गुल्मीमा विवेकको परीक्षा

बिक्रम ज्ञवाली
१६ माघ २०८२ ११:५०
68
Shares

गुल्मी जिल्लाका ग्रामीण पहाडमा जन्मिएका सागर ढकालको यात्रा नेपालको युवा पुस्ताको आकांक्षाको सशक्त प्रतिबिम्ब हो। सागर ढकाल जलबिधुत इन्जिनियर, तथा युवा अभियन्ताका रूपमा समकालीन नेपाली राजनीतिक परिदृश्यमा प्रभावशाली आवाजका रूपमा उदाएका छन्।

केही वर्ष आगाडि बीबीसी नेपाली सेवाको साझा सवालमा प्रधानमन्त्री लाई सोधिएको धारिलो प्रश्नले उनले वाहवाही कमाएका थिए, जहाँ उनले पढेका योग्य नेता हाम्रो देशले कहिले पाउने भनेर प्रश्न गर्दा ओठे जबाफ पाएका थिए।

त्यसपछि उनी देशमा व्याप्त भ्रष्टाचार, सुशासनको अभाव र अब पुरानो पुस्तालाई विश्राम दिई नयाँ पुस्ताले देशको बागडोर सम्हाल्नुपर्ने आवश्यकताबारे निरन्तर वकालत गर्न थाले। उनले हरेक विषयलाई तथ्यांक र प्रमाणका आधारमा विश्लेषण गर्दै समस्याहरूको समाधानका उपायहरू प्रस्तुत गर्थे।

अब युवा पुस्ताले राजनीतिक हस्तक्षेप नगरी देशको विकास सम्भव छैन भन्ने उनको धारणा अत्यन्तै आवश्यक र समयसापेक्ष थियो। यही कारण उनका अभियानप्रति युवा पुस्ताको व्यापक साथ र समर्थन प्राप्त हुँदै गयो।

त्यसकै निरन्तरताको लागी उनले ठूलो साहास गरेर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारका रूपमा नेपालको प्रमुख राजनीतिक दलका सभापति मात्रै नभएर झन्डैआधा दर्जन पटक प्रधानमन्त्री भएका शेरबहादुर देउबालाई चुनौती दिएपछि राष्ट्रिय स्तरमा व्यापक चर्चा पाए।

यो क्षेत्र लामो समयदेखि शेरबहादुर देउबाको पकडमा रहेको थियो। सीमित संगठनात्मक स्रोत हुँदाहुँदै पनि उनले जनस्तरमा प्रत्यक्ष भेटघाट र सामाजिक सञ्जालमार्फत युवालाई जोड्दै भ्रष्टाचारविरोध, सुशासन र युवा सशक्तीकरणलाई मुख्य मुद्दा बनाए। निर्वाचनमा सागर ढकालले १३,०४२ मत (२७.१६ प्रतिशत) प्राप्त गरे।

यद्यपि उनी पराजित भए, उनले डडेलधुरामा दशकौँदेखि जरा गाडेको राजनीतिक आधारलाई हल्लाउन सफल भए, जसको पराकम्पन देश भरी नै गयो। अझ महत्वपूर्ण कुरा, उनको अभियानले राजनीतिबाट टाढा रहेका हजारौँ युवालाई सक्रिय बनायो। धेरैले यसलाई संख्यात्मक हार भए पनि नैतिक जितका रूपमा व्याख्या गरे।

सागर ढकालले निरन्तर रूपमा राजनीति पेशा होइन, सामाजिक सेवा हुनुपर्छ भन्ने धारणा राख्दै आएका छन्। उनका अनुसार राजनीतिक नेताहरूको आफ्नै पेशा वा आयस्रोत हुनुपर्छ र राजनीति धन कमाउने माध्यम बन्नु हुँदैन।

उनले राजनीति आंशिक समयको सार्वजनिक सेवा हुनुपर्छ भन्ने विचार अघि सारेका छन्। यो दर्शनले लामो समयदेखि राजनीति पेशा बनाउँदै आएका नेताहरूबाट निराश युवामा गहिरो प्रभाव पारेको छ।

गुल्मी जिल्लाका ग्रामीण साधारण पारिवारिक पृष्ठभूमिबाट उठेर उनले पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान बाट मेकानिकल इन्जिनियरिङ (जलबिद्युत) अध्ययन पूरा गरे। यसपछि उनले प्रतिष्ठित छात्रवृत्तिमार्फत अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाए।

