता नै थर्थर काँप्छ।
यति हुँदाहुँदै पनि जीवन आफ्नो लयमा अघि बढिरहेकै हुन्छ। मौसम चिसै छ- मानिस गोजीमा हात घुसारेर बाहिर निस्किन्छन्, काँप्दै कामतिर लाग्छन्। केही छिनपछि जाडोको असह्यताले फेरि घरभित्र फर्किन्छन्।
न्यानो कोठामा बसेर चिसोलाई गाली गर्छन्। तर फेरि आवश्यकताले बाहिर धकेल्छ। यही हो मानवीय जीवन प्रकृतिसँगको निरन्तर संघर्ष र सम्झौतामा मन र मुटु मिचेर बाहिर मुस्कान पस्निक उद्दत।
चिसोले फाटेको जमिनजस्तै हाम्रो जीवन पनि कहिलेकाहीँ परिस्थितिले चर्किन्छ। दुःख, अभाव र अनिश्चितताले हामीलाई पनि छिया-छिया बनाउँछ। तर प्रकृतिले जसरी हरेक वसन्तमा ती चिराहरूमा नयाँ पालुवा उमार्छ, त्यसैगरी मानिसले पनि पीडामाथि आशाका बीउ रोपिरहन्छ। विनाशपछि निर्माण, अन्धकारपछि उज्यालो यही नै जीवनको शाश्वत सत्य हो।
हिउँदको चिसो ऋतु होइन, एउटा चेतावनी पनि हो। सन्तुलन बिग्रिँदा प्रकृति मौन बस्दिन। उसले सम्झाउँछ, कहिले हराभरा उर्वर पार्दै, कहिले बगाएर सखाप बनाउँदै। तर, मानिस, त्यो चेतावनी बुझ्दै नबुझ्दै, फेरि गोजीमा हात घुसारेर बाहिर निस्किन्छ- जीवन बाँच्नकै लागि।
यसरी चिसो, विनाश र संघर्षबीच पनि यात्रा जारी छ। शायद यही निरन्तरता नै जीवनको सौन्दर्य हो- जहाँ पीडामै अनुभूति जन्मिन्छ र अनुभूतिमै दर्शन पलाउँछ।
















Facebook Comment