त्यहाँ उनले Water Science, Policy and Management विषयमा स्नातकोत्तर (MSc) अध्ययन गर्दै Weidenfeld-Hoffmann Scholar का रूपमा जल–ऊर्जा–जलवायु अन्तरसम्बन्ध मा केन्द्रित अनुसन्धान गरे। सागर ढकालको व्यावसायिक अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा फैलिएको छ।

उनले एशिया, अफ्रिका, युरोप र मध्यपूर्वका सीमान्तकृत समुदायका लागि अन्तरविषयगत समाधानहरूमा नेतृत्व गरे। साथै उनले अक्सफोर्ड विश्वविद्यालयमै जल–ऊर्जा–जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय महत्त्वका अनुसन्धानहरू पनि गरे।

सागर ढकालको दीर्घकालीन राजनीतिक दृष्टिकोण “Mission 82” तयार गरेका छन्, जहाँ उनले अबको २५ बर्ष मा नेपाललाई समृद्ध, समावेशी र दिगो राष्ट्र कसरी बनाउने भनेर योजना हरु अगाडी सारेका छ्न्। उनको दृष्टिकोणका मुख्य आधारहरू आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय दिगोपन हुन्।

उनका नीति प्राथमिकतामा आर्थिक स्थायित्व, राष्ट्रिय सुरक्षा, सामाजिक न्याय, सुशासन, नवप्रवर्तन तथा प्रविधि, र सामुदायिक विकास पर्दछन्। य़सरि हेर्दा सागर ढकालको प्राविधिक पृष्ठभूमि, सुझबुझ राजनितिक चेत र उनको शैक्षिक योग्यता उनलाई परम्परागत राजनीतिज्ञभन्दा फरक बनाउँछ। उनको शैक्षिक योग्यता, प्रखर बाकशैली र अन्तर्राष्ट्रिय अनुभवले तथ्य र प्रमाणमा आधारित समाधान खोज्ने नेतृत्वको छवि निर्माण गरेको छ।

२०७९ को निर्वाचनपछि सागर ढकालले २०८४ साल (२०२८ AD) मा पुनः डडेलधुराबाट शेरबहादुर देउबालाई चुनौती दिने घोषणा गरेका थिए। तर जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्य अचानक बदलियो।

पार्टीभित्रै युवा नेतृत्वको दबाब बढेपछि देउबाले निर्वाचनको टिकट प्राप्त गर्न सकेनन् र सक्रिय राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिए। यससँगै सागर ढकालले देउबाविरुद्ध पुनः उम्मेदवारी दिने योजना फिर्ता लिए।

उनका अनुसार उनको मुख्य उद्देश्य-वृद्ध राजनीतिक नेतृत्वलाई सम्मानजनक रूपमा बिदाइ गरी युवाका लागि स्थान खोल्नु-पहिले नै पूरा भइसकेको थियो। यसपछि सागर ढकालले युवा पुस्ताको नेतृत्वमा रहेको राजनीतिक दलमा आबद्ध भएर आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गर्दैछन्।

आगामी फ़ाल्गुन २१ मा हुने निर्वाचनका लागि उनले आफ्नै जन्मभूमि गुल्मी क्षेत्र नं. १ बाट चुनाबी मैदानमा भिड्दै छन्। यसलाई आफ्नै जरा र समुदायप्रति प्रतिबद्धताको प्रतीकात्मक पुनरागमनका रूपमा हेरिएको छ।

गुल्मीमा उनी अब आफ़्नो दोब्बर उमेरका करिब ६० वर्ष नाघेका राष्ट्रिय स्तरका लोकप्रिय नेतासँग प्रतिस्पर्धा गर्दैछन्। सरसरति हेर्दा यो प्रतिस्पर्धा नेपालमा पुरानो पुस्ताको प्रभुत्वबाट युवा नेतृत्वतर्फको संक्रमणको प्रतिनिधित्व हो।

आज गुल्मेली जनताको काँधमा ठूलो चुनौती थपिएको छ। २०-२५ वर्षदेखि उही मैदानमा भीडिरहेका, उही पुराना थाकेका र गलिसकेका पुरानै तौरतरिका भएका अनुहारहरूलाई रोज्ने कि जोश, जाँगर, ज्ञान र तथ्यमा आधारित कुरा गर्ने नयाँ नेतृत्वलाई अवसर दिने भन्ने निर्णय आज गुल्मीेली जनताकै हातमा छ।

बुझ्नु पर्ने अर्को कुरा के छ भने यो निर्बाचन अरु जस्तो सामन्य निर्बाचन होईन यो त काहाली लाग्दो जेन्जी आन्दोलन को मर्म र निरन्तरता पनि हो। अत्: विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालयमध्ये एक मानिने अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेको सक्षम र दृष्टिकोण भएको व्यक्ति सागर ढकालजस्ता युवालाई चिन्न र अवसर दिनु आजको आवश्यकता हुनसक्छ।

भोलि आफ्नै छोरा-छोरीहरूले “सागर ढकालजस्तो योग्य मान्छेलाई किन भोट दिएनौं? किन चिनेनौं?” भनेर प्रश्न नगरून्। त्यसैले पछि पश्चात्ताप गर्नु भन्दा आजै सही निर्णय गर्ने बेला गुल्मीेली जनताको हो। यो केवल चुनाव होइन, गुल्मीको भविष्य रोज्ने घडी हो।

उनी गुल्मीबाट सांसद निर्वाचित भई गुल्मीको प्रतिनिधित्व गर्नु भनेको जनजी आन्दोलनको विजय हो। उनले सांसदका रूपमा आफ्नो ज्ञान, योग्यता तथा प्राविधिक दक्षताको पूर्ण सदुपयोग गर्नेछन्।

सागरजस्ता व्यक्तित्वको संसदमा उपस्थिति हुनु देशकै लागि गर्वको विषय हो, यस ऐतिहासिक यात्रामा गुल्मीले आफ्नो तर्फबाट एक इँटा अवश्य थप्नेछ। तर लोकतन्त्रको सुन्दरता केवल मत दिनुमा मात्र सीमित हुँदैन।

मत नदिए पनि उनिसँग संवाद गर्ने, बुझ्ने र प्रेरणा लिने संस्कार विकास गर्नु पनि उत्तिकै आवश्यक छ। गुल्मेली आमजनता त्यस्मा पानी युवा पुस्ता उनीसँग बसेर भलाकुसारी गर्दै, एक सामान्य परिवारमा हुर्किएको व्यक्ति कसरी अक्सफोर्ड विश्वविद्यालयसम्मको यात्रा तय गर्न सफल भयो?

त्यो आत्मविश्वास, साहस र हिम्मत कसरी जुटायो? भनेर सोध्नु अझ उपयुक्त र सार्थक हुनेछ। सागर ढकाल लाई अपमान र गालीगलौज गर्नु भन्दा यस्ता प्रश्न र संवादले आजको युवा पुस्तालाई ठूलो प्रेरणा दिन सक्छ। किनकि यस्ता कथाहरू संघर्ष, मेहनत र सम्भावनाको जीवन्त उदाहरण हुन्।

आशा छ, गुल्मीेली जनताले यो हिरालाई गुमाउने छैनन्। अत्यन्तै शिक्षित र सचेत मानिने गुल्मेली जनताले विवेक प्रयोग गरी उत्तमभन्दा पनि अति उत्तम व्यक्तिको छनोट गर्नेछन्। चुनाव नै सबैथोक होइन। चुनाव जित वा हारभन्दा पनि गुल्मीमा सुरु भएको यो बहस र संवाद नै लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेत हो।

सागर ढकालको उदयले नयाँ पुस्ताको सहभागिता बढाएको छ, र यही सहभागिताले भविष्यको गुल्मीको राजनीतिक दिशालाई परिभाषित गर्नेछ। यद्यपि, लोकतन्त्रमा अन्तिम निर्णय सधैं मतदाताको विवेकमा निर्भर हुन्छ।

अनुभवी नेतृत्व र नयाँ पुस्ताको दृष्टिकोणबीच तुलना गर्नु गुल्मेली जनताकै अधिकार हो। कसैलाई पुरानै अनुहार र अनुभव महत्त्वपूर्ण लाग्न सक्छ, कसैलाई नयाँ सोच र ऊर्जा। यही बहस र बहुविकल्प नै लोकतन्त्रको सुन्दरता हो।

शोधकर्ता : हाल चिनियाँ विज्ञान प्रतिष्ठान विश्वविद्यालय (चीन)

याे लेखककाे निजी बिचार हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.